ताजा खवरहरु:

टेकमको थप १ अर्ब सहयोगको प्रतिबद्दता, पुनर्निमाणमा सहयोग गर्ने

NTC११ मे २०१५, काठमाण्डौं- नेपाल टेलिकमले भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणमा सवा अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने भएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २७ करोड १ लाख रुपैयाँ उपलब्ध गराइसकेको टेलिकमले थप १ अर्ब रुपैयाँ पुनर्निर्माणमा खर्च गर्ने प्रतिबद्धता जनाएको हो। सबैभन्दा धेरै नाफा कमाउने र कर तिर्ने सार्वजनिक संस्थान टेलिकममा सर्वसाधारणको ८ प्रतिशत सेयर छ।

टेलिकम कम्पनीका तर्फबाट २५ करोड र कर्मचारी तलब कट्टा गरी २ करोड ७५

हजार रुपैयाँ सरकारी कोषमा गएको हो। टेलिकम सञ्चालक समिति अध्यक्ष सुनील बहादुर मल्लले कम्पनीका तर्फबाट र प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले कर्मचारीतर्फबाट चेक हस्तान्तरण गरेका हुन्। सञ्चालक समिति पदाधिकारीको ३ पल्टको बैठक भत्ता बराबरको ८१ हजार रुपैयाँको चेक पनि कोषमा उपलब्ध गराइएको छ।

टेलिकमले भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक, पुरातात्त्विक महत्त्वका संचरना र सामुदायिक विद्यालय पुनर्निर्माणमा १ अर्ब खर्च गर्ने प्रतिबद्धता जनाएको हो। टेलिकमले सरकारी निर्देशनअनुसार धरहरा, मनकामना मन्दिर, स्वयम्भूनाथ, ललितपुर र भक्तपुर दरबार स्क्वायर निर्माण गर्न उक्त रकम खर्चने उल्लेख गरेको छ।

‘कार्यालय समेत नजिकै रहेकाले हामीले धरहरा निर्माणलाई प्राथमिकतामा राखेका छौं,’ प्रबन्ध निर्देशक आचार्यले भने, ‘सरकारी योजना, मापदण्डअनुरूप व्यावसायिक उद्देश्य नराखी निर्माण

गर्न चाहन्छौं।’ सरकारबाट अनुमति पाए अन्तर्राष्ट्रिय स्तरको धरहरा निर्माण गर्ने आचार्यले बताए। ‘हामीले सम्बन्धित मन्त्रालयमार्फत सरकारसमक्ष कुरा राखेका छौं,’ उनले भने, ‘अनौपचारिक कुरा भइसकेको छ।’ अनुमति पाएलगत्तै काम सुरु गर्ने उनले बताए। ‘प्रधानमन्त्री समक्ष पनि हामीले कुरा राखेका थियौं,’ आचार्यले भने, ‘उहाँले सरकारमार्फत निर्माणमा जुट्नु राम्रो भएको बताउनुभयो।’ टेलिकमले घरबार गुमाएर अस्थायी शिविरमा बसिरहेकालाई अस्थायी वाइफाई हटस्पट सेवा नि:शुल्क उपलब्ध गराउने उल्लेख गरेको छ। टेलिकमले वैशाख १२ को भूकम्पपछिका ६ दिन १ अर्ब ४६ करोड रुपैयाँ बराबरको नि:शुल्क सेवा दिएको थियो। जीएसएम र सीडीएमए नेटवर्कबाट अन्तरदेशीय र अन्तर्राष्ट्रिय कल, एसएमएस र डाटा सेवा वैशाख १७ गते राति १२ बजेसम्म निशुल्क उपलब्ध गराएको थियो।

टेलिकमले भूकम्पपीडित सहयोगार्थ मोबाइल प्रयोगकर्ताबाट एसएमएसमार्फत कोष संकलन थालेको छ। अंग्रेजीमा ‘हेल्प’ लेखी १५०२५, १५०५० र १५०१०० नम्बरमा एसएमएस गरे क्रमश: २५, ५० र १०० रुपैयाँ जम्मा हुन्छ। एसएमएस पठाउँदा अतिरिक्त शुल्क नकाटिने र रकम प्रधानमन्त्री उद्धार कोषमा जम्मा गरिनेछ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading