ताजा खवरहरु:

मेगा बैंकमा ठूलो घोटाला

१६ अक्टोबर २०१५, काठमाण्डौ- कर्पोरेट गभर्नेन्सको आदर्शवादी कुरा गर्दै ‘नेपाल यसरी बनाउनुपर्छ’ भनेर भाषण छाट्ने मेगा बैंक नेपालका सिईओ अनिलकेशरी शाहले नेतृत्व गरेको बैंकभित्र भएको किर्ते काम र अनियमितताको अर्को फेहरिस्त ‘सेयर बजार’ले फेला पारेको छ । माओवादीबाट एक्लै बाहिरिएका डा. बाबुराम भट्टराईले खोल्न लागेका ‘नया शक्ति’वाला पार्टीको संस्थापक बन्न लागेका सिईओ शाहकै नेतृत्वमा बैंकभित्र कतिसम्म हेलचेक्र्याइ र किर्ते काम भएको रहेछ भन्ने कुराको प्रमाण राष्ट्र बैंकले केहीअघि गरेको निरिक्षणबाट खुलाशा भएको छ ।

संविधानसभाको सदस्य समेत रहेका मेगा बैंकका सञ्चालक डा. दुमन थापा र सिईओ शाहको मिलेमतोमा किर्ते हस्ताक्षर गरी सरकारी बजेट समेत बैंक सञ्चालक डा. थापाको व्यक्तिगत खातामा सारी झ्वाम पारेको तथ्य राष्ट्र बैंकले फेला पारेको छ । अर्घाखा“चीको सन्धीखर्कमा रहेको बैंकको शाखामा रहेको बिभिन्न संस्थाको खातामा रहेको रकम किर्ते हस्ताक्षर गरी काठमाडौंको मुख्य शाखामा रहेको सञ्चालक दुमन थापाको खातामा सार्ने कार्यमा सिईओ शाहको समेत संलग्नता रहेको खुलाशा भएको छ ।

  • किर्ते कागज र हस्ताक्षरबाट ‘सरकारी बजेट’ नै सञ्चालकको खातामा सारियो
  • उच्च व्यवस्थापनलाई बाईपास गरी सिईओद्वारा एकलौटी रुपमा अर्बौ कर्जा बितरण
  • कपिल राणाको नाममा बिना धितो व्यक्तिगत ९ करोड कर्जा दिइयो
  • डा. थापाले चेकमा किर्ते गरेर झिकेको रकम उठाउन अर्को किर्ते कर्जा
  • पटक पटक चेक बाउन्स काण्डमा परेका अबैध सञ्चालक
  • जनता बैंकले पठाएको कालोसूची पत्र नै लुकाईयो

यसअघि ३ जनाको अनिवार्य हस्ताक्षरबाट चल्ने खाताबाट २ जनाको मात्र हस्ताक्षर गरी डा. थापाले मेगा बैंकबाटै ३० लाख रुपैंया झिकेका थिए । पछी अर्को हस्ताक्षरकर्ताले राष्ट्र बैंकमा उजुरी गरेपछी सो घट्नाको खुलाशा भएपनि बैंकिङ कसुरमा कारवाही हुनुपर्ने उनीमाथि रकम फिर्ता गरेकै भरमा छुट दिइएको थियो । नेपाल सरकारको बजेट तथा बिभिन्न एनजिओको अनुदानमा निर्माण हुन लागेको बिभिन्न खानेपानी परियोजनाको नाममा रहेको खाताबाट डा. दुमन थापाले आफुले बजेट पारिदिएको भन्दै ति योजनाबाट जनही ५ लाखका दरले कमिशन लिनका लागि जबर्जस्ती किर्ते कागजात तयार पारी रकम झिकेका हुन । अर्घाखाचीको बिभिन्न स्थानमा रहेको खानेपानी परियोजना उपभोक्ता समितिको खाताबाट किर्ते हस्ताक्षर गरी सामान्य सादा कागजमा निवेदन दिएको भरमा मेगा बैंकले बिभिन्न ८ वटा संस्थाको खाताबाट ४० लाख रुपैंया डा. थापाको खातामा सारिदिएको खुलाशा भएको छ । डा. थापाले सो रकम तत्काल झिकेको र यसरी अनियमित रुपमा गैरसरकारी संस्थाको खातामा रहेको रकम अर्को व्यक्तिको खातामा सारेर अनियमितता गर्ने कार्यमा संलग्न सिईओ शाहसहित अन्य कर्मचारीमाथि समेत कुनै कारवाही भएको छैन ।

यसरी गरियो घोटाला

राष्ट्र बैंकको टोलीले भर्खरै गरेको अनुसन्धानमा अर्घाखाचीको बिभिन्न ८ वटा खानेपानी परियोजनाको नाममा एउटा सादा कागजमा ‘रकम ट्रान्सफर गरिदिनुहोला’ भन्ने निवेदनको घरमा आठवटा संस्थाको खाताबाट ५/५ लाखका दरले झिकी डा. थापाको नाममा रहेको ‘माउन्टेन रिसोर्स म्यानेजमेन्ट ग्रुप’ नाम संस्थाको खातामा ४० लाख सारिएको थियो । जबकी सामान्य रुपमा पनि संस्थाको पत्रमा लेटरप्याडमा छापसहितको आधिकारिक हस्ताक्षर हुनुपर्छ । तर, डा. थापाको नाममा रकम सारेर झिक्नका लागि दिइएको निवेदनमा ८ वटा संस्थाले एउटै सादा कागजमा संयुक्त निवेदन लेखेको, खाता सञ्चालकहरुको समेत पुरा हस्ताक्षर नभएको, ति संस्थाहरुको छाप समेत नक्कली हानिएको, संस्था दर्ता पत्र नै नभएको र संस्थाको सञ्चालक समितिको निर्णय नै नभई रकम झिकिएको पाइएको छ । यसरी किर्ते कागजातबाट रकम झिकिएका संस्थाहरुमा भट्टेखोरिया खानेपानी उपभोक्ता संस्था, घोष बर्दबास खानेपानी उपभोक्ता समिति, खन देउपुजे खानेपानी उपभोक्ता संस्था, अरबुन खानेपानी उपभोक्ता संस्था, छङछङे करचापे मुस्लेघाट खानेपानी उपभोक्ता संस्था, सिस्ने दर्लामचौर खानेपानी योजना, उदिनढुङ्गा सफल खानेपानी तथा सरसफाई योजना र जुकेखोली मडेलचौर खानेपानी उपभोक्ता संस्था छन् । यसरी किर्ते कागज तयार पार्ने क्रममा डा. थापाले भट्टेखोरिया खानेपानी उपभोक्ता समितिको खाता ३ जनाको अनिवार्य दस्तखतमा सञ्चालन हुनुपर्नेमा २ जनाको मात्र हस्ताक्षर गरी रकम झिकेका छन् । सो खातामा धर्मराज भुषालको पनि अनिवार्य हस्ताक्षर भएरमात्र रकम झिक्न मिल्नेमा उनको हस्ताक्षरबिना नै रकम झिकेर डा. थापाको खातामा हालिएको छ । त्यस्तै जुकेखोली मडेलचौर खानेपानी उपभोक्ता संस्थाको छाप नमिल्ने गरी नक्कली बनाइएको प्रष्ट देखिन्छ भने अन्य संस्थाहरुको छाप पनि नबुझिने गरी अस्पष्ट रुपमा हानिएको अनुसन्धानमा देखिएको छ । अझ अन्य संस्थाहरुको त अत्यावश्यक कागजात समेत नभएको र संस्थाको बैठकको निर्णय समेत नभएको फेला परेको छ ।

उनको खाता नै अनियमित डा. थापाले आफ्नो अनियमित कामको लागि उपयोग गर्ने गरेको खाता ‘माउन्टेन रिसोर्स म्यानेज्मेन्ट ग्रुप’को हो । यो डा. थापाले डलर भित्र्याउने ‘प्राईभेट कम्पनी’ हो । तर, उनले गैरसरकारी संस्थाको रुपमा दर्ता गरेका छन् । सो संस्थाको बिधानमा अध्यक्ष र कोषाध्यक्षको नाममा खाता सन्चालन हुने लेखिएको भए पनि मेगा बैंकले बिधानविपरित अध्यक्ष रहेका डा. थापाको नामबाट एकल सञ्चालन हुनेगरी खाता खोलिदिएको छ । मेगामा खाता खोल्नको लागि कतिसम्म हेलचेक्र्याइ गरिएको छ भने संस्थाको खाता खोल्ने निर्णयको माइन्यूट कपी बैंकमा पेश गरिएको छ तर ७ जना सन्चालक समितिका सदस्यमध्ये अध्यक्ष थापाबाहेक अरु कसैको पनि हस्ताक्षर छैन । यो निर्णय २०६८ साउन ४ गतेको मितिमा भएको बिवरण बैंकमा पेश गरिएको छ । मेगा बैंकले सञ्चालकको संस्थाको खाता खोल्दा संस्थाको दर्ता प्रमाणपत्र र अडिट रिपोर्ट समेत लिएको छैन । यस्तै कार्यसमितिको बिवरण र नागरिकता तथा फोटोजस्ता सामान्य कागजातबिना पनि खाता खोलेर अनियमितता गर्ने छुट दिइएको पाइएको छ । सांसदको सफेद झुठ मेगा बैंकको सञ्चालक समितिको २०७१ पुस ६ गते बसेको बैठक नं. १०७ ले सञ्चालकहरु, उनीहरुका परिवार र संलग्न संघसंस्था/कम्पनीको नाममा सो बैंकमा खोलिएको खाताको बिवरण बैंकमा स्वघोषणा गरि बुझाउने निर्णय भएको थियो । तर, सो निर्णय अनुसार अध्यक्षसहित ९ जना सञ्चालकमध्ये भोजबहादुर शाह र डा. दुमन थापाले समेत बिवरण बुझाएका थिए । अन्य ७ जना सञ्चालकले कुनै बिवरण बुझाएनन् । तर, अचम्मको कुरा के छ भने बिवरण बुझाएका डा. थापाले झुठ बिवरण पेश गरेको तथ्य फेला परेको छ । उनले आफैले मेगामा बुझाएको बिवरण बाहेकको पनि थप ८ वटा संस्थाको खाता मेगा बैंकमा नै खोलिएको फेला परेको छ । यसरी आफैले निर्णय गरेको बिषयमा बुझाएको बिवरणमा झुठ कुरा लेख्ने उनीजस्तो व्यक्ति अहिले सभासद पनि छन् ।

उनलाई किन छुट ?

मेगाका सञ्चालक दुमन थापालाई नेपाल राष्ट्र बैंकले पनि आफ्नो नियमविपरित छुट दिइरहेको तथ्य फेला परेको छ । नियमानुसार कुनै पनि बैंक तथा वित्तिय संस्थाका सञ्चालकहरु लगातार ३ वटा बैठकमा बिना जानकारी अनुपस्थित भएमा स्वतः पदमुक्त हुने प्रावधान छ । सोही नियम अनुसार थुप्रै बैंकमा थुप्रै सञ्चालकहरु पदमुक्त भएको उदाहरण पनि छ । तर, मेगामा भने डा. थापालाई बिना जानकारी ४ वटा बैंठकमा लगातार अनुपस्थित हुँदा पनि उनको पद कायमै छ । बैंक सञ्चालक समितिको माइन्यूट अनुसार बैठक नं. १०५ देखि १०८ सम्म डा. थापा लगातार अनुपस्थित भएको देखिन्छ । यसरी उनी अनुपस्थित भएपछी स्वतः पदमुक्त हुने भए पनि उनलाई पदमुक्त भएको जानकारी नदिई त्यसपछी उनलाई पुन सन्चालकमै कायम राखिएको छ । यस बिषयमा राष्ट्र बैंकले समेत कुनै कारवाही गरेको छैन । राष्ट्र बैंकले यस बिषयमा प्रष्टिकरण मागेपछी डा. थापाले पुरानो मितिमा एउटा पत्र बनाई आफु बिरामी भएको भन्दै २ वटा बैठकमा आउन नसकेको जानकारी दिएको व्यहोरा कम्पनी सचिबलाई उपलव्ध गराएका छन् । तर, माइन्यूटमा भने उनी अनुपस्थित रहेको र कुनै जानकारी प्राप्त नभएको ब्यहोरा नै उल्लेख छ । यसर्थ उनलाई जोगाउन कम्पनी सचिबले पनि किर्ते काम गरेको प्रष्ट छ ।

यसरी खाएका थिए ३० लाख सिईओ शाहसगको मिलेमतोमा

सञ्चालक थापाले एक लाखभन्दा बढी सर्बसाधारण र झण्डै १३ सय संस्थापकको सेयर रहेको मेगा बैंकलाई आफ्नो निजी कम्पनीसरह चलाइरहेका छन् । यसमा उनलाई साथ दिन सञ्चालकहरु गोपाल खनाल र मदन आचार्यहरुले व्यक्तिगत फाईदा लिई अनेकौ अनियमितता गरेका छन् । कतिसम्म भने खाता सञ्चालक विदेशमा भएको बखत उनको हस्ताक्षर बिना नै लाखौं रकम निकालेर सञ्चालक थापाले खाईदिएको तथ्य सार्वजनिक हु“दा समेत उनीमाथि कुनै कारवाही भएन । आफ्नै साझेदारसंगको रकम ठग्नका लागि समेत डा. थापाले बैंकलार्इं दुरुपयोग गरेको पाइएको छ । मेगा बैंकमा रहेको ओमसाई कन्ट्रक्सन प्रालिको नामको खाताको सञ्चालक ३ जना छन् । जसमा डा. थापा पनि एक हुन् । खाताको सञ्चालन ३ जनाकै अनिवार्य हस्ताक्षरबाट हुनुपर्नेमा अर्का हस्ताक्षरकर्ता होमनाथ गौतमको हस्ताक्षर समेत नगरी डा. थापाले सो खाताबाट ३ पटक १० लाखका दरले गरी ३० लाख रुपैंया आफ्नो खातामा सारेका थिए । उनले सो रकम एकैदिन आफ्नो कम्पनी ‘हाईल्याण्ड माईनिङ प्रालि’को नाममा सारेका थिए । यसरी बैंकका भएको किर्ते काममा सिईओ शाहको समेत मिलेमतो रहेको पाइएको छ । तर, सो काण्डबारे एक बर्ष नाघिसक्दा पनि कुनै वास्ता भएन । जब अर्का सञ्चालक होमनाथ गौतमले आफ्नो हस्ताक्षरबिना कसरी रकम झिकियो ? भन्दै बैंक र राष्ट्र बैंकमा समेत उजुरी गरेपछी मात्र सो काण्डको खुलाशा भएको थियो । तर, यो काण्डमो छानवीन गर्न आफै दोषी रहेका सिईओ शाह नै छानबीन समितिमा बसेर नाटक गरेका थिए । अर्को नौटंकी त के छ भने सञ्चालक थापाले नै किर्ते गरिएको सो काण्डको बिषयमा निर्णय गर्न २०७१ माघ ५ गते बसेको बोर्ड बैठकमा डा. थापा आफै उपस्थित भई ‘यस्तो घट्ना दोहोरिन नदिन’ भन्दै व्यवस्थापनलाई निर्देशन दिइएको पाइएको छ । आफै झा“क्री र आफै बोक्सी हुने अनि आफैले आफैलाई सफाई दिई अब यस्तो नगर्न निर्देशन दिने ‘आर्टलेस ड्रामा’ (कलाबिहीन नाटक) मेगा बैंकमा बाहेक अन्यत्र हुनै सक्दैन । यस काण्ड लुल्टाउन सिईओ शाहले गरेको अर्को नाटक पनि अचम्मकै छ । सञ्चालक थापाबाट किर्ते गरेर झिकिएको सो रकम असुल नभएपछी बैंकले डा. थापाको नाममा ‘रिसिभेवल’ (असुल गर्न बाँकि ) शीर्षकमा ऋण देखाएर रिसिभेवल कस्टमर एकाउन्ट खोलेर राखेको थियो । अनि बैंकले आफ्नै रकम ओमसाई कन्स्ट्रक्सनलाई तिरेको थियो । यसले के देखिन्छ भने, बैंकले सञ्चालक थापालाई ३० लाख ऋण दिएको प्रमाणित हुन्छ । कुनै पनि बैंकले आफ्नै सञ्चालकलाई कर्जा दिनु भनेको गम्भीर बैंकिङ कसुर मानिन्छ । तर, सिईओ शाहले यस्तो अपराध गर्दा पनि उनीमाथि राष्ट्र बैंकले कारवाही गरेको छैन ।

चेक बाउन्समा उन्मुक्ति

ठुलो पार्टीको सांसद र एउटा बैंकको सञ्चालक समेत भएका व्यक्तिले अर्को बैंकबाट लिएको कर्जाको ब्याज तिर्न पटक पटक झुठो चेक पेश गर्दा पनि कारवाही भएन । अझ बैंकले उनलाई कालोसूचीमा राखेर कारवाही गर्न पत्र पठाउ“दा पनि मेगा बैंकले सबै कागजात लुकाएर बैंकिङ कसुरलाई जोगाएको तथ्यको खुलाशा भएको छ । सञ्चालक थापाको नाममा रहेको कम्पनी हाईल्याण्ड माईनिङ प्रालिले जनता बैंक नेपालबाट २ करोड कर्जा लिएको थियो । तर लामो समयदेखि व्याज समेत नतिरेका थापाको नाममा बैंकले पटक पटक पत्रिकामा सुचना समेत निकालेको थियो । त्यसपछी थापाले कर्जाको व्याज तिर्नका लागि मेगा बैंकको चेक भुक्तानीस्वरुप जनता बैंकमा बुझाएका थिए । तर, सो खातामा व्यालेन्स नभएका कारण चेक बाउन्स भयो । जनता बैंकले ३ पटक भुक्तानीका लागि क्लिएरिङमा पठाउ“दा पनि ब्यालेन्स नभएको भन्दै फिर्ता आएपछी जनता बैंकले उनलाई कालोसुचीमा राखि जानकारी पठाउन पत्र लेखेको थियो । जनता बैंकले पत्र लेखेपछी कालोसूचीमा राखी जानकारी दिनुपर्ने भए पनि मेगा बैंकले पत्र नै लुकाएर चुपचाप बसेको थियो । अर्को बैंकको कर्जा भुक्तानी गर्न मौज्दात नै नरहेको आफ्नो खाताको चेक दिनु र पटक पटक ३ पटक बाउन्स हु“दा पनि रकम नतिरेर कालोसुचीमा समेत नराख्नु मेगा बैंकको गम्भीर अपराध मानिएको छ । चेक बाउन्सलाई बैंकिङ कानुनले समेत गम्भीर किसिमको अपराध मानि तत्काल पक्राउ गरी थुनामा राख्ने गर्दै आएको छ । तर, मेगाका सञ्चालक थापाले भने यस काण्डमा पटक पटक उन्मुक्ति पाएका छन् । उनलाई जोगाउनका लागि सिईओ शाहले ‘बैंकिङ नम्र्स’ बिपरीत काम गरेकोमा राष्ट्र बैंकले उनलाई समेत कारवाही गरेको छैन । जबकी उनीहरुको मिलेमतोमा सधैं यस्तो अनियमितता हुने गरेको छ । अर्घाखा“चीबाट एमाले उमेदवारको रुपमा सभासद जितेका थापाले निर्वाचनमा गरेको खर्चवापत भन्दै बिभिन्न व्यक्तिलाई दिएको मेगा बैंकको चेक व्यालेन्स नभएर बाउन्स भएको थियो । अहिले पनि सन्धीखर्कको एकजना पौडेलले चलाएको होटलदेखि पेट्रोल पम्प र बिभिन्न कारोवारमा उनले लाखौं रुपैंया तिर्न बा“की छ । पौडेलको होटलमा उनले २ बर्षअघि चुनावमा खाएको ७ लाख बराबरको खानाको बिल अझै नतिरेकोमा उनले पटक पटक गुनासो गरेका छन् ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading