ताजा खवरहरु:

पुरुषमा पनि स्तन क्यान्सर?

भक्तपुर — सिन्धुपाल्चोक चौताराका ६० वर्षीय हर्कबहादुर तामाङको देब्रे स्तनमा ७ वर्षअघि सानो गिर्खा देखियो । तर त्यतिबेला उनले खासै वास्ता गरेनन् । ४ महिनाअघि भने एक्कासि बढ्यो र दुख्न थाल्यो । उनलाई छोरी रेनुले भक्तपुर क्यान्सर अस्पताल पुर्‍याएर सर्जिकल अन्कोलोजिस्टलाई भेटाइन् ।

अस्पतालमा स्किनिङ, म्यामोग्राम गराइन् । चिकित्सकले स्तनमा क्यान्सर फैलिएको छ/छैन प्रस्ट पारे । ‘बुवाको स्तनको पूरै भाग निकाल्नुपर्‍यो,’ उनले भनिन् । हर्कबहादुर स्तन अप्रेसन गरी २२ दिनदेखि अस्तालमा थप उपचार गराइरहेका छन् । ‘शरीरमा कुनै गिर्खा आयो भने क्यान्सरको संकेत भन्ने सुनेकी थिएँ र बुवालाई क्यान्सर अस्पताल ल्याएँ,’ रेनुले भनिन् ।

हर्कबहादुर मात्र होइन । ६ महिनायता ४ पुरुषको स्तन क्यान्सरको अप्रेसन गरेको भक्तपुर क्यान्सर अस्पतालका कन्सल्टेन्ट अन्कोलोजिस्ट एवं स्तन क्यान्सर विशेषज्ञ डा.उत्सवमान श्रेष्ठ बताउँछन् । ‘विश्वमा एक प्रतिशत पुरुषलाई मात्र क्यान्सर भएको तथ्यांक छ तर पछिल्लो समय स्तन क्यान्सर हुने पुरुषको संख्या बढ्दो छ,’ उनले भने, ‘गतवर्ष २ जनाको स्तन क्यान्सरको अप्रेसन गरेको थियो, ६ महिनामा ४ जना थपिए ।’

मुलुकमा दोस्रो ठूलो समस्याका रूपमा देखापरेको स्तनको क्यान्सर समयमै उपचार हुन सके निको हुने चिकित्सकहरू बताउँछन् । आफ्नो स्तनको आफैंबाट परीक्षण गर्न सके समयमै रोग पहिचान हुने र अधिकांश निको हुने उनको भनाइ छ । बर्सेनि बढ्दो अवस्थामा रहेको स्तन क्यान्सर नियन्त्रणका लागि स्वयम् व्यक्तिलाई प्रशिक्षित तथा जनचेतना जगाउनुपर्ने अस्पतालका अन्को–अर्थोसर्जन डा.जनितलाल सिंह बताउँछन् ।

स्तनमा भएका कोषकोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिने र स्तन क्यान्सर प्राय: महिलालाई लाग्छ तर पछिल्लो समय पुरुष पनि यस रोगबाट प्रभावित हुने क्रम बढेको चिकित्सकहरू बताउँछन् ।

गरिबी, अशिक्षा र अज्ञानताका कारण समयमै उपचार नगर्नाले यो रोग महिलाको मृत्युको एक प्रमुख कारण भएको छ । आमा, दिदीबहिनी वा नजिकका नातेदारमा स्तन क्यान्सर भएमा, ३० वर्षपछि बच्चा जन्माउने महिलामा, बच्चा नजन्माएका महिलामा, स्तनपान नगराउने महिलामा, स्तनमा गाँठागुठी वा पुराना समस्या भएमा स्तन क्यान्सर हुने सम्भावना बढी हुने चिकित्सकको भनाइ छ ।

त्यसैगरी एउटा स्तनमा क्यान्सर भइसकेका महिला, पुरुषमा अर्को स्तनमा पनि क्यान्सर हुने सम्भावना बढी हुन्छ । आफ्नो स्तन आफैंले राम्ररी हेरेर तथा छामेर नियमित रूपले परीक्षण गर्नाले स्तनमा भएको परिवर्तन वा गिर्खा पत्ता लगाउन सहयोग मिल्छ । स्तनको परीक्षण गर्दा स्तनको सम्पूर्ण भाग वरिपरि र काखीमुनि कुनै गिर्खाहरू भए/नभएको छामी हेर्नुपर्छ । यसका साथै आफ्नो स्तनको स्वरूप र रङमा कुनै परिवर्तन आए/नआएको पनि ख्याल गर्नुपर्छ ।

चेतना फैलाउन चंगा
रोगबारे जनचेतना फैलाउन शुक्रबार भक्तपुरको घ्याम्पेडाँडामा चंगा उडाइएको छ । भक्तपुर क्यान्सर अस्पतालका कन्सल्टेन्ट अन्कोलोजिस्ट एवं स्तन क्यान्सर विशेषज्ञ डा.उत्सवमान श्रेष्ठको नेतृत्वमा क्यान्सर रोगको पहिचान आफैंले गर्न सकिने लगायतका जनचेतना जगाइएको थियो । कार्यक्रममा अस्पतालका चिकित्सक, स्तन क्यान्सरको उपचार गराइरहेका बिरामीले गुलाबी रङको टिसर्ट पहिरिएर, गुलाबी रङकै बेलुन र चंगा उडाएका थिए।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading