ताजा खवरहरु:

सर्वसाधारणको स्वास्थका योद्दा डा. केसीको स्वास्थ गम्भिर

gkc२९ अगष्ट २०१५, काठमाडौं-चिकित्सा शिक्षा विकृतिविरुद्ध पाँच दिनदेखि आमरण अनशन बसेका त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गएको छ।

पटक–पटकको अनशनका कारण गलेका उनको अनशनको पाँचौँ दिनमै मुटुको धड्कनमा गडबडी हुनुका साथै अक्सिजनको मात्रासमेत निकै कम भएको छ। चिकित्सकहरूले अक्सिजन दिनुका साथै मुटुको चाल नाप्नका लागि मोनिटर जडान गरिसकेका छन्।

पाँचौँ दिनसम्म पानीसमेत नपिएका केसीलाई तेस्रो दिनदेखि नर्मल स्लाइनमात्रै दिइएकाले महत्वपूर्ण संकेतसमेत नराम्रा देखिन थालेका छन्। तेस्रो दिनदेखि नै रिंगटा लाग्ने, मांशपेसी बाउँडिने समस्या देखिएको थियो। पिसाबको मात्रासमेत कम हुन थालेको छ।

चिकित्सकका अनुसार खाना नभएको अवस्थामा शरीरमा सञ्चित ऊर्जासमेत घटेर पिसाबमा एसिटोन बडी पोजेटिभ देखिन थालिसकेको छ। यसले मुटुको चालसँगै श्वासप्रश्वासका लागि चाहिने ऊर्जासमेत अभाव भएका कारण केसीलाई अक्सिजन दिन थालिएको हो। शिक्षण अस्पतालका चिकित्सक डा.वाइपी सिंहले केसीको अवस्था जुनसुकै समय जे पनि हुनसक्ने अवस्थामा पुगिसकेको बताए। ‘उहाँमा जति आत्मबल छ, त्यसले मात्रै धेरै दिन टिकाउन गाह्रो छ,’ उनले भने, ‘उहाँको स्वाथ्य रक्षाका लागि हामीसँग मुस्किलले केही घन्टामै प्रयास नगरी हुन्न।’

खाना नखाएका कारण ऊर्जा घटेकाले महत्वपूर्ण अंग सञ्चालनमा अप्ठेरो परेको छ। अक्सिजनको मात्रासमेत घटेकाले जुनसुकै समय ब्रेनमा अक्सिजन अपुग भएर महत्वपूर्ण पार्ट नष्ट हुनसक्ने जोखिम चकित्सकले औँल्याएका छन्।

मुटुको धड्कनमा देखिएको गडबडीले महत्वपूर्ण अंगहरुमा अक्सिजनको मात्रा घटाउँछ। अहिले शरीरमा पाटासियामलगायत सूक्ष्म पोषक तत्वको समेत अभाव देखिन थालेको छ। जसका कारण चेतना कम हुने र समय–समयमा कहाँ छु कहाँ भनेजस्तो हुने समस्या सुरु भएको छ।

मुटुको धड्कनसँगै रक्तचापसमेत केही कमी भएकाले चिकित्सकले त्यसका करण मिर्गौलामा रक्तसञ्चार कमी भई मिर्गौला फेल हुने जोखिमसमेत रहेको बताएका छन्।

अहिले शरीरले कार्यप्रणाली सञ्चालनका लागि अन्य तरिकाबाट आफ्नै बडीलाई खाइरहेको हुनाले अम्लीयपन अधिक हुनाले रक्तचाप बिस्तारै घट्न थालेको हो। यो क्रम जारी रहेमा जतिसुकै बेला कोल्याप्सको अवस्थामा पुग्नसक्ने चिकित्सकले जनाएका छन्।

पानीका लागि नर्मल स्लाइन लिएका डा.केसीले औषधि र ग्लुकोज लिन मानेका छैनन्। उनले आफू होसमा छँदासम्म कुनै पनि उपचार नगर्न चिकित्सकलाई आग्रह गरिसकेका छन्।

स्वास्थ्य अवस्था गम्भीर बन्दै गए पनि सरकारले वार्ताबाट समस्या समाधानका लागि कुनै प्रयास नगरेको अस्पतालका रेजिडेन्ट चिकित्सकका अध्यक्ष डा.रामचन्द्र सापकोटाले बताए। दोस्रो दिन एउटा पत्र बोकेर आएका सरकारी अधिकारीले औपचारिकताका लागि माग पूरा गर्ने क्रममा रहेको भन्दै अनशन तोड्न आग्रहसहित गरेयता कोही सरकारी अधिकारी फर्किएका छैनन्।

अक्सिजन मास्क जोडिरहेका डा.केसीले मन्द स्वरमा सरकार माफियाको चंगुलबाट बाहिर आउनसक्ने अवस्थामा नरहेको बताए। उनले आफूले अन्तिम सास छउन्जेल सत्यका लागि लडिरहने प्रण गरेरै अप्ठेरो बाटो रोजेको बताए। ‘म एउटाले दुःख पाउँदा धेरै नेपालीले सुख पाउने अवस्था बन्छ भने मेरो शरीर केही हैन,’ उनले भने।

डा.केसीले अहिले पनि सरकार आफैँले बनाएको माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयनबाट पछाडि हटेको बताए। ‘सरकारका मन्त्रीहरु नै तिनै मेडिकल माफियाको संरक्षण गरिरहेका छन्, ‘ उनले भने, ‘यस्तो अवस्थामा गठबन्धन सरकारका प्रधानमन्त्री निरीह भएको मैले राम्ररी बुझेको छु।’

उनले आफूलाई धेरै सञ्चारकर्मी र शुभेच्छुकले प्रतिवेदन कार्यान्वयनका लागि दबाब दिने समय अनुपयुक्त भो कि भन्ने जिज्ञासा राखेको भन्दै डा.केसीले चार वर्षदेखि नै यो अभियान छेडेकाले नयाँ रूपमा नबु‰न आग्रह गरे। ‘अहिले यो प्रतिवेदन कार्यान्वयन भएन, उपकूलपतिलगायत पदाधिकारी नियुक्तिमा सिस्टम बसेन भने आउने चार वर्ष पनि व्यर्थ हुनेछन्।’

उनले कार्यदलको प्रतिवेदन तुहाएर यसै शैक्षिक सत्रदेखि सिट र शुल्क लागू हुन नदिन मेडिकल कलेजका सञ्चालक ‘ब्रिफकेस बोकेर दौडिरहेको भन्दै’ आफूले अनशन नगरे उपलब्धि गुम्ने र प्रतिवेदन तुहाउन चाहनेले चाहेजस्तै हुने डा.केसीको बुझाइ छ। ‘अहिले विभिन्न बहानामा यो प्रतिवेदन तुहाउन खोजिँदैछ, यही बेला नबोल्ने हो भने उपलब्धि गुम्छ,’ उनले भने।

कार्यदल बनाउने बेला कार्यान्वयनको पूर्ण तत्परता देखाउने प्रधानमन्त्री नै अहिले पछाडि हटिरहेको देखेरै पनि आमजनताले अनुमान लगाइसकेको उनको भनाइ छ। ‘त्यति प्रतिष्ठित व्यक्तिले दिएको प्रतिवेदनमा प्रशासनका मान्छेले काँटछाँट र मूल्यांकन गरेर महत्वपूर्ण सुझाव हटाए,’ उनले भने, ‘यसले स्पष्ट हुन्छ माफिया कति पहुँचशाली र बलिया छन् अनि सरकार कति निरीह छ।’

पटक–पटक अनशनमा बसेर सुझाए पनि सरकार माग कार्यान्वयनमा पछाडि हट्ने गरेपछि डा.केसी आफ्नै सहकर्मी र शुभेच्छुकको सुझावविपरीत छैटौँ अनशन बसेका हुन्। उनले एक महिनाअघि नै सरकारलाई पटक–पटक अल्टिमेटम दिए पनि सरकारले प्रतिवेदन नै अपांग पारेर कार्ययोजना बनाएको भन्दै उनी सोमबारदेखि अनशनमा छन्।

उनले माथेमा प्रतिवेदन कार्यन्वयनसँगै, उपकुलपति नियुक्ति भागबण्डा हुन नहुने, चोरबाटोबाट केयुले दिएको सम्बन्धन स्थगन गरी छानबिन र विद्यार्थीको व्यवस्थापन हुनुपर्नेलगायत ८ सूत्रीय महत्वपूर्ण माग अगाडि सारेका छन्। केसीलाई चिकित्सक संघ, केयु प्राध्यापक संघ, रेजिडेन्ट विद्यार्थी एशोसियनलगायतका थुपै संस्थाले मागमा ऐक्यवद्धता जनाइसकेका छन.। अनशनप्रति समर्थन र ऐक्यबद्धता जनाउन शुक्रबार पनि थुपै सर्वसाधारणसमेत त्रिवि शिक्षण अस्पताल गइरहेका छन्।

 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading