रमपम झापा गोल्डकपमा आयोजकको शानदार प्रदर्शन

४ मार्च २०१८ ।  रमपम झापा गोल्डकपको तेस्रो संस्करणको उद्घाटन खेलमा आयोजक रमपम झापाले शानदार प्रदर्शन गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा झापा ११ ले सुदूरपश्चिमविरुद्ध ५−० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।

खेलको छैठौँ मिनेटमा झापा ११ का डिफेन्डर देवेन्द्र तामाङले पहिलो गोल  गरेका थिए । विशाल राईको प्रहार पोस्टमा लागेर रिबाउन्स भएको बलले देवेन्द्रको प्रहारमा जाली चुमेको हो । खेलको १४ औँ मिनेटमा झापा ११ का विश्वास श्रेष्ठको प्रहार सुदूरपश्चिमका खेलाडीको खुट्टामा ठोक्किएर अन गोल भएको थियो ।

३० औँ मिनेटमा झापा ११ का स्ट्राइकर कर्ण लिम्बूले व्यक्तिगत गोल गर्दै अग्रता तेब्बर पारे । पहिलो हाफको इन्जुरी समयमा झापा ११ का खमिरगिल्सन कन्दङ्वाले गरेको प्रहार पनि गोलमा परिणत भएको थियो । भुषण सुब्बाको पासमा कन्दङ्वाले जाली चुमाएका हुन् । खेलको ५२ औँ मिनेटमा योगेश गुरुङले खमिरगिल्सन कन्दङ्वालाई मिलाइदिएको पासलाई झापा ११ का स्ट्राइकर कर्ण लिम्बूले उत्कृष्ट ढंगले गोल गरेका हुन् ।

खेलको १३ औँ मिनेटमा विश्वास श्रेष्ठले डि एरिया नजिकबाट गरेको फ्रि किक प्रहार सुदूरपश्चिमका गोल रक्षक जीवन भट्टराईले पञ्च गर्दै उत्कृष्ट बचाउ गरेका थिए । खेलको २२ औँ मिनेटमा खमिरगिल्सन कन्दङ्वाको प्रहार पनि गोलरक्षक भट्टराईले बचाउ गरे । खेलको ३७ औँ मिनेटमा झापा ११ का कप्तान योगेश गुरुङले मिलाइदिएको क्रस पासलाई स्ट्राइकर कर्ण लिम्बूले सदुपयोग गर्न सकेनन् । सुदूरपश्चिमका गोलरक्षक बिट भइसकेको अवस्थामा पनि स्ट्राइकर लिम्बूले गोललाई जाली चुमाउन नसकेका हुन् ।

मोफसलकै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगितामा विजेता टिमले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख पुरस्कार पाउनेछ । प्रतियोगितामा नेपालका उत्कृष्ट नौ र भारतको सिक्किम युनाइटेड क्लब गरी १० वटा टिमको सहभागिता रहेको छ । खेलमा झापा ११ का स्ट्राइकर कर्ण लिम्बू म्यान अफ दि म्याच घोषित भए । उनले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खेल क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताए । उनले खेलकुद महाविद्यालय बनाइने योजना सुनाए । आइतबारको खेल नेपाल पुलिस क्लब र रुपन्देही ११ बीच हुने आयोजक समितिले जनाएको छ ।

Leave a Reply