भुकम्प नेपालमा जान्छ, चीरा पर्छ प्रवासी मनहरु

bhakta2लौ फेरि भूकम्प गयो, ७.१ रेक्टर स्केलको धेरै ठुलो लौ न फेरि के- के भयो ? बरबाद नै भयो नि हे भगवान् ! मुटु काप्न थाल्छ, असिनापसिना सबै थोक। हतारहतार मोबाईलबाट सम्पर्क गर्ने प्रयास अनवरत चल्छन्।

आमासँग कुरा भयो, फेरि बाबाको पत्तो छैन। आमालाई सोध्यो आत्तिदै भन्नु हुन्छ ….अघि सम्म यही हुनुहुन्थ्यो लौ न बाबा कता जानु भयो ? बल्ल बल्ल बाबासँग भेटे भयो फेरि भाई कता छ ? भाई स्कुल तिर ठिकै छ भन्ने खबर पाएपछि फेरि बहिनीको चिन्ता । तर बिडम्बना फोन सम्पर्क हुन निकै कठिन । एक पटक सम्पर्क गरि परिवारका सबै सदस्यसँग कुरा नभए सम्म दिमागले काम नगरे जस्तै हुन्छ।

फेरि एकैछिनमा काममा जानु पर्ने हतार। काममा फेरी मोवाईल प्रयोग गर्न पाईदैन। मानसपटलमा धेरै कुराका सोच आउँछन्। बाथरुमको निहुँमा अलासतलास हुँदै मोबाईलबाट खबर हेर्यो, घर मात्र हैन पहाड नै पल्टेको भिडियो देखिन्छ । देशमा गएको भूकम्पको कम्पन्नले आज प्रवासमा रहेका हरेक नेपालीहरुको मनमा यसरी नै धाँजा फाँटिरहेको छ।

गोरखा नगरपालिका-९ बिरेनचोक स्थायी घर भई हाल बार्सिलोना बसोबास गर्दै आएका गोपाल रेग्मीको मन पनि यसै गरि फाँटिरहेको छ। गत अप्रिल २५ मा आएको बिनाशकारी महाभूकम्पले जन्मथलो सहित सारा टोल भत्किएर सोत्तर भयो ।

चुना नेपालीले कुखुरा पाल्दै आएको खोर अहिले संजोगले भत्केनछ । ७३ वर्षीय बाबा ठाकुरप्रसाद रेग्मी, ६५ बर्षिय आमा पवित्रा रेग्मी, लगायत ४० जना सोही खोरमा बस्दै आएका थिए। फेरि मंगलबार ७.३ रेक्टरको भूकम्प गयो त्रसित हुदै उनले लेख्दै थिए, “फोन लाग्दैन, मन भुटभुटी भयो । के हुन लागेको हो नेपालमा, “कृपया नेपाली जनता जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोला।”  रेग्मी भन्छन्–बरु नेपालनै भएको भए परिवारसँगै कि त बाँचिन्थ्यो, कि त मरिन्थ्यो। यस्तो बिपतको बेला परिवारवाट टाढा हुनुको पीडा आज प्रत्येक प्रवासीले महशुस गरिरहेका छन्।

बिगत ६ बर्षदेखि स्पेनको भ्यालेन्सिया बस्दै आएकी ३० वर्षीय बिना तामाङले १८ दिन यता कारुणीक पीडा खप्दै आएकी छन्। पहिलो ठूलो भूकम्पबाट सिन्धुपाल्चोक जिल्ला नै सखाप हुँदा उनको जन्मथलो कदम गाबिस जितपुर पनि बचेन। त्यति मात्र होइन उनले परिवार र आफन्त गरी करिब २० जनालाई गुमाईन्। टेलिफोन सम्पर्कमा अनलाईनकर्मीसँग बोल्दा उनको आवाज रोकियो, आँशु थाम्न सकिनन्। भाग्यबश बाबुआमा बाँचेको सुनाईन्।

तर उनकी ६० बर्षिय आमा तिलमायाँ तामाङ्लाई पुरिएको अवस्थाबाट नै उद्दार गरिएको थियो। शरीरमा रगत जमेको हुनाले अस्वस्थ बनेकी आफ्नी आमा पालमा नै बस्दै आएकी उनी बताउँछिन्। सोमबार राति भारी वर्षात् भएछ फेरि मंगलबार अर्को ठुलो भूकम्प, त्यसपछि फोन सम्पर्क नै हुन सकेन उनले भनिन् “भूकम्प गएको ४ घण्टा सम्म सम्पर्क हुन सकेन,फेरि होस् हवास् नै गयो,फोन लागेर एक पटक बोल्न पाए पछि मात्र केही हल्का भयो।”

अघिल्लो ठूलो भूकम्पमा परी तामाङ्की २७ बर्षिय बहिनी जुना तामाङ्को खुट्टा ३ ठाउँमा भाँच्चिएको छ तर उनलाई त्यो पीडा केही लागेको छैन, जति पीडा २ वर्षको छोरी गुमाउँदा उनले भोगीरहेकी छन्। बहिनीको आर्थिक अवस्था कमजोर भएर सहयोग नमिलेको कारण आफूले स्पेनबाट प्रत्येक हप्ता रकम पठाईरहेको बिना बताउँछिन्।

स्पेनमा करिब ७२ लाख रुपैयाँ राहत संकलन भईसकेको अबस्थामा आफ्नो क्षेत्रतर्फ पनि सहयोग पुर्याइदिन बिनाले अनुरोध समेत गरेकी छिन्।

यस्तै काठमाडौ सामाखुसी घर भएका हाल बार्सिलोना निवासी महेन्द्र चापागाईलाई पनि भूकम्पले त्रसित बनाएको छ। मंगलबार गएको भूकम्पले आफ्नो घर अगाडिकै घरहरु भत्किए तर भाग्य बश आफ्नो घर र सपरिबार सकुशल छन्।

तर पटक पटक गएको भुईचालोले उनको मनमा पनि धाँजा फाँटेको छ। उनि भन्छन् घर सिङ्गै छ तर परिबार पाल भित्रको बास, फेरि पटक पटक पराकम्पनले आँफू अत्तालिदै  घर फोन गर्छन् तर समयमा लाग्दैन।

प्रबासका नेपालीहरु जति पटक नेपालमा पराकम्पन हुन्छ त्यो भन्दा बढी आफ्नो मनमा धाँजा फाँटेको अनुभव गरिरहेका छन्। घर परिवार,आफन्तको सम्झनामा पटक पटक जलिरहेका छन्। उनीहरुको एकै स्वरमा प्राथना गरिरहेका छन्, “हे भगवान्  नेपाल र नेपालीको रक्षा गर।”

Advertisements

Leave a Reply