सिड्नीका कलाकारहरुले अष्ट्रेलियाभर उडान भर्दै
१८ अगष्ट २०१६, एडिलेड- अष्ट्रेलियामा रहेका चर्चित नेपाली संगीतकर्मी एवं साहित्यकारहरुको संयुक्त कोसेली "उडान" ले अष्ट्रेलियाका सम्पुर्ण शहरुहरुमा आफ्नो उडान भर्ने तयारी गरिरहेको छ । सेप्टेम्बर १० का दिन सिड्नीको Marana Audiotrium Hurstville, मा एल्बम बिमोचन गर्ने तय भएको छ भने बिमोचन कार्यक्रमपछि सिड्नीका कलाकारहरुले स्रोताहरुलाई भरपुर सांगीतिक मनोरन्जनको गराउने छन् ।
उडानको टिममा अष्ट्रेलियामा बसेर नेपाली गीत-संगीत तथा साहित्यको क्षेत्रमा योगदान पुर्याउने सातजना नेपाली कलाकार एवं साहित्यकारहरु रहेका छन् ।
ईश्वर पोखरेल
डेढ दशकअघि ‘जानु पर्यो नि म त लाहुर’ बोलको गीत रेकर्ड गरेर सांगीतिक आकाशमा प्रवेश गरेका ईश्वर पोखरेलले हालसम्म दुइवटा सांगीतिक एल्बमहरु बजारमा ल्याइसकेका छन् । रातो रिबन’, ‘काली मोरी’, ‘मैले झैं मर्ने बारे’जस्ता लोकप्रिय गीतहरुका नेपाली श्रोताहरुलाई दिइसकेका पोखरेल ‘उडान’ सांगीतिक एल्बमका एक गायक हुन । पोखरेलका करिब दुई दर्जनभन्दा बढी गीतहरु रेकर्ड भइसकेका छन् भने उनी अन्तराष्ट्रिय नेपाली कलाकार समाज न्यु साउथ वेल्स अध्यक्षसमेत हुन् ।
समीर आचार्य
वरिष्ठ लोकगायक डा. गोविन्द आचार्यका छोरा समीर आचार्य बहु प्रतिभावान कलाकार हुन् । करिब २ दर्जनभन्दा बढी गीतहरु गाइसकेका आचार्यको ‘तरज’ र ‘बडा गजबको’ गरेर २ सांगीतिक एल्बमहरु बजारमा छन् । करिब ५ वर्ष शास्त्रीय संगीत अध्ययन गरेका र लगभग ७ वर्ष रेडियोमा काम गरेका समीर पारिवारिक माहोलबाटै संगीतमा छिरेका हुन् । ‘दुनियाँ बेग्लै छ’, ‘हैन भन्देउ न’, ‘बडा गजबको’जस्ता चर्चित गीतहरुका गायक आचार्य ‘उडान’ सांगीतिक एल्बमका गायकहरु मध्ये एक हुन् । क्यारीकेचर तथा हास्यब्यांग्यमा पनि दखल राख्ने आचार्यले स्थापित भइसक्दापनि अष्ट्रेलियामा हुने गरेका कार्यक्रमहरुमा महत्व नदिइदा तथा नेपाली साँगितिक बजार ब्यवसायमुखी नबनेको देख्दा दुख लाग्ने बताउछन् ।
सुजाता उपाध्याय मानन्धर
सानैदेखि रेडियो नेपालको बाल कार्यक्रममा गीत गाएर संगीततिर आकर्षित भएकी गायिका सुजाता उपाध्याय मानन्धर लोकप्रिय गायिका हुन् । उदितनारायण झा, विश्व नेपालीजस्ता गायकहरुसँग समेत काम गरिसकेकी सुजाता ‘मै छोरी सुन्दरी’जस्तो कालजयी गीतकी रचनाकार तथा गायिका भारती उपाध्यायकी छोरी पनि हुन् ।
एकल एल्बम ‘मौन इशारा’ र संयुक्त एल्बम ‘तीन तारा’ गरेर सुजाताका दुई एल्बमहरु बजारमा आइसकेका छन् । ‘तिम्रो मौन इशारा’, ‘संसार मायामा डुब्छ भने,’ ‘पोखिएर तिमी भरी’जस्ता गीतहरुकी यी गायिका ‘उडान’ सांगीतिक एल्बममा पनि सुनिनेछिन् ।
सञ्जीव पराजुली
नेपाली तारा’ को पहिलो संस्करणमा उत्कृष्ट १० भित्र अटाउन सफल भएका सञ्जीव पराजुली एक कुशल गायक हुन् ।४ वर्ष शास्त्रीय संगीत समेत अध्ययन गरेका पराजुलीले रेडियो नेपालबाट स्वर परीक्षा पनि पास गरेका छन् ।
‘झिलमिल झिलमिल’, ‘चाहनामा म तिम्रो’जस्ता गीतहरुका यी गायक आफ्नो पहिलो सांगीतिक एल्बम ‘सुनय’लाई पनि अन्तिम रुप दिँदै छन् । सुगम संगीतमा आशालाग्दो अनुहार मध्येका एक पराजुली ‘उडान’ सांगीतिक एल्बमका गायकहरु मध्येका एक हुन् ।
नरेन कुलुङ
करिब १२ वर्ष अगाडी ‘ब्राईटर तिम्रो सुर मेरो गीत’ टेलिभिजन कार्यक्रमको उपाधी जितेर चर्चामा आएका नरेन कुलुङ एक कुशल गायक हुन् । १७ वर्ष अगाडि ‘राष्ट्रिय बाल गीत प्रतियोगिता’ मा दोस्रो स्थान समेत हासिल गरेका कुलुङको ‘सम्झनामा भाग १ र २’ तथा ‘अनि’ गरेर तीन वटा सांगीतिक एल्बमहरु बजारमा आएका छन् ।
संगीतमा स्नातकोत्तर समेत अध्ययन गरेका कुलुङले अन्य थुप्रै कलेक्सन एल्बमहरुमा पनि आफ्नो स्वर दिएका छन् । ‘मुटुभरी माया बोकेर’, ‘माइतीको नाउँमा’, ‘आँगनैभरी’जस्ता गीतहरुका यी गायक सांगीतिक एल्बम ‘उडान’ अर्का सशक्त प्रतिभा हुन् ।
मोक्षदा सिलवाल
तीन वर्ष अगाडि अस्ट्रेलियामा ‘अष्ट्रेलियन नेप्लिज आइडल’ प्रतियोगिताको उपाधी जितेर चर्चामा आएकी मोक्षदा सिलवाल एक उदीयमान गायिका हुन् । भारतको नयाँदिल्लीमा अध्ययनरत रहँदा विभिन्न सांगीतिक प्रतियोगिताहरुमा पुरस्कार समेत जितेकी मोक्षदाले सानैदेखि भजन गाएर संगीतमा आफ्नो लत बसालेकी हुन् ।
शास्त्रीय स्वाद झल्किने स्वरकी धनी मोक्षदा ‘उडान’ सांगीतिक एल्बमकी गायिका मध्येकी एक हुन् । आफ्नो पहिलो सांगीतिक एल्बमको समेत तयारीमा रहेकी मोक्षदाले अस्ट्रेलियामा विविध सांगीतिक कार्यक्रमहरुमा आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् ।
निष्प्रभ सजी
एक स्थापित कवि र उपन्यासकारको छवि बनाएका निष्प्रभ सजी एक कुशल गीतकार पनि हुन् । ‘भुपरिवेष्ठित खुट्टाहरु’ तथा ‘इजलासमा लाहुरे फूल’ कविता संग्रह र ‘डार्लिङ हार्बर’ उपन्यासका रचयिता निष्प्रभका ‘हार्मोनी’ र ‘इरा’ गीति एल्बमहरु पनि बजारमा आइसकेका छन् ।
‘जवान परदेशमा’, ‘धाराबाट आउने चिसो’, ‘सिमानामा देश’ जस्ता चर्चित गीत गजलका स्रष्टा निष्प्रभ नेपाली चलचित्र ‘ऋतु’ का सम्पूर्ण गीतहरुका रचनाकार पनि हुन् । र, साथै सांगीतिक एल्बम ‘उडान’का एक स्रष्टा पनि ।
प्रदिप चापागाईं
‘किन गर्थें मरिहत्ते’, ‘झरी पछि कालो आकाश’, ‘तिमी यती सुन्दरी छौ’जस्ता चर्चित गजलहरुका रचनाकार प्रदिप चापागाईं हाम्रो ‘उडान’ एल्बमका पनि रचनाकार हुन् । तीन काव्य कृतिहरु ‘सिरेटो शिशिरको’, ‘डाँडामा जून छ’ र ‘फूलहरुको युद्ध’का लेखक समेत रहेका चापागाईं एक कवि र गजलकारका रुपमा चर्चित छन् ।
(नेपालीपत्रबाट)
सिड्नीमा रुपन्देही सामाजीक सञ्जालले कार्यक्रमको आयोजना गर्दैछ भने ब्रिसबेन तथा एडिलेडमा अन्तराष्ट्रिय नेपाली कलाकार समाजले आयोजना गर्ने बुझिएको छ । अन्तराष्ट्रिय नेपाली कलाकार समाज साउथ अष्ट्रेलिया अध्यक्ष बिकाश शर्माले कार्यक्रमबारे छलफलहरु भइरहेको र कसरी र कहा गर्ने भन्ने कार्यसमितिबाट निर्णय भइसकेपछि मिति तय गरिने बताएका छन् ।
उडानलाई शृखलाको रुपमा लैजाने र आगामी दिनमा अष्ट्रेलियाभरबाट कलाकारहरुलाई समाबेस गर्दै लगिने लक्ष रहेकाले उडानको सफलताले अष्ट्रेलियामा रहेका कलाकारहरुलाई एक नया उचाइ दिने गायक समीर आचार्यले बताए ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस