ताजा खवरहरु:

के प्रवासी नेपाली दरिद्र नै भएका हुन त? सन्दर्भ एनआरएन चुनाव

-मिलन दाहाल

प्रवासी नेपाली समुदाय यसबेला निकै व्यस्त छ, भूकम्पपीडित नेपालीका लागी सहयोग जुटाउन । यसै व्यस्तताका बीचमा पनि चर्चाको शिखरमा एउटा कुरा छ, "एन. आर. एन"  निर्वाचन । "एन. आर. एन" के हो ? के का लागी हो ? कस्का लागी हो ?   एन आर एन ले के गर्नुपर्छ ? यसका लागी एन. आर. एन. मा कस्ता मान्छे हुन जरुरी छ ? भन्ने कुरा महत्वपुर्ण पक्ष हो ।

के हो एनआरएन ?

एनआरएनको पुरा रुप Non-Resident Nepali Association हो, यो प्रवासमा रहेका नेपाली विविधताहरुलाइ एकिकृत गर्ने उद्देश्य लिएर स्थापन भएको बिदेशमा बस्ने नेपालीहरुको एक छाता संगठन हो । इ. स. २००३ मा स्थापना भएको यो संस्था आजसम्म आइपुग्दा बिश्वभरबाट  नेपाली समुदायको प्रतिनिधित्व गर्ने एउटा अन्तराष्ट्रिय संस्थाको रुपमा स्थापित भएको छ ।  देश गुमाएर विश्वको जुनसुकै कुनामा बसोबास गरेपनि  नेपालीहरु आफ्नो परिचय बोकेको र हृदयको केन्द्रमा भएको खास जन्मथलोलाई भुल्न सक्दैनन्  । आफ्नो

परिचय बोकेको देश र त्यहाका बासिन्दालाइ परेको बखतमा सहयोग गर्नु आफ्नो कर्तव्य ठान्छन र यसरी गरिने सहयोगको अवसरलाइ धन्य हुने मौकाका रुपमा लिन्छन । यसरी नेपाल र नेपालीको हकहीतका लागी स्थापित संस्थाको उद्देश्यलाइ एक बाक्यमा भन्नुपर्दा- “नेपालीका लागी नेपाली द्वारा” भन्ने गरिन्छ ।

एनआरएन के का लागी हो ?

संक्षेपमा प्रवासका नेपालीहरुलाई एकिकृत गर्दै  उनिहरुको हकहीतको संरक्षण तथा प्रवर्दन  गरेर एक छायामा बाँध्ने  लक्ष भएको यस संस्थाका केही बिशिष्ट रणनितिक उद्देश्यहरु रहेका छन, जसलाइ बुदागत रुपमा यसरी बुझ्न सकिन्छ;

  • प्रबासमा बस्ने नेपालीहरुको हकहीतको संरक्षण तथा प्रबर्दन गर्ने,
  • प्रवासमा बस्ने नेपालीहरुको बीचमा सेतुको काम गर्ने तथा समुहिक कामहरु गर्नका लागी एउटा संयुक्त थलोको आवश्यकता पुर्ति गर्ने
  • प्रवासि नेपाली को लगानी तथा Foreign Direct Investment (FDI) लाई नेपालको आर्थिक र सामाजीक बिकासमा आकर्षण र प्रोत्साहन गर्ने
  • नेपालको पर्यटनको बिकास गर्दै नेपाली कला-संस्कृती र सांस्कृतीक सम्पदाहरुको संरक्षण गर्ने
  • नेपालको आर्थीक-समाजीक बिकासका लागी प्रवासी नेपालीहरुको ज्ञान, सीप, पुजी लगायतका अन्य स्रोतहरु परिचालन गर्ने

एनआरएन कस्का लागी हो ?

एनआरएन अर्थात गैर आवासीय नेपाली संघको उद्देश्यबाक्य अनुसार सोझै भन्न सकिन्छ, एनआरएन प्रवासी नेपालीहरुको हक-हीतको संरक्षणार्थ बनेको संस्था हो । अझ यसका उद्देस्यहरु हेर्दै जाने हो भने प्रबासी नेपाली र नेपालको समग्र आर्थिक समाजीक बिकाससँग संस्थाको आत्मिक सम्बन्ध रहेको पाइन्छ । तथापि, प्रवासबाट नेपालसम्म हात बढाउनका लागी प्राथमिक रुपमा प्रवासी नेपालीहरुको अवस्था सुदृढ हुनपर्ने भएकाले गैर आवासीय नेपाली संघको पहिलो केन्द्रबिन्दु भनेको बिदेसमा बस्ने नेपाली समुदाय नै हो ।

एन आर एन ले के गर्नुपर्छ ?

एनआरएनले त्यही गर्नुपर्छ, जे का लागी यो संस्था गठन भएको हो ।

संस्था के का लागी गठन भएको भनेर माथि उद्देश्यमा स्पस्टसंग लेखिएको छ । अर्थात प्रवासमा नेपालीहरुको हक-हीतको संरक्षण तथा प्रबर्दन गर्दै प्रवासीको ज्ञान, सीप तथा आर्थीक स्रोत-साधनको नेपालको आर्थिक-सामाजीक बिकासका निमित्त प्रयोग गर्नु ।

एन आर एन ले के गर्नुपर्छ, कस्ता बिषयमा सचेत रहेर के का लागी पहल गर्नुपर्छ  भनेर भन्नुपुर्ब हामी बिदेसीनुपर्ने कारणबारे हामीले सोच्नुपर्ने हुन्छ । आज हामी बिदेसमा आफ्नो योग्यतासँग संम्झौता गरेर हैसियतभन्दा निक्कै तलको काम गर्दै किन बस्नुपरिरहेछ ? देशका हरेक युवा आखामा बिदेस सजाएर बेरोजगार भौतारिरहनुपर्ने अवस्थाको सिर्जना कसरी भयो ? किन आज त्रिभुवन बिमानस्थलमा हरेक दिन ४-५ नेपाली लासहरु लामबद्द हुन बिवस छन् ?

यस्ता प्रश्नहरुको हामीले घोत्लिएर बिष्लेशण गर्यौ भने हामीले एउटै उत्तर पाउछौ, जनताप्रति अनुत्तरदायी राजनीति !

नेपालको राजनीति कस्तो छ भनेर हामीलाई भन्दा ज्यादा कसैलाई थाहा छैन, किनकि त्यही राजनीति हो जस्ले हामीलाइ हाम्रो मातृभूमीसँग, हाम्रा आत्मीयहरुसँग धेरै टाढाको यो मरूभूमीमा भबिष्य खोज्न बाध्य गराएको छ । हाम्रा सपना अनेक होलान, तर समस्या एकै हो, ब्याक्तीगत स्वार्थ हाबी भएको राजनीति ।

त्यसैले एन आर एनको उदेश्यमा कतै नलेखिएको, हामी सबैले मनन गर्नै पर्ने कुरा हो नेपालको राजनैतीक सुद्दिकरणमा पहल गर्ने, नत्र नेपालीत्व एकदिन लोप भएर जाने निश्चित छ ।

एन आर एन मा कस्ता मान्छे हुनुपर्छ ?

एन आर एनमा यस्तै  मान्छे हुनुपर्छ भन्ने कुनै नियम छैन र बिषेश योग्यता पनि कतै तोकिएको भेटीदैन, तर एन आर एन को उद्देश्य बुझेका तथा नेपाली समुदायको हक-हीतका लागी केही गरिरहेका तथा केही गर्न सक्ने मान्छे एनआरएनमा भएको खण्डमा यस संस्थाले आफ्नो उदेश्य हासिल गर्न सक्ने हो नत्र देशको राजनीति जस्तै एन आर एन पनि दिसाहीन हुने निश्चितप्राय छ र कतिपय ठाऊँमा यस्तो देखिएको पनि छ । अर्को कुरा एन आर एनमा बसेर समुदायप्रति अलिकतिपनि नसोच्ने पदाधिकारी एन आर एनमा हुदा उनका श्रीमति, शाला-शाली, भाइ, दिदी, बहिनी ले त साथ देलान तर समुदायमा नकारात्मक सन्देश गएर समग्रमा समुदायनै खण्ड‍-खण्डमा बिभाजित भइर जाने निश्चित हुन्छ । समुदायका प्राथमिकताहरु एकातिर थन्किएर जान्छन, एन आर एन आफ्नै तालमा हिड्न थाल्छ । अनि एन आर एन प्रवासी नेपालीको हक-हीतको काम गर्ने संस्थाको साटो दिशाबिहीन भएर जान्छ ।

तसर्थ, एनआरएनमा भाषण गर्न र अवसरको सदुपयोग गरेर आफुले ‘क्रेडिट’ लिन खोज्ने भन्दा पनि समुदायलाई राम्रोसँग बुझेको, समुदायको आवश्यकतालाई पहिचान गर्नसक्ने र सोही अनुरुप प्रबासी समुदायको परिचालन गरेर उक्त आवश्यकतालाई परिपुर्ती गर्नका लागी नेतृत्व लिनसक्ने हुनुपर्छ ।

आजकल हामी प्रवासी नेपालीका फोनका घन्टी एक बिशिष्ट कारणले बज्नथालेका छन । ‘हेलो, एन आर एन मा दर्ता हुनुभएको छ? छैन भने म दर्ता गराइदिन्छु, भोट मलाइ अथवा यो मान्छेलाई दिनपर्छ ।’

जम्मा एन आर एनमा दर्ता हुन लाग्ने शुल्क भनेको २० डलर हो, दुइबर्षका लागी । के सोचेर बिदेसिएका नेपालीहरु यसरी हेपिएका हुन, थाह छैन ?  २० डलर तिरेर आफै दर्ता हुन सक्ने हैसियत छैन प्रवासी नेपालीको भनौ भने अरु देशको कुरा छोडौ, अष्ट्रेलियाको हकमा सामान्य भन्दा सामान्य काम गर्दा पनि २० डलर भनेको १ घन्टाको कमाई हो । एक घन्टाको कमाईको पैसामा बेचिएर के प्रवासी नेपालीले आफ्नो हक-हीतका लागी लड्ने मान्छेको ठाऊमा एक आफ्नो कुनै स्वार्थ पुर्ती गर्न खोज्ने मान्छेलाई एन आर एनको पदाधीकारीका रुपमा ल्याउनु के उचित हो ?

पिता-पुर्खाले छोडेको गौरवमय गाथाबाहेक नया नेपाली पुस्ताले  विश्वको ध्यान खिच्नेगरी कुनै कार्य गर्न सकेको बिरलै कामहरु छन । जस्तो नेपाली क्रिकेट टोलीले क्रिकेटमा राम्रो प्रदर्षन गरेर केही हदसम्म नेपालको नामलाई चिनाउने काम गरेका छन । प्रवासमा बस्ने नेपालीले आफु बसेको ठाऊमा नेपालसम्बन्धी विश्वस्तरको कार्यक्रमहरु गरेर नेपालको पर्यटनमात्र प्रबर्दन गर्न सकेको खण्डमा नेपालले आर्थीक छलाङ मार्नसक्ने कुरामा कुनै दुइमत छैन । तसर्थ एन आर एनमा क्षमतावान मान्छेहरुलाई सामेल गराएर देशलाई आर्थिक विकासको दिशामा लिएर जानपर्ने बेलामा राजनितीक ‘लबिङ’ का आधारमा देश बिगारेर हामीलाई बिदेसिन बाध्य पार्ने राजनितीक दलका प्रतिनिधीहरुलाई २० डलरको मूल्यमा एन आर एन जस्तो प्रवासी नेपालीहरुको प्रतिनिधित्व गर्ने संस्थामा टहसिन दिनु के उचीत हो ? देशको राजनितीमा अन्धो बनेर हामी बिदेसिन बाध्य त भैसकेका छौ, अव एन आर एन प्रतिनिधीका रुपमा तिनै प्रतिनिधीलाई २० डलरमा भोट बेचेर जानका लागी हाम्रो अर्को कुन ठाऊ छ ? एकपटक गहिरिएर सोच्ने बेला भएको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading