युएइसामु नेपालद्वारा २२२ रनको लक्ष्य

६ डिसेम्बर २०१७, आबुधाबी- शरद भेषावकरको उत्कृष्ट पारी खेलेपछि विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले यूएईसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आबुधाबीस्थित शेख जियाद अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय २१ रन वनाएको हो । तेस्रो क्रममा ब्याटिङ गर्न आएका भेषावकर ८१ रनमा नटआउट रहे । ९५ वलको सामना गरेका उनले ५ चौका प्रहार गरे । ओपनर दिलिप नाथलाई १६ रनमा गुमाएको नेपालको इनिङ्स उकास्न उपकप्तान ज्ञानेन्द्र मल्ल र भेषावकरले उल्लेख्य योगदान गरे । मल्ल ५४ रनमा आउट भए । क्याप्टेन पारस खड्का र सोमपाल कामीले समान २० र बिनोद भण्डारीले ४ रनको योगदान गर्दा आरिफ शेख भने डक आउट भए । बसन्त रेग्मी १४ रनमा नटआउट रहे । जाहुर खानले यूएईका लागि २ विकेट लिए ।  यूएईले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।  आठ राष्ट्र सहभागी च्याम्पियनसिपअन्तर्गत नेपाल र युएई यसअघि नै डिभिजन टु मा घटुवा भईसकेकाले दुबै टोलीलाई सातौ चरणका खेल प्रतिष्ठाको लडाई मात्र हो । युएईबिरुद्धको खेललाई नेपालले भने नामिबियामा आगामी फेब्रुअरीमा हुने आसन्न डिभिजन टु को तयारीको रुपमा लिएको छ । १२ खेलको समाप्तीमा ९ अंक जोडेको नेपाल तालिकाको छैटौ र समान खेलबाट ६ अंक जोडेको युएई पुछारमा छ ।  यसअघि आबुधाबीमा खेलेका दुई अभ्यास खेलमध्ये पहिलोमा अमेरिकासँग ५ विकेटले पराजित नेपालले दोस्रो खेलमा केन्यालाई ६ विकेटले हराएको थियो ।  च्याम्पियनसिप अन्तर्गत अहिले नामिबिया र नेदरल्याण्ड्स, हङकङ र पपुवा न्यु गिनी तथा केन्या र स्कटल्याण्डबीच पनि खेल भईरहेको छ ।

Leave a Reply