ताजा खवरहरु:

डा. के सीलाइ रेसिडेन्स डाक्टरहरुको पनि साथ, सर्वसाधारणको समर्थन

dr kc१२ चैत २०७१, काठमाडौं-वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आमरण अनशन थालेको चौथो दिन बुधबार पनि सरकारबाट कुनै सुनुवाइ नभएपछि टिचिङ अस्पताल, महाराजगन्जमा कार्यरत रेजिडेन्ट डाक्टरहरूले शुक्रबारबाट ओपिडी सेवामा सहभागी नहुने घोषणा गरेका छन्। आइओएम अन्डरग्रा्यजुएट विद्यार्थीले बुधबारबाटै पठनपाठन बहिष्कार गरेका छन्।
टिचिङका अढाई सय रेजिडेन्ट डाक्टरहरूको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनले  अस्पतालका निर्देशकलाई भेटेर आफ्नो आन्दोलन कार्यक्रम जानकारी गराइसकेको छ। ‘रेजिडेन्ट चिकित्सकले शुक्रबारबाट सेवामा सरिक नहुने जानकारी गराएका छन्,' अस्पतालका निर्देशक डा. दीपक महराले बुधबार नागरिकसँग भने, ‘सकेसम्म अस्पतालको सेवा प्रभावित हुने अवस्था नआओस् भन्नेमा प्रशासनको अधिकतम प्रयास रहनेछ। तैपनि सेवा रेजिडेन्ट र फ्याकल्टी मिलेर नै चलाउने हो।' एसोसिएसनका अध्यक्ष डा. रामचन्द्र सापकोटाले अनशनरत डा. केसीको जीवनरक्षा र उनले उठाएका माग पूरा गर्न सरकार संवेदनशील नभएपछि यस्तो निर्णयमा पुगेको बताए। अन्य मेडिकल कलेज र चिकित्सा विज्ञान प्रतिष्ठानका रेजिडेन्ट चिकित्सक एवं विद्यार्थीसँग समेत छलफल गरी अभियानमा एकबद्ध भएर लाग्ने तयारी भइरहेको उनले जनाए। यसबारे छलफल गर्न बिहीबार आइओएम, वीर अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका रेजिडेन्ट एवं पाटन अस्पतालका एमबिबिएस तथा इन्टर्न चिकित्सकको भेला बोलाइएको छ। भेलामा नेपाल चिकित्सक संघ, आइओएम प्राध्यापक संघ एवं फ्याकल्टी डक्टर्स एसोसिएसनका प्रतिनिधिसमेत डाकिएको डा. सापकोटाले जानकारी दिए। स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको गुणस्तर सुनिश्चित गर्न तथा मेडिकल क्षेत्रका विकृतिविरुद्ध अघिल्ला चारपटकको अनशन क्रममा सरकारसँग भएका सहमति कार्यान्वयन नभएपछि डा. केसी आइतबारदेखि पाँचौं अनशन बसेका हुन्।उनले अनशन बस्नुअघि आफ्नो अभियान क्रममा सेवा र पठनपाठन अवरुद्ध नगर्न आग्रह गरेका थिए। तर, सरकारले पटक्कै सुनुवाइ नगरेपछि कडा कदम चाल्नुको विकल्प नभएको चिकित्सकहरूको भनाइ छ। चिकित्सक संघले पनि शुक्रबार बृहत भेला आयोजना गरेर कडा आन्दोलन कार्यक्रम घोषणा गर्ने जनाइसकेको छ। संघले सोमबारै विज्ञप्ति जारी गरी ‘तत्काल माग सम्बोधन नभए चुप लागेर नबस्ने' भन्दै चिकित्सकलाई उत्तेजित नपार्न चेतावनी दिएको थियो। आइओएमका विद्यार्थीले भने सेवा रोक्ने चेतावनीसँगै दबाबमूलक कार्यक्रम बढाउँदै लगेका छन्। बुधबार बिहानै डिन कार्यालयसामु धर्ना दिएका विद्यार्थीले अपराह्न बालुवाटारस्थित प्रधानमन्त्री निवासमा समेत धर्नाका साथै ज्ञापनपत्र बुझाए। प्रधानमन्त्रीसँग भेट नभएपछि कार्यालय पुगेर ज्ञापनपत्र दर्ता गराएको एमबिबिएस चौथो वर्ष अध्ययनरत सुमन आचार्यले बताए।

केसीका मागमा ऐक्यबद्धता

सरकारले चासो नदेखाए पनि सर्वसाधारण र विभिन्न अस्पतालमा कार्यरत चिकित्सकले बुधबार दिनभरजसो अनशनस्थल पुगेर केसीका मागमा ऐक्यबद्धता जनाए। यसै क्रममा बुधबार साँझ नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौला र केन्द्रीय सदस्य गगन थापा अनशनस्थल पुगेर डा. केसीको स्वास्थ्य अवस्था बु‰दै उनका मागमा समर्थन जनाएका थिए। सिटौला र थापा दुवैले आफू व्यक्तिगत रूपमा आएको जानकारी गराउँदै डा. केसीले उठाएका मागबारे प्रधानमन्त्रीको ध्यानार्षण गराउने वचन दिएका थिए। डा. केसीलाई भेट्न सरकारद्वारा गठित चिकित्सा शिक्षा नीति अध्ययन कार्यदलका संयोजक डा. केदारभक्त माथेमा र डा. अर्जुन कार्कीसहित पत्रकार कनकमणि दीक्षित, जुगल भुर्तेलसमेत अनशनस्थल पुगेका थिए।

आइओएमले प्रधानमन्त्री गुहा‍र्‍यो

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले बढ्दो विरोध कार्यक्रमसँगै पठनपाठन र स्वास्थ्य सेवासमेत ठप्प हुने स्थिति आउनसक्ने भन्दै ‘आन्दोलनलाई समयमै सम्हाल्न' प्रधानमन्त्री गुहारेको छ। आइओएम डिन कार्यालय र त्रिवि शिक्षण अस्पताल, महाराजगन्जले संयुक्त रूपमा बुधबार कुलपतिसमेत रहेका प्रधानमन्त्रीलाई यस्तो बेहोरासहित पत्राचार गरेका हुन्। पत्रमा डा. केसीले उठाएका माग र अनशनको चौथो दिनसम्म आइपुग्दा विकसित घटनाक्रमबारे विस्तृत उल्लेख गरिएको छ। आइओएम डिन डा.राकेश श्रीवास्वतले सरकारप्रमुखलाई आइओएम र शिक्षण अस्पतालमा विकसित परिस्थितिबारे औपचारिक जानकारी गराइएको बताए। उनले डा. केसीका माग सम्बोधन गरी पठनपाठन र स्वास्थ्य सेवामा असर पर्नबाट बचाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरेको पनि जानकारी दिए। ‘पढाइ रोकियो, बिस्तारै सेवामा असर पर्दै जान्छ,' डा. श्रीवास्तवले नागरिकसँग भने, ‘डा. केसीको जीवनरक्षाका लागि पनि यो विषयवस्तु सल्टाउन हामीले आग्रह गरेका हौं।'

स्वास्थ्य अवस्था खस्कँदो

अनशनको चौथो दिन डा. केसीको स्वास्थ्य स्थिति अझ खस्किएको छ। चिकित्सकले उनलाई नर्मल स्लाइन दिइरहेका छन्। उनको रक्तचाप घट्ने, छातीको दुखाइ र मांसपेसी बाँउडिने समस्या बढ्दै गएको छ। यसले शरीरमा शक्ति क्षीण हुँदै गएको अवस्था संकेत गर्ने चिकित्सकहरू बताउँछन्।

 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading