ताजा खवरहरु:

अष्ट्रेलियामा अन्तराष्ट्रिय विद्यार्थीमाथी श्रम शोषण र कानुनी उपचारका उपायहरु

Financial Abuse१९ मे २०१६, एडिलेड (मिलन दाहाल)- एडिलेडको इक्वेल्स इन्टरनेसनल कलेजमा डिप्लोमा इन नर्सिङ गर्दैगरेकि उमा (नाम परिवर्तन)  भन्छिन , “धेरै घण्टा काम पाए त सस्तोमा पनि काम गर्थै । अर्को सेमेस्टरको फि तिर्ने बेला भइसक्यो राम्रोसँग काम नै पाएको छैन् । आउदाखेरीको ऋण कहिले तिर्ने होला, बा-आमालाई देखाएको सपना कहिले पुरा गर्नेहोला ? मलाइ त दिक्क लागिसक्यो । “

अर्का विबेक (नाम परिवर्तन) नाम गरेका एक विद्यार्थीले ‘गम ट्रि’मार्फत सम्पर्कमा आएको एक ब्याक्तिको बैंक एकाउन्टमा राम्रो काम लगाइदिन्छु भनेकै भरमा दुख गरी कमाएको करिब ४५० डलर बैंक ट्रान्सफर गरिदिए । यसरी ट्रान्स्फर गरेको कुरा सँगै बस्ने पहिलादेखी नै अष्ट्रेलिया बस्दै आएका एक दाईलाई सुनाउदा उनको गाली खाएपछि उनी झस्किए । तर त्यतिबेला धेरै ढिला भैसकेको थियो । राम्रो कामको प्रलोभनमा बल्लबल्ल जम्मा गरेको ४५० डलरपनि गुमाउन पुगे उनी ।

 यी केहि नमुना घटनामात्र हुन । एडिलेडका केही छोडेर हरेक (त्यसमा पनि एक्लै आएका विद्यार्थीहरुमा बिशेष) विद्यार्थी बस्ने युनिटहरुको संयुक्त समस्याहरु हुन यी ।

अन्तराष्ट्रिय विद्यार्थी हुनु सहज छैन । एकातिर देशमा राजनीतिक स्थायीत्व नभएका कारण नेपाली विद्यार्थीहरुलाई विदेश जानैपर्ने बाध्यता छ । नौलो ठाँउ, नौलो परिवेश र नयाँ भाषा-संस्कृति एकातिर चुनौतीका रुपमा छन भने आफ्नै ठानेकाहरु र अरुपनि विद्यार्थीहरुलाई नै शोषण गर्न तयार भएर बसेका हुन्छन् । सबैभन्दा बढी जोखिममा जो छ, बढी शोषणको शिकारपनि त्यहि हुन्छ । अन्तराष्ट्रिय विद्यार्थी जहिलेपनि जोखिममा नै हुन्छन् । नेपालबाट आउदा पैसा लगानी भएको हुन्छ, कलेज युनिभर्सिटी जानुपर्ने भएकाले काम गर्नका लागी पर्याप्त समय हुदैन भने भिषामा नै ‘वर्क लिमिटेसन’ हुन्छ । त्यहि भिषामा भएको ‘वर्क लिमिटेसन’कै कारणले कतिपय राम्रा कम्पनीहरुले विद्यार्थीहरुलाई राख्न नै मान्दैन् । यसरी विद्यार्थी भएकै कारणले काममा नराख्न कानुनी रुपले नमिल्ने भएकाले अन्य कारण देखाइ विद्यार्थीका आवेदन अस्विकृत हुने गरेका छन् । यसरी राम्रा कम्पनीहरुमा काम नपाएपछि नराम्रा मान्छेहरुको सम्पर्कमा जनुपर्ने एकमात्र बिकल्प खडा हुन्छ विद्यार्थीहरुका सामु ।

विद्यार्थीहरुलाई काम गर्ने कानुनी अधिकार भइकनपनि त्यति समयले पर्याप्त नहुनु र पैसा कमाउनै पर्ने र निरन्तर काम पाउनैपर्ने बाध्यताका कारण अन्तराष्ट्रिय विद्यार्थीहरु श्रम शोषकहरुको चङ्गुलमा फस्ने गरेको र काम गर्दा पाउनुपर्ने न्युनतम् ज्याला पनि नपाउने गरेको, नराम्रो वातावरणमा काम गर्नु परेको तथा मानसिक यातनालगायतका समस्याहरु भोग्न परेको अन्तराष्ट्रिय विद्यार्थी काउन्सिलकि अद्यक्ष नीना खुराना बताउछिन् ।

यसैगरी अन्तराष्ट्रिय विद्यार्थीहरुलाई कानुनी परामर्श दिने संस्था ‘एन्टी स्लेभरी अष्ट्रेलिया’की जेनिफर बनले अन्तराष्ट्रिय विद्यार्थीहरु चर्को जीविका खर्चका कारण रोजगारदाताको पकडमा रहने गरेको बताएकी छन् । काम छोड्दा कमाई गुम्ने र कमाई गुमेपछि जीविका गर्न कठीन हुने भएका कारण अन्तराष्ट्रिय विद्यार्थीहरु उनिहरुको पकडमा रहिरहने उनको तर्क छ । कतिपय रोजगारदाताहरुले विद्यार्थीको राहदानीसमेत आफुसँगै राखेर श्रमशोषण गर्ने गरेको पनि कानुनी परामर्षका दौरान आफुहरुले थाहा पाएको बनको अनुभव छ उनको । केही समयअघि seven11अष्ट्रेलियाको ABC टेलिभिजनले गरेको अनुसंधानका क्रममा ७/११ पसलहरुले गर्नेगरेको श्रमशोषणको पर्दाफास भएको थियो । उसले आफ्नो नाफा बढाउनका लागी विद्यार्थीहरुलाई कम ज्याला दिने गरेको तथा सरकारको कारवाहीवाट बच्न कानुन अनुसार न्युनतम ज्याला बैंकबाट पठाई विद्यार्थीहरुबाट सहमति भएको भन्दा बढी हुन आएको पैसा क्यासमा फिर्ता लिने गरेको खुलेको थियो । बनले यस्तो कार्य घृणित त निन्दनीय भएको बताईन । ‘युनाइटेड भोइस’ नामको एक संस्थाले गरेको सर्वेक्षणअनुसार ७/११ पसलहरुमा साठ्ठी प्रतिशत बढीले न्युनतमभन्दा कममा र केहीले त प्रतिघण्टा १० डलरभन्दा कम ज्यालामा काम गरिरहेको खुलेको छ ।

फेयर वर्क अष्ट्रेलियाका अनुसार हालको अष्ट्रेलियाको न्युनतम् पारिश्रमिक १७.२९ डलर प्रतिघण्टा रहेको छ । उक्त रकमभन्दा कम ज्यालामा कुनैपनि काम गर्न लगाउनु गैरकानुनी हो ।

यसखालको शोषणमा अन्तराष्ट्रिय विद्यार्थीहरु पनि त्यतिकै दोषी रहेको अन्तराष्ट्रिय विद्यार्थी काउन्सिलकि अद्यक्ष नीना खुरानाको दाबी रहेको छ । उनी भन्छिन, “एक त अन्तराष्ट्रिय विद्यार्थीहरुलाई श्रम-शोषण भएमा कहा गएर उजुरी गर्ने भन्ने ज्ञानको कमी छ भने कानुनी उपचार खोज्न गएमा आफनो भिषामा समस्या पर्ने भ्रम छ ।“

यसरी विद्यार्थीहरुकै मौनताका कारणले ७/११ ले जस्तै अन्य कैयौं रोजगारदाताहरुले विद्यार्थीहरुलाई ठगिरहेको अनुमान धेरैले गरेका छन् ।

Fair Work Australia.

अन्तराष्ट्रिय विद्यार्थीहरुलाई कुनैपनि किसिमको श्रम शोषण भएको खण्डमा ‘फेयर वर्क अष्ट्रेलिया’ले रोजगारदातासँग जस्तोसुकै लडाईपनि लडिदिने छ । फेयरवर्क अष्ट्रेलियाको वेभ-साइट(www.fairwork.gov.au) मा छब्बिस फरक भाषाहरुमा जानकारीहरु उपलब्ध रहेका छन् । यसरी उजुरी गर्ने कुनैपनि विद्यार्थीले भिषा कण्डिसन ब्रिच नै गरेको खण्डमापनि अनुसंधानमा सहयोग पुर्याए, इमिग्रेसनसँग आग्रह गरी उनीहरुलाई सकेसम्म असर नपर्नेगरी कारबाहि अघि बढाईने ‘फेयर वर्क अष्ट्रेलिया’ कि टोडलले बताएकि छन् । यसरी उजुरीगर्दा  लिखित प्रमाणहरु हेरिने/खोजिने भएकाले सकेसम्म त्यस्ता प्रमाणहरुको संकलन र सुरक्षित तरीकाले राख्ने गर्नुपर्दछ ।

यसैगरी साउथ अष्ट्रेलियामा ‘योगं वर्कर लिगल सर्भिस’ भन्ने सस्थाले पनि बिना शुल्क शोषणमा परेका कामदारहरुको पक्षमा कानुनी लडाई लडिदिने गरेको छ ।

(माथीका घटनाहरु वास्तविक भएपनि नामहरु काल्पनिक हुन । कसैसँग नाम मेल खानगइ कुनै असुविधा पर्न गएको खण्डमा क्षमापार्थी छौं ।)


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading