ढिलो-चाँडो मन्त्री हुन्छु:ओली
गायनबाट राजनीतिमा हाम्फालेकी कोमल ओली अहिले धेरै बदलिएकी छिन् । हरेक कुरा तौलि-तौलि बोल्छिन् । प्रस्तुतिमा गाम्भिर्यता झल्किन्छ । विचारमा गहिराई भेटिन्छ ।
पहिले न्यूजपेपर पढ्दा उनी मनोरञ्जन पेज पल्टाउँथिन् । अहिले पहिलो पेज र विचार पेजमा बढि आँखा डुल्छ । पहिले मनोरञ्जनात्मक उपन्यासहरुमा रुची थियो, अहिले राजनीतिक र दार्शनिक किताबहरु छिचोल्न थालेकी छिन् । पछिल्लो समयको कुरा गर्ने हो भने उनी शशी थरुरको ‘ह्वाई आइ एम हिन्दु’ पढ्दैछिन् ।
०००
एक वर्षभन्दा बढि भयो, उनले राजनीति गर्नलाई रेडियो नेपालको स्थाई जागिर छोडेको । २०७३ साल फागुन ६ गते रेडियो नेपालमा राजीनामा दिएर ७ गते उनी राप्रपाको केन्दि्रय महधिवेसनमा उम्मेदवारी दिन पुगेकी थिइन् ।
संगीतबाटै लोकप्रियता कमाइरहेकी उनलाई किन राजनीतिको भोक जाग्यो त ?
कोमल भन्छिन्, ‘गीत-संगीतका क्रममा म देशका लगभग सबै जिल्ला पुगेँ । यस नेपाली समाजका विभिन्न आयामहरुलाई नियाल्ने मौका पाएँ । त्यसपछि देखेँ, जता पनि पोलिटिक्स हावी छ । अनि महसुस गरेँ, समाज परिवर्तनका लागि राजनीति नै गर्नुपर्ने रहेछ । त्यसैले बोल्ड निर्णय लिएँ ।’
राजनीतिमा लाग्ने सोच बनाइसकेपछि कुन पार्टीबाट राजनीति गर्ने भन्ने प्रश्न आयो । उनी सबै पार्टीका नेताहरुसँग नजिक थिइन् । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बढि प्रभावित थिइन् । यो पार्टीले उठाएको राजतन्त्र र हिन्दू राज्यको एजेन्डा उनको मनको नजिक थियो ।
‘त्यहीबेला कमल थापाज्यू, पशुपति शम्शेर राणाज्यूले, लोकेन्द्रबहादुर चन्दज्यूले मलाई एप्रोच गर्नुभयो,’ कोमलले भनिन्, ‘उहाँहरुको आग्रह स्वीकारेर राप्रपामा गएँ ।’
त्यसो त उनी एमालेका अध्यक्ष केपी ओलीसँग पनि नजिक थिइन् । तर, ओलीले उनलाई कहिल्यै पार्टीमा निम्तो गरेका थिएनन् ।
तर, कोमल राप्रपामा धेरै टिकिनन् । छोटो समयमै सो पार्टीबाट विरक्तिइन् र एमालेमा प्रवेश गरिन् । उनलाई संसद बनाउने लोभ देखाएर एमालेमा ल्याइएको चर्चा पनि चल्यो ।
तर कोमल भने एमालेका एजेन्डाहरुबाट आकषिर्त भएर आएको बताउँछिन् ।
‘एमालेको सैद्दान्तिक आधारशीला बलियो देखेँ । नेताहरुमा इच्छाशक्ति देखेँ । पछिल्लो समयमा एमालेको विकासको एजेन्डाले आम जनतालाई क्याच गरेको पाएँ । समृद्ध मुलुकको मेरो परिकल्पना एमालेले पूरा गर्छ जस्तो लाग्यो । त्यसैले पार्टी परिवर्तन गरेँ,’ उनी भन्छिन् ।
एमालेले उनलाई राष्ट्रिय सभाको संसद बनायो । तर, त्यतिबेला कठोर प्रतिक्रियाहरुको सामना गर्नुपर्यो । पार्टीका त्यागी र संघर्षशील व्यक्तिहरुलाई पन्छाएर हिजो मात्र भित्रिएकी गायिकालाई मौका दिइएको भन्दै सामाजिक सञ्जाल उर्लियो ।
यस्ता आलोचनाहरु कत्तिको विचलित बनायो उनलाई ?
‘अहँ म विचलित भइनँ, बरु भन्नुहुन्छ भने,’ कोमलको तर्क छ, ‘यी आलोचनाले मलाई झन् इस्पात बनाए, दृढ बनाए । जसलाई माया गरिन्छ, उसैलाई त गाली पनि गरिन्छ नी होइन र ?’
कोमल अहिले आफू एउटा परिक्षामा बसिरहेकी छु भन्ने ठान्छिन् । उनलाई उत्तिर्ण हुनुछ, यनकेन प्रकारेण ।
अँ, उनी प्रत्यक्ष चुनाव लडेरै सांसद बन्न चाहन्थिन् । आफ्नो लोकपि्रयताको पारो नाप्नलाई पनि जनतामाझ परिक्षा दिनु थियो उनलाई । तर, अवसर मिलेन । किन उनले प्रत्यक्ष चुनावमा टिकट पाइनन् ?
‘म पार्टी एकताको कोपभाजनमा परेँ सायद’ उनले भनिन् ।
तर कुनै व्याख्या गरिनन् ।
सांसद पदको सपथ खाइरहँदा उनको दिमागमा के थियो ?
‘त्यतिबेला मेरो मन-मस्तिष्कमा देश र जनताको चित्र थियो । देश विकासको अठोट थियो । एकदमै ठूलो जिम्मेवारीवोधले थिचेजस्तो महसुस भइरहेको थियो,’ कोमल भन्छिन् ।
धेरै ठूला कार्यक्रमहरु सञ्चालन गरेकी, रेडियोमा बोलेकी कोमललाई संसदमा बोल्दा कति फरक अनुभूति भयो ?
‘त्यो मेरो जीवनको अविष्मरणीय दिन थियो । पहिलोपटक संसदमा बोल्दा मेरो छाति गर्वले ढक्क फुलेको थियो । विगतमा ठूला-ठूला कार्यक्रमहरुमा बोल्दाखेरी पनि कहिल्यै त्यस्तो भावना उर्लेको थिएन,’ कोमलले सम्झिइन्, ‘यो एउटा सिंगो राष्ट्रको प्रतिनिधित्व गर्ने मञ्च थियो । अडियन्स फरक थिए । विद्वतहरुको सभाकक्षमा मैले आफ्नो मौलिकता कायम राख्दै बढि तार्किक रुपमा पेश हुनुपर्ने थियो । गाम्भिर्यता प्रदर्शन गर्नुपर्ने थियो । मैले त्यही प्रयास गरेँ ।’
आफ्नो दोस्रो भाषणमा भने उनले एउटा कविता सुनाएकी थिइन्, शहिदहरुमा समर्पित । साथै यूरोपियन यूनियनले नेपालमा गरेको हस्तक्षेपको विरोध गरेकी थिइन् ।
उनी अहिले राष्ट्रिय सभामा धेरै सांसदहरुसँग घुलमिल भइसकिन् । एमालेका मात्र नभएर अन्य पार्टीका सांसदहरु पनि उनीसँग नजिकिन खोज्छन् ।
‘म त सबैकी साझा सांसदजस्ति भएकी छु,’ कोमलले भनिन् ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस