मतदाताको सद्भाव थियो, हाम्रो संगठन थिएन

पहिलो पटक संसदीय चुनावमा भाग लिएको विवेकशील साझा पार्टीले प्रत्यक्षतर्फ  सिट जित्न सकेन। तर काठमाडौं–१मा संयोजक रवीन्द्र मिश्र कांग्रेसका प्रकाशमान सिंहसँग हजार कम मतले पराजीत भए। चुनावअघि विवेकशील साझाले यसपालि राष्ट्रिय पार्टी बन्ने र अर्को चुनावमा देशको नेतृत्व गर्ने दाबी गर्दै आएको थियो। समानुपातिकको मतगणनामा जति नै सिट पाए पनि अब ऊ राष्ट्रिय पार्टी बन्ने सम्भावना छैन। यीनै विषयमा सेतोपाटीले विवेकशीलका संयोजक रवीन्द्र मिश्रसँग कुराकानी गरेको छ।

For all kinds of visa solution, tax, immigration contact: Mates International Adelaide, SA

click here to go to Mate's Facebook page

चुनावमा उम्मेदवार हुँदाको अनुभव कस्तो रह्यो?
चुनाव हामीले असाध्यै सम्मानजनक ढंगबाट, मेहनत गरेर अनि पुरै राजनीतिक हिसाबले लड्यौं जस्तो लाग्छ। निर्वाचन क्षेत्रको चुनावी प्रचार प्रसार र सामाजिक सञ्जालबाट पनि गरिएको चुनावी प्रचारप्रसार दुबैलाई एकदमै राम्रो ढंगबाट अगाडि बढायौं जस्तो लाग्छ।

लड्नुभन्दा पहिले तपाईंले नचिताउनुभएका अनुभवहरू केही भए?

पत्रकारको रूपमा नेपाली समाजको कति धेरै राजनीतिकरण भएको छ भन्ने पनि थाहा पाएकै थिएँ। नेपाली समाजका कैयौं जटिलता पनि थाहा थियो। यीनै कुराहरूलाई यो चुनावमा ‘फर्स्ट ह्याण्ड’ अनुभूत गरियो। त्यो अनुभव गरिरहँदा जुन किसिमको पीडा महशुस भयो त्यसले कहिलेकाहिँ म आफैंलाई भावुक बनायो। कहिलेकाहिँ मसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई भावुक बनाए। त्यस्ता कुराले मप्रति सहानुभूति राख्नेका आक्रोशहरू पनि देखेँ। यसरी विविध किसिमको अनुभव यो चुनावले दियो।

आठ सय मतान्तरले हार्नुभयो। कमजोरी कहाँनिर भयो? मानिलिनुस्, यो चुनावलाई तपाईं फेरि लड्दै हुनुहुन्थ्यो भने कुन–कुन कुरालाई कसरी सच्याएर जानुहुन्थ्यो?

सबैभन्दा कमजोर पक्ष भनेको हाम्रो संगठन नहुनु नै हो। हामीले सद्भाव असाधारण रूपमा पायौं। तर, हाम्रो संगठन थिएन। त्यस्तो अवस्थामा चालिस÷पचास वर्षदेखि संगठन बनाएर बसेका पार्टी फाइदाको स्थितिमा पुगे।

दोश्रो कुराचाहिँ हामी पूर्ण रूपमा आफैंमा विश्वस्त भएर अगाडि बढ्यौं। तर, प्रतिपक्षीको बीचमा चाहिँ पछिल्लो चरणमा आएर धेरै राजनीतिक चलखेल भयो भनेर पनि भनियो। त्यो कहाँसम्म सत्य हो र कहाँसम्म हल्ला मात्र हो भन्ने कुराचाहिँ अरुले हेरेर विश्लेषण गर्ने कुरा हो।

कस्तो चलखेल? अलिक प्रष्ट पार्न मिल्छ?

प्रतिपक्षीहरुको बीचमा आपसी सहमती समझदारी भएको भन्ने कुरा आएको छ। स्थानीय तहमा अरु आरोप पनि छन्। ती आरोपमा म धेरै जान चाहन्न। कोट्याउन चाहन्न। किनभने मैले यो चुनावी नतिजालाई अत्यन्त सम्मानपूर्वक ग्रहण गरेको छु। विजयी उम्मेदवारप्रति पनि मैले सम्मान प्रकट गरिसकेको छु।

तपाईंले चुनावको सुरुआती क्रममा हरेक भेटघाटका विवरण तस्बिर र भिडियोसहित सामाजिक सञ्जालमा राखिदिँदा पनि प्रतिपक्षीलाई असाध्यै सजिलो भएको कुरा त्यस क्षेत्रका मतदाता बताइरहेका छन्। तपाईंले सार्वजनिक गरेका विवरणका आधारमै प्रतिपक्षीले ती ती ठाउँमा दबाब बढाएका थिए रे! अहिले सम्झँदा त्यस्ता काम गर्नु गल्ती थियो जस्तो लाग्दैन?

त्यो प्रतिक्रिया कतैकतैबाट हामीले पनि पायौं। हामीले जति पनि फेसबुक र ट्वीटरमा ती विवरण राख्यौं त्यसबाट सकारात्मक प्रभाव पर्ला भन्ने नै सोचाइ थियो। सकारात्मक प्रभाव प¥यो पनि। तर, पछि हामीले के थाहा पायौं भने हामीलाई जहाँ जहाँ आमन्त्रण गरिएपछि ती फोटो र भिडियो सामाजिक सञ्जालमा राख्थ्यौं ती ती ठाउँमा प्रतिपक्षी पुगेर सम्पूर्ण नीति अपनाउँदै उनीहरूलाई आफ्नो पक्षमा समेट्न खोजेछन्। यस्तो कुरा थाहा पाएपछि पछिल्लो चरणमा आएर हामीले कतिपय फोटोहरु सामाजिक संजालमा राखेनौं।

मेयरको चुनावका बेलामा विवेकशील र साझाले पाएको मत जस्तो यसपाला तपाईंले पाउन सक्नुभएन भन्ने पनि मानिसहरुको भनाइ छ। के भन्नुहुन्छ?

मेयरको चुनावको प्रकृति नितान्त भिन्न थियो। अहिलेको चुनावमा भूतपूर्व प्रधानमन्त्री, मन्त्रीहरू, पार्टीका एकदमै दरिला भनिएका नेता मैदानमा थिए।  तैपनि काठमाडौंको क्षेत्र नम्बर एकको विश्लेषण गर्ने हो भनेचाहिँ स्थानीय तहमा जति भोट हामीले पाएका थियौं त्यो भोट विवेकशील साझामै कायम भएको छ।

अबको काम के?
चुनाव जितेको भए ‘डेलिभर’ गर्नुपथ्र्यो। संसदमा उपस्थिति र मेरो भूमिका सबैले ध्यान दिने भएकाले म पुरै त्यहाँ केन्द्रीत हुनुपथ्र्यो। यो पराजयलाइ सकारात्मक रूपले हेर्ने हो भने पनि पार्टी निर्माणको निम्ति खट्न अब सजिलो भएको छ।

सुरुमै म चुनाव नलडौं कि भन्ने सोचाइमा पनि थिएँ। तर, मेरो पार्टीका साथीहरूले चुनाव लड्दा नै राम्रो हुन्छ, लड्नु पर्छ भन्नुभयो। म लडेँ। अहिले सोच्दा लड्नु उपयुक्त निर्णय नै थियो भन्ने लागिरहेको छ। एकदम निकटतम प्रतिद्वन्द्वीका रूपमा चुनावमा पराजित हुँदाको सकारात्मक पक्ष के हो भने देशभरि हाम्रो पार्टी र चुनाव चिन्ह तराजुको परिचय स्थापित गरेका छौं। यो छोटो समयमै हामीले प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो।

यो परिणामपछि हामीले संसदका नियमित गतिविधिमा समय दिनु नपर्ने भयो। अर्थात्, अब म खुलेर संगठनको काममा केन्द्रीत हुन पाउँछु। अर्को चुनावका लागि आजैबाट तयारी थाल्ने हो।

अब संसदमा उपस्थिति नहुँदाको अवस्थामा प्रतिपक्षीको भूमिका कसरी निभाउनु हुन्छ?

जितेको भए संसदभित्र आवाज उठाइन्थ्यो। अब संसदमा नहुँदाखेरि संसद बाहिरबाटै आवाज उठाउने हो।

भन्नुको मतलब अब सडकबाट आवाज उठाउने?

