मेयरको रोइलो: आफ्नै उपमेयरले नटेर्ने मलाई कसले टेर्छ?
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्चमा अनुमतिबिना बनेका सटर खाली गर्न उपमेयरलाई जिम्मेवारी दिए पनि उनले अटेर गर्दा भत्काउन समय लागेको बताएका छन्।
खुलामञ्च अतिक्रमणबारे ध्यानाकर्षण गर्न महानगर पुगेका काठमाडौं- ७ का सांसद भिमसेनदास प्रधानसहितको टोलीसँग मेयर शाक्यले उक्त कुरा बताएका हुन्।
‘चैत २४ गतेको नगर परिषद् बैठकमा उपमेयर हरिप्रभा खड्गीलाई खुलामञ्चमा बनिरहेका सटर अनुगमन गरी खाली गराउन निर्देशन दिएको हो। उहाँले निर्देशनअनुसार काम गर्नुभएन,’ उनले भने, ‘उपमेयरले समयमै प्रतिवेदन दिनुभएको भए अहिलेसम्म ती सटर खाली गराउने काम भइसक्थ्यो, तपाईंहरू यहाँ आउनैपर्ने थिएन, न त हिजो विरोध गर्नुपर्थ्यो।’
मेयर शाक्य यतिमै रोकिएनन्। उनले सांसद भिमसेनदास प्रधानलाई उपमेयर खड्गीलाई सम्झाइदिन पनि आग्रह गरे।
‘मैले भनेर त उहाँले मान्नुभएन। अब भिमसेन दाइले भन्दिनुपर्यो। तपाईंकै पार्टी (नेपाली कांग्रेस) को मान्छे हो,’ उनले आक्रोसित हुँदै भने, ‘भिमसेन दाइहरूले जति छिटो काम गर्नू भन्नुहुन्छ, त्यति चाँडो प्रतिवेदन आउँछ, त्यसपछि हामीलाई कारबाही गर्न सजिलो हुन्छ।’
कामपा-२८ मा रहेको खुलामञ्चमा सटर बन्दा पनि त्यहीँ वडाध्यक्ष र त्यही वडाका बासिन्दा उपमेयरलाई थाहा नभएकोमा पनि उनले प्रश्न उठाए।
‘मलाई आफ्नै उपमेयरले टेर्नुभएन भने अरू कसले टेर्छ? मेयरलाई बदनाम गराएर मात्र केही हुँदैन,’ उनले भने, ‘मैले त विधिसम्मत ढंगले काम गर्ने हो। अरू जसरी सडकमा तोडफोड गरेर हिँड्न मिल्दैन।’
यसबारे उपमेयर खड्गीसँग कुरा गर्दा उनले आफूलाई मेयरले यसबारे केही नभनेको दाबी गरेकी छन्।
‘यो सबै उहाँले आफू उम्किने ठाउँ खोज्नुभएको हो। चैत २४ को नगर परिषद बैठकमा मैले नै उहाँलाई यसको जानकारी गराएको हुँ,’ खड्गीले भनिन्, ‘वैशाख ६ गते मैले फोन गरेको बेला उहाँले खुलामञ्च अनुगमन गर्नुस् न भन्न्नुभएको हो, तर छानबिन गरेर प्रतिवेदन दिनुहोस् म पनि साथ दिन्छु भन्नुभएन।’
फोनका भरमा दिइएको आदेशले कसरी काम गर्नू भन्दै उनले मेयरले कुनै पनि निर्णय प्रक्रियामा आफूलाई सहभागी नगराएको आरोप लगाइन्।
‘उहाँका गतिविधि नै ठिक छैन। मलाई दोष दिएर उहाँ उम्किन पाउनुहुन्न,’ उनले भनिन्, ‘मलाई झारा टार्ने किसिमले काम दिएको मात्रै हो। आधिकारिक रूपमा होइन।’
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस