ताजा खवरहरु:

दिन बढाएर भत्ता खाने डाक्टरलाई राष्ट्रपतिबाट पुरस्कार

देशका लागि महत्वपूर्ण योगदान गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्षका दिन विभिन्न व्यक्तिलाई मानपदवी दिएर सम्मान गरिन्। राष्ट्रपतिबाट सम्मानित हुनेमा स्वास्थ्य क्षेत्रबाट २८ जना छन्। तीमध्येका एक हुन् डा फणीन्द्रप्रसाद बराल।

धनकुटा जिल्ला अस्पतालमा कार्यरत रहँदा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई प्रवल जनसेवा श्री चतुर्थ श्रेणीको पदकसहित सम्मान गरिएको हो।

तर, डाक्टर बरालले जिल्ला स्वास्थ्य कार्यालय धनकुटा र अस्पतालमा कार्यरत रहँदा स्वास्थ्य क्षेत्रमा अनियमितता गरेको महालेखा परीक्षकको कार्यालयले देखाएको छ। महालेखाको प्रतिवेदन अनुसार डा बरालले धनकुटामा कार्यरत रहँदा ६ सय ६४ दिनको एक वर्ष बनाएर भ्रमण भत्ता लिएका छन्।

डा बराल धनकुटामा २०७४ असोज २० देखि ०७५ असार मसान्तसम्म कार्यरत थिए। उक्त २ सय ८४ दिनको अवधिमा ४२ दिन सार्वजनिक बिदा परेको थियो। सो अवधिमा डा बराल ८४ दिन कार्यालयमा हाजिर भएका थिए। तर, उनले जिल्लामा कार्यरत रहेको अवधिमा ३ सय ६४ दिन काठमाडौं, विराटनगर र धनकुटाका विभिन्न स्थानमा भ्रमण गरेको भन्दै भत्ता लिएका छन्।

२ सय ८४ दिनको उक्त अवधिमा उनी ८४ दिन कार्यालयमा हाजिर भएका छन्। यस आधारमा हेर्दा उनले बढीमा २ सय दिनमात्र दैनिक भ्रमण पाउँछन्। हाजिर भएको, सार्वजनिक बिदा, दसैं तिहारको बिदा जस्ता कुराले पनि २ सय दिनको भ्रमण पाउन असम्भव हुन्छ। तर, उनले यो अवधिमा ३ सय ६४ दिनको भ्रमण भन्दै ६ लाख ९३ हजार ३ सय ३० रुपैयाँ भत्ता लिएका छन्।

उनले लिएको भत्ताका आधारमा हिसाब गर्दा उनले एक वर्षलाई ६ सय ६४ दिन बनाएको देखिन्छ। भत्ताको हिसाब मिलाउन डा बरालले एकै दिन तीन वटा छुट्टाछुट्टै बिलमा भ्रमण भत्ता लिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

‘जम्मा २ सय ८४ दिनमात्र उक्त कार्यालयमा बसेका उनले ३ सय ६४ दिनको भ्रमण भत्ता लिनु गैरकानुनी देखिएको छ,’ महालेखा स्रोतले भन्यो, ‘यतिमात्र होइन उनले पेश गरेको बिललाई केलाएर हेर्दा एकै समयमा धनकुटा र काठामाडौंमा रहेको देखिन्छ।’

डा बरालको बदमासी यतिमात्र सीमित छैन। उनले काठमाडौं र विराटनगरमा रहेको भन्दै भ्रमण भत्ता लिएकै दिन धनकुटा अस्पतालमा बिरामीको अल्ट्रासाउन्ड गरेको भन्दै भत्ता समेत लिएको देखिन्छ।

काठमाडौं र विराटनगरमा भ्रमण भत्ता लिएको समयमा उनले १ हजार ८ सय ६२ वटा अल्ट्रासाउन्ड गरेको भन्दै ४ लाख ६५ हजार ५ सय भत्ता समेत लिएका छन्। यति मात्र होइन, उनले अस्पतालमा विभिन्न सेवा गरेको भन्दै अल्ट्रासाउन्डको भत्ता सहित यो अवधिमा ९ लाख ४६ हजार ४ सय ९६ रुपैयाँ प्रोत्साहन भत्ता लिएको देखिन्छ।

देशका लागि महत्वपूर्ण योगदान दिएको भन्दै राष्ट्रपतिबाट पदक पाएका डा बरालले नियमविपरीत ९ महिनाको अवधिमा १५ लाख ५५ हजार ८ सय २६ रुपैयाँ भत्ता लिएका छन्।

यसैगरी, नयाँ वर्षको दिन चिकित्सकको दर्जामा पदक पाउने राम थापा क्षेत्री पनि नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स नपाएका व्यक्ति भएको भन्दै विवादमा आएका थिए। थापाले हालसम्म काउन्सिलको परीक्षा पास गर्न सकेका छैनन्। काउन्सिलको परीक्षा पास नगरी डाक्टरको दर्जामा उपचार गर्न पाईंदैन।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading