मिलन दाहाल । अष्ट्रेलियाले बच्चा जन्मदा पाईने तलब सहितको बिदालाई बढाएर ६ महिना बनाउने भएको छ ।एन्थोनि अलबानिज प्रधानमन्त्री रहेको लेबर दलको सरकारले यस्तो घोषणा गरेको हो । हाल बच्चा जन्माउने दम्पतीले १८ हप्ता प्रारेन्टल लिभ र दुइ हप्ता सेकेन्डरी केयरर लिभ गरि जम्मा २० हप्तासम्मको तलबसहितको बिदा पाउने प्रावधान रहेकोमा सन २०२६ सम्ममा यो अवधीमा ६ हप्ता थप गर्दै जम्मा प्यारेन्टल लिभको अवधीलाई ६ महिनाको बनाउने लेबर सरकारले घोषणा गरेको हो । यसरी दिइने तलब सरकारले अष्ट्रेलियाना नागरिक तथा पीआर पाएको दुई बर्ष भइसकेका स्थायी बासिन्दाले पाउने गर्छन ।
सरकारले सन २०२४ को आर्थिक बर्षदेखी हरेक बर्ष २ हप्ता बिदा थप गर्दै जाने लक्ष लिएको छ । उक्त योजना अनुसार सन २०२४ को जुलाई १ पछी बच्चा पाउने दम्पतीले २२ हप्ता, सन २०२५ को जुलाई १ पछी बच्चा पाउने दम्पतीले २४ हप्ता र सन २०२६ को जुलाई १ पछी बच्चा पाउने दम्पतीले २६ हप्ता अर्थात करिव छ महिनाको पेड प्यारेन्टल लिभ पाउनेछन ।
प्रधानमन्त्री एन्थोनि अ्लबानिजले परिवारमा गरिने यो लगानीले लामो समयसम्म रहने खाले आर्थिक लाभ दिने बताएका छन । “यो अधुनिक परिबारलाई सहायता गरिने आधुनिक निती हो । यो उत्पादकत्व र साझेदारीकालाई राम्रो कुरा हो, परिवारका लागी अनि समग्र देशकै लागी राम्रो कुरा हो ।” प्रधानमन्त्री अल्बानिजले भने ।
यसरी २६ हप्तासम्मको बिदा बाबुआमाले साझेदारी गरि लिन सक्ने छन । एकल अभिभावकका हकमा एकल अभिभाबकले नै सम्पुर्ण बिदा लिन सक्नेछन । यसबारेको बिस्तृत जानकारी अक्टोबर २५मा घोषणा हुने केन्द्रीय सरकारको बजेट घोषणामा गराइने बताइएको छ ।