सडक भन्ने शब्दको अर्थ अलि नकारात्मक लाग्छ। यसले नेपाली राजनीतिलाई अलिकता विकृत पनि बनाइसकेको छ। त्यसैले संसद बाहिर भन्छु।

फेरि अर्कोचोटी चुनाव लड्दा कुन क्षेत्र छान्नुहुन्छ?

म लगायत सबै साथीहरूको अर्कोपटकको चुनाव क्षेत्रका बारेमा चर्चा गर्न अहिले नै त धेरै चाँडो हुन्छ। तर, काठमाडौंको एक नम्बर क्षेत्रमा यसपटक यति राम्रोसँग चुनाव लडियो, यति राम्रो नतिजा पनि आयो। त्यसकारणले अब सम्भवत यही क्षेत्र हुन्छ होला। तर, यो त धेरै पछिको कुरा हो।

अब कसरी यो क्षेत्रका मतदातासँगको गतिविधि र व्यवहारलाई अगाडि बढाउनु हुन्छ?

यो क्षेत्रसँगको मेरो आवद्धता र यो क्षेत्रमा मैले गर्ने गतिविधि एकदमै बढ्छ। चुनाव लड्दा जुन आत्मीयता पाएको थिएँ म स्वयं पनि धेरैपटक भावुक भएको थिएँ, भक्कानिएको थिएँ। म उनीहरूको ढोकामा पुगेको देख्नेबित्तिकै मानिसहरू तीन–चार तल्ला माथिबाट जसरी दौडिएर आउँथे, त्यस्ता क्षणहरू म जीवनभर कहिल्यै बिर्सन सक्दिनँ।
यो सम्वन्ध चुनावभरिको निम्ति मात्र थिएन। म निरन्तर उहाँहरूसँग अन्तक्र्रियामा हुनेछु। आउने शनिबार बानेश्वर बैंक्वेटमा मैले धन्यवाद ज्ञापनको कार्यक्रम पनि राखेको छु। संसदमा नपुगेता पनि उहाँहरूको निम्ति मैले के गर्न सक्छु भनेर कोशिस जारी राख्नेछु।

व्यक्तिगत अनुभवबाहेक अब यसपाला नेपालको निर्वाचन र यसको परिणामबारे तपाईंको विश्लेषण सुनौं न! अब नेपाली राजनीति कता जान्छ?

नेपाली राजनीतिमा गठबन्धनले बदलिएको हो। अब सरकार पनि बदलिन्छ। तर, नेपाली राजनीतिको आधारभूत चरित्र बदलिन्छ भन्ने कुरामा मलाई पटक्कै विश्वास छैन। हामीले बदल्न खोजेको नै नेपाली राजनीतिको त्यही आधारभूत चरित्र हो। यो असाध्यै नै जकडिएको छ। त्यसलाई तोड्नका लागि हामीले यसपटक पर्याप्त समय नै पाएनौं। अब अर्कोपटकको लागि हामीले त्यो जकडिएको राजनीति तोड्न राम्रोसँग काम गर्नुपर्ने हुन्छ।

स्थीर सरकारको संकेत त देखाएको छ नि! यसले परिस्थिति फेर्दैन?

स्थीरता केका लागि? भ्रष्टाचारको लागि? कुसंस्कृत राजनीतिको लागि? नेताहरूको सुखमय जीवनका लागि स्थिरता चाहिएको हो?

जुन स्थिरताको नारा दिइएको छ त्यसले नेताहरुको सरकारमा बस्ने अवधिलाई लम्ब्याउन सक्छ, एउटा वर्गका नेताहरूको सम्वृद्धिलाई अझ दरिलो बनाउन सक्छ। तर, जनताको हित गर्ने, देस र समाजको हित गर्ने काममा त्यति परिवर्तन होला भन्ने मलाई लाग्दैन।

अहिलेसम्मको नेपाली राजनीति भनेकै भोट हाल्ने जनता दुःखी र भोट पाउने नेता सुखी हुने हिसाबले चलिरहेको छ। त्यसलाई परिवर्तन नगरिकन यो देशको मुहार फेरिँदैन।

Advertisements

Leave a Reply