ताजा खवरहरु:

अस्ट्रेलियामा नेपाली ठग्ने नामुद् नेपाली ठग

एम्बिसन कन्सल्टिङको ठगी धन्दा

मिलन दाहाल

४ जनवरी २०२५, एडिलेड- अस्ट्रेलियामा आइसकेपछी ‘स्थाइ वसोवास अनुमति’ (पीआर) को महत्व अस्ट्रेलियामा आउनै सबैलाई थाहा छ । राम्रोसँग सुझवुझ गरि अध्यायनमा आउने विद्यार्थीहरुका लागी बाटो केही निश्चित हुन्छ, खर्चिलो भएपनि । तर राम्रोसँग जानकारी नलिइकन कन्सल्टेन्सीको ‘ललिपप’ को आधारमा सपना देखी अस्ट्रेलिया आउने विद्यार्थीहरुका लगी भने कठिन समय अस्ट्रेलिया अवतरण भएदेखी नै हुन थाल्दछ । त्यमाथी त्यस्तै विद्यार्थीहरुलाई फसाउन बल्छी लिएर बसेका नेपाली ठग हरुको एक किसिमको विगविगी नै छ अस्ट्रेलियामा ।

सुखद भविष्यको सपना देखी त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा हरियो पासपोर्ट बोकेर हवाइजहाजको प्रतिक्षा गर्ने बाटो चुन्छन रमेश (नाम परिवर्तन) र उनकि श्रीमति । शुरुमा नेपालको भन्दा निकै फरक, सफा वातावरणले मख्ख परेका उनीहरुको पीडा उही, अन्य अस्ट्रेलिया आउने नेपाली विद्यार्थीहरुकै जस्तै । हरेक छ-छ महिनामा विश्वविद्यालयलाई कमाएजति सबै र अपुग भएर ऋण समेत गरेर बुझाउनुपर्ने । अधिकांश नेपाली विद्यार्थीहरु जस्तै उनीहरुको अभिभावकको पनि उनीहरुलाई सहायता गर्न सक्ने अवस्था थिएन । त्यमाथी शुरुमै ऋण खोजेर आएका थिए, त्यसको साँवा तिर्नको त कुरा छोडौं व्याजमा समेत नेपालमा साहुहरुले ताकेता गर्न थालेपछी आतुर भएर श्रीमति अनु (नाम परिवर्तन) ले सामाजिक सञ्जालहरुमा स्थायी बासिन्दा बन्ने बाटाहरु खोज्न थाल्छिन ।

यत्तिकैमा उनी निक्कै आकर्षक रिभ्युहरु लेखिएको तथा उनीहरु मार्फत ‘पीआर’ समेत पाएको बताउने भिडियो सामाग्रीहरु हेर्न थाल्छिन । ‘पीआर’ लागी ‘स्पोन्सर गर्ने इम्प्लोयर’ पनी खोजीदिने, इम्प्लोयरले पे पनि गर्ने र निश्चित समय पछी ‘पीआर’ पनि पाईने । यति मिठो सपनामा को मंहङ्गो शुल्क तिरेर अस्ट्रेलियामा पढिरहेको नेपाली विद्यार्थी लोभिन्न र ? म भएको भए पनि लोभिन्थे होला, तपाई पनि लोभिनु हुन्थ्यो भने, अनु र रमेश कुन अर्कै ग्रहका प्राणी भए र?

अनु र रमेशले १० हजार डलर तिेरेको रसिद

त्यसपछी उनीहरु ‘माई एम्बिसन कन्सल्टिङ’ नामको एक संस्थाको सम्पर्कमा पुग्छन । शुरुको कनसल्टेशन फि भने सय डलर कम्पनीले उनीहरुलाई तिराउछ । माइग्रेसन एजेन्ट भन्दै आफुलाई चिनाएका ‘अभिनय भण्डारी’ सगँ कुरा गर्छन । अभिनय र कुराकानीमा निक्कै सिपालु अभिनयले पनि निक्कै मिठा कुराहरु गर्छन । अनु र रमेश केही समयपछी ‘पीआर’ पाईने आशामा अस्ट्रेलियन डलर १० हजार उनलाई तिर्न तयार हुन्छन ।

अस्ट्रेलियामा दर्ता रहेको प्रमाण पनि छ । राम्रा राम्रा सफल ग्राहकका रिभ्युहरु पनि छन । व्यापारिक संस्थाको आकर्षक वेवसाइट पनि छ । विश्वासिला लाग्ने कर्मचारिहरु पनि छन । यति भएपछी उनीहरुलाई विश्वास गर्न त्यो भन्दा बढी के चाहियो र ? दुबै पति पत्नी कार्यालयमा गएर व्यवस्थापक प्रमुख अभिनय भन्डारीलाई भेट्छन । त्यसपछी लगातार उक्त कन्सल्टेन्सीबाट फोन आउन थाल्दछ । उनीहरुलाई भनिन्छ, चाँडो पैसा जम्मा नगरे उनिहरुको स्थान अरुलाई दिइन्छ ।

एम्बिसन कन्स्लटिङ्गमा काम गर्ने भनिएका कर्मचारी

अन्तत: उनीहरुले पीआरको प्रलोभनमा भनिएको पैसा तिर्छन । पैसा तिरिसकेपछी कम्पनीका म्यानेजिङ डाइरेक्ट अर्थात अभिनय भण्डारीले केही समयपछी उनीहरुलाई स्पोन्सर गर्ने  कम्पनीले सम्पर्क गर्ने बताउछन । आशाबादी हुँदै उनीहरु घर फर्कन्छन ।

हप्तौंसम्म पनि फोन नआएपछी उनीहरु झस्कन्छन । उनीहरुले आफुहरुले दस्तखत गरेको सहमतिपत्र हेर्छन जसमा लेखिएको हुन्छ “कम्पनीले आप्रवाशन सम्बन्धि परामर्श दिने र अस्ट्रेलियन इमिग्रेशनको भिसा आवेदन भर्नमा सहयता गर्ने ।” सहमतिपत्रमा उक्त कार्यालयले भिसा अबेदनको सफलताको जिम्मेवारी लिन पनि नसक्ने लेखिएको हुन्छ, जुन उनीहरुलाई बताइएको भन्दा बिलकुल फरक कुरा हुन जान्छ ।

सहमति गरेको आठौं हप्तासम्म पनि कुनै ‘सम्भावित स्पोन्सर’ बाट सम्पर्क नभएपछी दुबै पति-पत्नी अभिनयको कार्यालयमा गई सोधपुछ गर्छन र आफुहरुले तिरेको पैसा फिर्ता गर्न भन्छन । भण्डारी केही पैसा फिर्ता गर्न सहमत पनि हुन्छन र रकम फिर्ता पठाएको ‘स्क्रिनसट’ समेत पठाउछँन । तर फिर्ता गरिएको भनिएको रकम कहिल्यै रमेश र अनुको बैंक खातामा आँउदैन । जोडीले त्यसपछी किन पैसा नआएको भनि प्रश्न गर्दा सम्झौता अनुरुप रकम फिर्ता गर्नुपर्ने तीन महिनाको अवधी पुरा भैसकेकाले पुन: मिटिङ गर्नुपर्ने भनी दुबैजनालाई बोलाउछन तर आफु भने मिटिङमा उपस्थित हुँदैनन ।

रकम तिरेको तीन महिनापछी उक्त जोडीले त्यो बिषयलाई न्यू साउथ वेल्सको ‘सिभिल तथा एड्मिनिस्ट्रेटिभ ट्रिबुनल’ मा लैजान्छन । न्यू साउथ वेल्सको ‘सिभिल तथा एड्मिनिस्ट्रेटिभ ट्रिबुनल’ ले कबुल गरेको काम नगरेका कारण ‘माई एम्बिसन कन्सल्टिङ’ ले उक्त जोडीलाई सम्पुर्ण रकम फिर्ता गर्नुपर्ने निर्णय गर्दछ ।

पछी थाह हुन्छ कि उक्त संस्थाबाट नेपाली तथा विदेशी गतरि ७० भन्दा बढी मानिसहरु ठगिएका रहेछन । २८ जनाले ले न्यू साउथ वेल्सको फेयर ट्रेडिङ्मा ‘कम्प्लेन’ नै गरेका रहेछन ।

एकजना फिलिपिनो महिलाले पीआरको आशामा अभिनयको उक्त संस्थालाई ५० हजार अस्ट्रेलियन डलर नै बुझाएकी रहिछन ।

रमेश र अनुले अरु पनि ‘माई एम्बिसन कनसल्टिङ’ बाट ठगिएका हरुसँगपनि पछिल्लो समयमा सम्पर्क गरि सामाजिक सञ्जाल ह्वाटस्एपमर्फत जोडिइ संयूक्तरुपमा अभिनयका विरुद्दमा कानुनी लडाँए लड्ने सोच बनाई अगाडी बढे ।कानुनी लडाँइ लडी उनीहरु पहिलेको पैसा फिर्ता पाउने आशमा वकिलका लागी लाग्ने थप पैसा संयुक्तरुपमा संकलन गर्न सहमत भई वकिलसँग सम्पर्कमा पनि पुग्छन । दुर्भाग्यवस् एक साता अधि मात्र ‘माई एम्बिसन कन्सल्टिङ’ लिक्विडेशनमा गएको भन्दै एक लयरको फार्मबाट  इमेल आएपछी उनीहरुसँगै रकम फिर्ताको आशमा बसेका ७० भन्दा बढी मानिस निराश बनेका छन ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading