मधेशी र पहाडीले मनाए एकैठाउँ होली
४ मार्च, २०१८ / बिर्तामोडमा मधेशी समुदाय र पहाडी समुदायले एकैथलोमा होली मनाएका छन् । उनीहरुले कार्यक्रमबाट आफूहरुले होलीको रंगसँगै आपसी सद्भाव, भाइचारा र बन्धुत्व भावना बृद्धि गर्न महत्वपूर्ण अवसर प्राप्त गरेको बताए । वीरता जेसीज र वीरता लेडी जेसीजले फागु पूर्णिमा पर्वको अवसर पारी बिर्तामोडको अतिथि सदनमा होली मिलन समारोह आयोजना गरेका थिए ।
वीरता जेसीजका अध्यक्ष एकराज गिरी र वीरता लेडी जेसीजकी अध्यक्ष नम्रता ढकालको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथि नेपाल चलचित्र संघका पूर्व केन्द्रीय अध्यक्ष तथा वीरता जेसीजका पूर्वअध्यक्ष राजकुमार पोखरेल थिए । प्रमुख अतिथि पोखरेलले कार्यक्रमका अतिथि तथा सहभागीलाई अविर पहि¥याएर होली मिलनको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा वडा नंं १का अध्यक्ष अग्निप्रसाद पाण्डे, ब्राम्हण समाज झापाका उपाध्यक्ष हरि भण्डारी, मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल भद्रपुरे, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, रौनियार सेवा समाज झापाकी अध्यक्ष संगीता रौनियार लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै जेसीजले उदाहरणीय होली मिलन समारोह आयोजना गरेको बताए । सबै समुदायबीच त्यस्तै सद्भाव र मेलमिलाप आजको आवश्यकता रहेको र जेसीजले संयोजन गरेको होलीले त्यही सन्देश दिएको उनीहरुले बताए ।
कार्यक्रममा वीरता लेडी जेसीजकी संयोजक हिमा पौडेलले स्वागत र वीरता जेसीजका संयोजक मिकी कार्कीले आस्था वाचन गरेका थिए । वीरता जेसीजका महासचिव कमलप्रसाद पाण्डे बिनोद र वीरता लेडीकी महासचिव सरु खनालले कार्यक्रम सञ्चालन गरेका थिए ।
सहभागीले अवीर उत्सवका साथ सामूहिक नृत्य गरेर होली मनाएको वीरता जेसीजका शाखा सम्पादक तुलसी निरौलाले जानकारी दिए ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.





प्रतिकृया दिनुहोस