कोभिड-१९ को महामारीको समयमा मानसिक स्वास्थको हेरचाह कसरी गर्ने ?

मिलन दाहाल
कोरोनाभाइरस (कोभिड-१९) को महामारीले विश्वलाई च्यापेको छ । चिनको वुहान प्रान्तबाट शुरु भएको यो भाइरस हाल विश्वका सबै देशमा फैलिइसकेको छ । इटाली, स्पेन, जर्मनी, इरानलगायतका देशमा हज्जारौंको संख्यामा मानिसहरु मरिरहेका छन । विकासशील देशहरुको त कुरा छोडौं विश्वको सर्वशक्तिमान अमेरिका, बेलायतलगायतका देशहरुको समेत यो भाइरसका सामु केही चल्न सकेको छैन । एक किसिमले यो सामान्य रोग हो तर केही पुराना रोग भएकाहरुका लागी यसले ज्यानै लिनेसमेत गरिरहेछ । यो रोगले सबै उमेर समुहका मानिसहरुलाई उत्तिकै च्यापिरहेछ । 

यो संकटको घडीमा धेरै मानिसहरुको तनाब बढेको छ । कोरोना भाइरसको खोप पत्ता लगाउनका लागी विश्वभरका करिब ४ दर्जन वैज्ञानिकहरु लगातार रुपमा काम गरिरहेका छन । खोप पत्ता लाग्नासाथ कोरोना भाइरस नियन्त्रणमा आउने छ । तर, कोरोनाभाइरसका कारण हामीले लिएको तनाबका कारण मानसिक स्वास्थमा पर्ने असर कहिल्यै ठीक नहुन सक्छ । तसर्थ, हामीले यो विपतको घडीमा आफ्नो मानसिक स्वास्थको बिशेष ख्याल राख्नुपर्ने हुन्छ । यो महामारीको बिचमा हाम्रो मानसिक स्वास्थको ख्याल राख्न सहयोग गरोस भन्ने उदेश्यले यो सामाग्री तयार पारिएको छ । 

विश्वमा हज्जारौं मानिसहरु मरिरहेको र रोगको औषधीसमेत पत्ता नलागेको यस घडीमा चिन्ता लाग्नु, तनाब बढ्नु स्वभाविक कुरा हो । तर, तनाबले हामीलाई सहयोग भने गर्दैन बरु मानसिक स्वास्थमा नकारात्मक असर पर्न गई थप समस्याहरु बढ्न जान्छ । 

कोभिड-१९ ले बढाएको तनाबलाई कसरी कम गर्ने?

  • निकै धेरै तनाब भएका बेला मांसपेशीलाई खुकुलो बनाउने खालका व्यायमहरु फाइदाजनक हुन्छ । यसका लागी शान्त र सजिलो स्थानमा बस्नुहोस । नाकबाट स्वास लिदै मुखबाट फाल्नुहोस । हत्केलाको मुठ्ठी बनाउनु होस र मुठ्ठीलाई केही सेकेन्ड कडा बनाइराख्नुहोस, यसो गर्दा तपाईको ध्यान पुर्णरुपमा मुठ्ठीमा केन्द्रीत होस । मुठ्ठी बिस्तारै खोल्नुहोस, र आफुले कस्तो अनुभव गर्दै हुनुहुन्छ ख्याल गर्नुहोस । यसो गर्दा तपाईले तनाब विस्तारै तपाईको हातबाट बाहिर गएको र हात हल्का हुँदै गएको महशुस गर्नुहुन्छ । यसैगरी शरिरका खुट्टा, आङ्ग लगायतका अन्य अंगहरुमा पनि यही कसरत गर्नुहोस । घाउचोट लागेका अंगमा भने यो कसरत नगर्नुहोस । 
  • दिमागलाई आफुवरपरका कुरामा व्यस्त राख्दा समेत सहयोग हुनसक्छ । दिमागलाई विश्वमा हाल के भइरहेको छ ?, मलाई कोरोना भाइरस लाग्यो भने के होला? भन्नेखालका प्रश्नहरु खेलाईरहनुभन्दा हाल के गरिरहनु भएको छ त्यसमा पुर्णतया आफुलाई समर्पित गर्नुहोस । 
  • ध्यान गर्दा समेत तनाब निकै कम हुनजान्छ । हामीलाई हुने धेरैजसो तनाबको कारण हामीलाई कहिल्यै नभएको र भविष्यमा समेत हुने संभावना एकदम थोरै भएका कुराहरुबारे सोचेर हुनेगर्छ । यस्ताखाले कुरामा भन्दा दिमागलाई अन्य आवश्यक कुरामा एकत्रित गर्दा फाइदा हुन्छ । 
  • विभिन्न प्रकारका योगाहरुसमेत तनाब कम गर्नका लागी निक्कै फाइदाजनक हुन्छन । 

कोरोना भाइरसबाट बच्नका लागी हामीले सामाजिक दुरी कायम गर्नुपर्ने हुन्छ । सामाजिक दुरीको अर्थ भौतिक दुरी हो । तनाब कम गर्नका लागी आफ्ना परिवारजन, साथीहरुसँग भावनात्मक रुपमा नजिक रहनुपर्छ । 

  • आफ्ना परिवारजन, साथीभाइसँगहरु फोन, भिडियो च्याटबाट निरन्तर सम्पर्कमा रहनुहोस । उचित सल्लाह दिने साथीभाइ र परिवारजनको सुझाव लिनुहोस । कतिपय सदस्यहरु भएनभएका कुरा गरेर तनाब बढाउनेखालका हुन्छन, उनीहरुको पहिचान गरि उनीहरुबाट टाढा रहनुहोस ।
  • साथीभाइबाट पाएको स्वास्थ सम्बन्धी परामर्श सुन्नुहोस तर विश्वास नगर्नुहोस ।तालिमप्राप्त स्वास्थकर्मी (डाक्टर, नर्स)  बाट पाएको  सल्लाहको मात्र विश्वास गर्नुहोस । लिनुपर्ने अवस्थामा उनीहरुको सहयोग लिनुहोस । 
  • सामाजिक दुरी भनेको समाजबाट आफुलाई अलग्याउने होइन, अरु मान्छेसँग भौतिकरुपमा नजिक नजानेमात्र हो, यो कुरा ख्याल गर्नुहोस । 

कोभिड-१९ को वर्तमान अवस्था आवश्यपनि निकै अनिश्चितताको अवस्था हो । हाम्रो तनाबले यसलाई नियन्त्रण गर्न सहयोग गर्दै गर्दैन भन्ने बुझाइलाई आत्मसात गर्दै हुने चिन्तालाई वेवास्ता गर्दापनि फाइदै हुन्छ ।

(लेखक मेन्टल हेल्थ फस्ट एड अष्ट्रेलियाबाट तालिमप्राप्त प्राथमिक मानसिक स्वास्थकर्मी हुन ।)

Advertisements

Leave a Reply