नेपालमा सरकारले लकडाउनको अवधि १२ दिन थप गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो ।
सरकारले गत चैत ११ गतेदेखि आगामी बुधबारसम्मका लागी लकडाउनको लागु गरेकोमा कोरोना भाइरस संक्रमितहरु भेटिने क्रम नरोकिएपछि सरकारले पुनः १२ दिन लकडाउनको समय थप गर्ने निर्णय गरेको हो ।
हालसम्म नेपालमा १६ जना कोरोना संक्रमित भेटिइसकेका छन् भने मंगलबारमात्रै पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बसेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार पनि कैलाली र रौतहटमा थप एकएक जनामा कोरोना भाइरसको संक्रमित भेटिएका थिए ।
हाल सुदूरपश्चिम प्रदेशमा पाँच जना, गण्डकी पदेशमा २ जना, प्रदेश २ मा चार जना र काठमाडौंमा ४ जना कोरोना संक्रमित उपचाररत छन्। एक जना उपचारपछि घर फर्किसकेका छन्।
यसअघि सरकारले चैत ११ गते चैत १८ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको थियो । त्यसपछि फेरि चैत २५ गतेसम्मका लागि लकडाउन गरेकोमा तेस्रो चोटी समय थप्दै वैशाख ३ गतेसम्मका लागि लकडाउन लम्ब्याएको थियो । अहिले फेरि चौथो पटक समय थप गर्दै सरकारले वैशाख १५ गतेसम्मका लागि लकडाउनको समय थप गरेको छ । यता छिमेकी देश भारतले भने वैशाख २१ गतेसम्म लकडाउन घोषणा गरेको छ ।