को हुन् डा गोविन्द केसी, किन बस्छन् पटक–पटक अनशन ?

26072016084335Capture-1000x0.jpeg११ अगष्ट २०१७, काठमाण्डौं- डा गोविन्द केसी पटक–पटक अनशन बस्छन् । उनको माग पूरा गर्ने सहमति हुन्छ, अनशन तोडिन्छ । फेरि ती सहमति कार्यान्वयन हुँदैनन्, उनी आन्दोलनको सोही प्रक्रिया अवलम्बन गर्छन् ।

डा केसी यसरी अनशन बसेको बस्यै गरिरहँदा त्यसबारे सर्वसाधरणमाझ अनेक भ्रम छन् । नेपालको चिकित्सा क्षेत्रलाई आफ्नो काबुमा राखिरहन चाहने मेडिकल माफियाहरुले पनि भ्रम फैलाइरहेका हुन्छन् ।

धेरै सर्वसाधरणमा डा केसी किन अनशन बसिरहन्छन् ? आन्दोलन गर्ने अरु तरिका छैनन् र ? लगायतका जिज्ञासा रहेको देखिन्छ । एक शब्दमा भन्दा डा केसीले अरुलाई दुःख दिन चाहन्नन्, आफ्नै ज्यानलाई भोको र प्यासी बनाएर विकृति बढार्न चाहन्छन् ।

उनी अस्पतालमा अनशन बस्दा  नियमित उपचार प्रक्रियामा अवरोध हुने कुतर्क पनि अघि सारिएको छ । यदि डा केसी जत्तिकै ती व्यत्तिलाई पनि अस्पताल र सर्वसाधरणको पीर हुँदो हो त डा केसीले यस्तो कठोर तपस्या गर्ने दिनै आउँथेन । किन अनशन बस्छन् भन्ने कुराको सम्पूर्ण जानकारी हासिल गर्न उनी बारे जान्न जरुरी छ ।

को हुन् डा  केसी ?

सार्वजनिक संस्थालाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने अभियानमा उनले पाएको सफलताले उनको नाम रोशन बनाए पनि नियमित कामले गोविन्द केसी चम्किन थालेको दुई दशक भन्दा बढी भइसकेको छ । चिकित्सकहरू गाउँ जान भनेपछि नाक खुम्च्याउँछन् भन्ने आरोप लाग्ने गरेकै अवस्थामा यी ५६ वर्षे चिकित्सक  कम्तिमा वर्षको दुई पटक औषधिको झोला बोकेर गाउँवस्ती पुग्छन् । उनले कुनै भरियाविना, प्रचारप्रसार नगरी विरामी र स्वास्थ्य चौकी खोज्दै गाउँ डुल्न थालेको २० वर्षभन्दा बढी समय भइसकेको छ । यसबीचमा उनी देशका ७५ वटै जिल्ला पुगिसकेका छन् । चिकित्सा पेशाका लागि कुनै समय, सीमा र भौगोलिक विकटताले रोकिनु हुँदैन । केसीले पेशा अँगाल्दा लिएको विश्वास हो यो ।  यही विश्वासमा अडिएर उनी देश–विदेश जहाँसुकै प्रकोपका ठूला घटना हुन्, पीडितको उपचारमा पुग्छन् । हैजा महामारीको चपेटामा परेको जाजरकोटदेखि भूकम्पले सोत्तर बनेको हाइटीसम्म उनी आफ्नै खर्चमा उपचारका निम्ति पुगेका थिए ।

सन् २००१ मा भारतको गुजरातमा भूकम्पले ठूलो क्षति पु¥याउँदा उनले ३ हप्ता त्यहाँ बिताए । त्यसपछि उनी सन् २००५ मा पाकिस्तानको काश्मिर क्षेत्रका भूकम्पका घाइतेको उपचारमा दुई हप्ता बसे ।  सन् २००८ मा बर्मामा आँधि आउँदा उनी त्यहाँ पनि पुगे । ‘चिकित्सा पेशा सेवाका लागि हो, सकेसम्म को ? कहाँ ? कस्तो ठाउँ ? भन्ने कुराले छेक्नु हुन्न ।’ उनको बुझेको पेशागत धर्म हो यो । उनी पैसाको पछि कहिल्यै दौडिएनन् । जागिरबाट आएको पैसा पनि उनी सेवाका लागि खर्च गरिरहेका छन् ।

नचिनिको ठाउँ, नजानेको भाषा, हिमपात, उकालोओरालो, वनजंगल कुनै किसिमका अवरोधले उनको अभियान रोकिएको छैन । दश वर्षे माओवादी युद्ध भैरहँदा पनि उनले आफ्नो सेवायात्रा रोकेनन् । यद्यपि यसबीचमा उनले कहिले सुराकी त कहिले छापामारको अरोपमा विभिन्न खालका हैरानी भोग्नुपरेका थुप्रै उदाहरण छन् । सेवामा लाग्दा दुःख पाएका उदाहरण गौण हुन्छन् भन्ने ठान्छन् उनी । उनी रोग पालेर अस्पताल र औषधिको मुखै नदेखेका निरीह जनताको दुःख सम्झिन्छन् । त्यतिबेला उनलाई कामको क्रममा आएका अवरोध सबै फिका लाग्छन् । २०१४ सालमा रामेछापकको दुर्गम गाउँ माकादुम–सिम्लेमा जन्मेका थिए गोविन्द । ग्रामीण क्षेत्रमा केसी परिवार सम्पन्न परिवारमै गनिन्थ्यो । परिवारमा पढ्नुपर्छ भन्ने चेतना व्याप्त थियो । पढाईमा अब्बल केसीले निम्न माध्यामिक शिक्षा दोलखाबाट पूरा गरे भने एसएलसी चाहिँ २०२९ सालमा काठमाडौंको पद्मोदय हाईस्कूलबाट द्धितीय श्रेणीमा पूरा गरे ।

CIMG4000

एचएको पढाई सकिएपछि उनले ६ महिना जति पढाए । शिक्षा मन्त्रलायले ढाकाका लागि लिएको छात्रवृत्ति परीक्षामा उनको पनि नाम निस्किएपछि उनले त्यहाँ एबिबिएस पढे । सन् १९८५ मा एमबिबिएस सकेर काठमाडौं फर्किने वित्तिकै उनले शिक्षण अस्पताल हाडजोर्नी विभागमा हाउस अधिकृतको जागिर पाए । एक वर्षपछि उनले लोकसेवामा नाम निकालेर टेकु अस्पतालमा मेडिकल अफिसरको रुपमा काम थाले ।

haiti

केसीमा एमडी गरेर विशेषज्ञता हाँसिल गर्ने भित्री इच्छा थियो । एमडी अध्ययनको लागि उनले प्रवेश परीक्षा दिए । परीक्षा दिने दुई सय रहेकोमा जम्मा १२ जनाले मात्र पढ्न पाउथे । उनी १२ जना भित्र परे । त्यो बेला नेपालमा हाडजोर्नी सम्बन्धी डाक्टर ज्यादै न्यून थिए । त्यसैले उनले हाडजोर्नी नै रोजे । अध्ययन विदा मिलाएर उनी १९८९ मा एमडी पढ्न पुनः ढाका प्रस्थान गरे । १९९३ मा अध्ययन सकेर उनी नेपाल फर्किए ।

पढ्न जाने समयमा विदा दिन नमानेर उनलाई मन्त्रालयका अधिकारीले निकै दुःख दिएका थिए । पछि सेवामा पुनः प्रवेश गर्न खोज्दा पनि जिल्ला जानुपर्छ भनेर उनलाई दबाब दिए । उनले वीर अस्पतालमा काम गर्न खोजेका थिए । पढेर जानेको ज्ञानमा ठूला अस्पतालका बरिष्ठसँग बसेर सीप थप्न पाए हुन्थ्यो भनेर शुरूमा उनले काठमाडौं रोजेका थिए । दुर्गम ठाउँदेखि त केसी डराउने मान्छे होइनन् नै । ठूला अस्पतालमा अवसर नपाउने भएपनि उनले सरकारी जागिरबाट राजीनामा दिए । शिक्षण अस्पतालमा हाडजोर्नी सम्बन्धी चिकित्सकको अभाव थियो । उनले काम गर्ने इच्छा राख्ने वित्तिकै नियुक्ति पनि पाए । अब शुरू भयो उनको शिक्षण अस्पतालको यात्रा । प्राध्यापन र शल्य चिकित्सक दुवै काम उनले एकसाथ सुरु गरे । सन् १९९३ तिर शुरूको आठ महिना उनले निःशुल्क काम गरे । १९९४ देखि उनी आइओएममा जागिरे भए ।

Jajarkot GobindaKc 02

यसबीचमा उनले बीचको एक वर्ष बाहेक निजी प्राक्टिस गरेका छैनन् । बीचको एक बर्ष भने उनलाई बाध्यता नै प¥यो । एक जना परम मित्र चिकित्सक जापान जानुपर्ने भएकोले उनलाई सहयोग गर्न मात्रै उनले काठमाडौ नर्सिङ होममा काम गरेका थिए उनले । त्यसपछिका दिनमा उनी फुर्सद मिल्यो कि दुर्गम बस्ती चहार्न थाले ।  अविवाहित केसी अस्पतालकै सरकारी क्वार्टरमा बस्छन् । जसले गर्दा उनले जतिबेला पनि विरामी र विद्यार्थीका लागि समय उपलब्ध गराउन पाएका छन् । ‘सेवा दिन त पाएको छु, यसले मेरो खाने वानीमा पूरै परिवर्तन गरेको छ,’ उनले भने । पाउरोटी र जामबाट सुरू हुने दैनिकी राति दहीचिउराको भरमा टर्छ । ‘भातको स्वाद चाख्न विदा मिलाएर आफन्तकहाँ पुग्नुपर्छ,’ उनले थपे ।

यो केसीको बाध्यता मात्र होइन, उनले आफैं रोजको बाटो हो । उनी जस्ता सीप र ज्ञान भएका चिकित्सकले चाहने हो भने घर, गाडीजस्ता विलासिताका बस्तु जुटाउन सक्छन् । तर उनका लागि यी सबै कुरा रोजाइका बस्तु होइनन् । उनी कहिल्यै कमाउने बाटोमा लागेनन् । जागिरे जीवनको यतिका वर्षसम्म उनले घरमा पैसा पनि दिन सकेका छैनन् बरु उल्टै लिएका छन् रे । बैंक खातामा केही पैसा जम्मा भयो कि उनी कुनै दुर्गम गाउँमा आफ्नै खर्चमा किनेको औषधि बोकेर उपचारका लागि जनालाई विदा मिलाउनतिर लाग्छन् ।

दुर्गममा काम गर्न जाने समयमा कहिलेकाँही अनुमान गरेको खर्चले नपुग्दा उनी भाइहरूसँग सहयोग माग्छन् ।  केसीले यो बाटो रोजेको शिक्षण अस्पतालमा सेवा शुरू गरेको पहिलो वर्षदेखि नै हो । विरामी हुँदा अन्तिम अवस्थामा मात्रै अस्पताल आइपुग्ने, त्यो अवस्थामा पनि उपचार गर्ने पैसा नभएर त्यत्तिकै फर्किएका थुपै विरामी उनले देखे । यी कुराले उनलाई गाउँगाउँ डुल्दै गरीब, असहाय र उपचार नपाएकाहरूको सेवामा लाग्ने बाटोमा डो¥यायो ।

दुर्गम बस्ती र गाउँ भन्दा सम्झिने कुनै पनि जिल्ला र ठाउँको नाम सम्झिनुस् केसी नपुगेको ठाउँ छैन । केसीले राम्ररी बुझेका छन्–नेपालमा रोगले गम्भीर बनाएपछि मात्रै उपचारका लागि अस्पताल खोजिन्छ । त्यो अवस्थामा कतिपटक त उपचारले  पनि केही गर्न सकिन्न । गर्न सकिने भए पनि आर्थिक कारणले आम नेपालीले धान्न सक्ने हुँदैन । त्यसैले प्रारम्भिक अवस्थामा सामान्य उपचार पाए पनि धेरैको ज्यान जोगिन सक्छ । उनले बुझेको यथार्थ यही हो । यही कुराले उनलाई सधैं सेवाका लागि मार्गदर्शन गर्छ । सन् १९९४ मा उनले काठमाडौं वरपरका गाउँमा ‘हेल्थ क्याम्प’ सञ्चालन गरी अघोषित रूपमा अभियान प्रारम्भ गरेका थिए । उनी गाउँ पुग्दा दुईवटा काम गर्छन् । भेटेका विरामीको निःशुल्क उपचार र गाउँमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम । गाउँमा स्वास्थ्यकर्मीले थोरै जानेर विरामीलाई प्रारम्भिक उपचार र सही सल्लाह दिए पनि धेरै ठूलो कुरा हुनसक्छ । यी कामका लागि केसी एकपटकमा दुईदेखि तीन हप्ता गाउँमा विताउँछन् ।

झोलामा उनी औषधी, तालिमका लागि आवश्यक पुस्तक र साधारण उपकरण राख्छन् । सामान्य कुराको अभावमा उपचार नरोकियोस् भन्ने उनको ध्यान हुन्छ । शल्यक्रिया गर्नैपर्ने अवस्थाका विरामीलाई काठमाडौं बोलाएर शल्यक्रिया गराइदिन्छन् । त्यसका लागि खल्तिका पैसादेखि अस्पतालका निःशुल्क शैया मिलाइ दिन केसी आफैं लागिपर्छन् ।
जीवनका केसीले आईओएमको डीन र अस्पतालका निर्देशक जस्ता पदमा बसेर सेवा गर्ने सपना देखेका छैनन् । न उनका लागि प्रचारप्रसारको बाटो नै उपयुक्त हो । भन्छन्,‘पछिल्ला दिनमा मैले उठाएका एजेन्डामा जनमत जुटाउन तथा संस्था जोगाउन नेता र सरकारको ध्यानाकर्षण गराउन मैले मिडियाको सहयोग लिनैप¥यो ।’ अब विकृतिविरूद्ध बोल्ने हिम्मत गर्ने र आफू कुनै मोह नराखी प्रणाली बसाल्न लाग्ने मान्छेका उदाहरण दिन केसीको नाम पहिलो नम्बरमा आउने भइसकेको छ ।

pakistan

मुलुकको स्वास्थ्य क्षेत्रमा परिस्थिति यस्तो बनेको छ अब डा.केसी विकृतिविरूद्ध सफल अभियन्ता भइसके । देश–विदेश नभनी महामारी र गरिवीले भरिएका बस्तीमा उपचार र शिक्षा बाँड्दै हिँड्ने यी अभियन्ताले पछिल्लो समयमा विकृतिबिरूद्ध लडाइंमा ठूला सफलता पाएका छन् । पुरानो र दक्षिण एसियामै नामी संस्था चिकित्सकशास्त्र अध्ययन संस्थानमा झण्डै पाँच वर्ष सिधै राजनीति छिरेपछि संस्थाको दुर्गति शुरू भएको महसुस गरे उनले । त्यतिबेला आएओएमका पदाधिकारीमा प्रमुख तीन ठूला दलले भागबण्डागरेर पदाधिकारी पठाए । ती पदाधिकारीहरू संस्था भन्दा नियुक्ति दिने ‘भाग्यविधाता’ दलप्रति जिम्मेवार भए । संस्थामा भ्रष्ट्राचार मौलायो ।

निजी मेडिकल कलेजको govinda kcप्रवेशसँगै स्वास्थ्य क्षेत्रमा विकृतिको घर बन्यो संस्थान । केसीले टुलुटुल हेरेर बस्न सकेनन् । न अन्य जस्तो अर्कोपटक पालो आउला नि त भन्ने आशा राख्ने मान्छे हुन् उनी । उनले अभियान छेडे–राजनीतिक भागभण्डा नभइ, बरियता, क्षमता र दृष्टिकोणका आधारमा पदाधिकारी नियुक्ति हुनुपर्छ । उनी लगातार बोलिरहे । उनले सर्वाजनिक सञ्चार माध्यममा लेख लेखे तर पदाधिकारी नियुक्ति गर्ने निकाय त्रिवि कार्यकारी परिषद्ले सुनेको नसुन्यै ग¥यो । केसीले विरामीलाई दुःख दिने गरी अस्पताल बन्द गर्ने बाटो रोजेनन् । उनले सत्याग्रहको बाटो समाते–आमरण अनशन ।

उनको सत्याग्रहले नेपालको चिकित्सा शिक्षामा केही महत्वपूर्ण परिवर्तन भइसकेका छन् तर उनी विकृति बढारेरै छाड्ने संकल्पका साथ अघि बढेका छन् । त्यसैले उनी अहिले आठौंपल्ट अनशन बसिरहेका छन् ।

(स्वास्थ खवरपत्रिकाबाट साभार)

Advertisements

Leave a Reply