ताजा खवरहरु:

म गोविन्द केसी, मलाई फाँसि देउ सरकार!

जीवन खत्री

महाराज! म, डा. गोविन्द केसी म, हजुरको राज्यको सबैभन्दा ठूलो अपराधी म, हजुरको राज्यको सबैभन्दा ठूलो भ्रष्टाचारी वा, म हजुरको राज्यको सबैभन्दा ठूलो टाउको दुखाइ महाराज मैले गरेकै हुँ अपराध जस्तो कि, हजुरको गरिबी दर घटाउने मनसाय जानिन उल्टै गरीबहरूलाई सिटामोल, र जीवनजल बाँडिदिएँ हजुरको कपाल दुख्दा हजुर त गैजानुभो उडेर म दौडिदै गएँ भेरी, कर्णाली र अनकन्टारतिर कती घाउहरू निचोरेँ, निकालेँ पीप, रगतका धारा र दलिदिएँ, हृदयको मल्हम घाउ-घाउमा कति मलमुत्र छामेँ हातैले र बाडिदिएँ खुसीका औषधीहरू कतीलाई आफ्नै आयुको एक टुक्रा उपहार दिएँ र पुछिदिएँ आँखाका आँशुहरू

महाराज
मैले यस्ता अपराध कति गरेँ गरेँ
आफैँले कम खाएर भोकको दबाई, खुवाएँ भोका बिरामीहरूलाई
आफ्नै हौसलाको सिरिन्जबाट झिकेर, आशाको रगत
बाँडिदिएँ ओइलाई झर्न लागेका कोपिलाहरूलाई
र भनेँ, यो देशका लागि बाँच्नुपर्छ तिमी
यो देश तिम्रो पनि हो।

माहाराज,
मलाई हजुरको जस्तो सुनको शौचालयमा शौच गर्ने शोख भएन
स्वर्ण दरबारको बार्दलीबाट तल आफ्ना आसेपासेहरुलाई हेर्ने रहर भएन
भतिजा भान्जा र ज्वाईका नाममा विदेशमा अर्बौ राख्ने चाहना पनि भएन
न सयर गर्नै मन लाग्यो सररररर जहाजमा
म त आफ्नै जीवन भाँचेर, भर्न चाँहे गरीबहरूका हृदय

हो महाराज,
मबाट गल्ति भो
यी हेर्नु न, मैले त यिनै औषधीहरूसँग बिताइदिएँ जिन्दगी र
जीवनभर बिरामीहरूको आँखामा आफ्ना लालाबाला देखेँ
जीवनभर यही देशलाई आफ्नो घर देखेँ
प्रत्येक बिरामीहरूलाई आफन्त देखेँ
र लागीरहेँ जीवनभर आफ्नै मक्किएको हाड घोट्न
तै पनि
घट्दै घटेनन् तन दुखेका बिरामी
झन् झन् बढिरहे मन दुखेका बिरामी

त्यसैले, ती बिरामी भन्दा बरु मै मर्छु भनेर मैले
अलिअलि नियमका कुरा गरेँ
विधी, विधान र गरीब भलाइका कुरा गरेँ
अकालमै दु:खीहरू नमरुन भनेँ
यही सबैभन्दा ठुलो अपराध भो

हो महाराज, म अपराधी हुँ
‘मरे मरोस्’ भन्दै त्यसै नछाडिदिनुस् मलाई

होलान्, सिहंदरबारमा पुराना तोपहरू
मेरै छातीमा ताकेर पड्काउनुस्।
होलान्, पुराना जंगे तरबारहरू
मेरै घाँटीमा निशाना बनाउनुस्।
वा तातो तेलले डामेर अनुहार
सिफलमा लगी झुन्ड्याइदिनुस्।

किनकि
म, डा. गोविन्द केसी
म, हजुरको राज्यको सबैभन्दा ठूलो अपराधी
म, हजुरको राज्यको सबैभन्दा ठूलो भ्रष्टचारी
वा, म हजुरको राज्यको सबैभन्दा ठूलो टाउको दुखाइ
मजस्तो अपराधी बाँच्न पाउने कुनै अधिकार छैन!


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading