नेपालका नाममा जतासुकै रकम उठाइँदै
सामाजिक सञ्जालमार्फत आह्वान गरेर ‘क्राउड फन्डिङ’ वेबसाइटमा नेपालका भूकम्पपीडितका लागि सहयोग माग्दै हजारौं ‘क्याम्पेन’ सुरु भएका छन्। उठाइएको रकम र प्रयोजन विभिन्न उल्लेख भए पनि यसरी विदेशमा उठाइएको राहत नेपाल आइपुग्ने/नपुग्ने टुंगो भने छैन।
नेपालका कुनै सरकारी संयन्त्रको जानकारीमा नआई यसरी रकम उठाइरहेको हो। यस्ता वेबसाइटमार्फत अर्ब रुपैयाँभन्दा बढी रकम उठिसकेको देखिन्छ। विनाशकारी भूकम्पपछि विश्वभर समाचार बनेको नेपाललाई देखाएर इन्टरनेटमा रकम उठाउने क्रम द्रूतगतिमा अघि बढेको छ।
विश्वका विभिन्न प्राकृतिक दुर्घटना र सामाजिक कार्यका लागि यस्ता वेबसाइटमार्फत रकम उठाइँदै आइएको छ। सन् २००८ देखि यस्ता वेबसाइट प्रचलनमा आउन थालेका हुन्। अधिकांश नाम चलेका ‘क्राउड फन्डिङ’ वेबसाइटले नेपालका लागि रकम उठाइरहेका छन्।
३५ लाख अमेरिकी डलर ‘गो फन्ड मी’ नामक वेबसाइटमार्फत उठेको छ। ७ सय ९ वटा क्याम्पेनमार्फत ४६ हजार बढी व्यक्तिबाट यो रकम उठाइएको हो। यो वेबसाइटमा ‘होम्स फर अर्थक्वेक भिक्टिम्स’ नामक क्याम्पेनमा सबैभन्दा बढी रकम उठेको छ।
यसमध्ये प्रोमिस तामाङ नामकी ‘मेकअप आर्टिस्ट’ ले सुरु गरेको यो क्याम्पेनमा १ लाख ११ हजार डलरभन्दा बढी रकम जुटिसकेको छ। नेपालका सेलिब्रेटीसहित ५ लाख बढी फेसबुक फलोअर्स बनाइएकी उनले सुरुमा ५० हजार डलर उठाउने योजनासहित काम सुरु गरेकी थिइन्। सोचेभन्दा धेरै रकम उठेपछि उनको योजना १ लाख डलर बढीसम्म पुगेको छ। फेसबुकमा ४ हजार र ट्वीटरमा १ हजार बढीले उनको क्याम्पेन प्रचार गरेका छन्।
‘गो फन्ड मी’ मा लाङटाङदेखि क्लाउड कम्प्युटिङसम्मलाई भूकम्पसँग जोडेर रकम उठाइने क्रम जारी छ। जसमा नेपालीमूलका भन्दा विदेशी बढी छन्। अधिकांश रकम अमेरिकाभित्र उठाइएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोख्रेलले सम्बन्ध भएका सबै मुलुकका सरकार र कार्यरत गैरसरकारी संस्थालाई प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत मात्र सहयोग गर्न आग्रह गरिएको बताए। ‘तर कतिले यसमार्फत सहयोग गरिरहेका छन् भन्ने पूर्ण जानकारी आइसकेको छैन,’ उनले भने, ‘सम्बन्धित मुलुकको दूतावासमा मात्र जानकारी छ।’
सर्वसाधारणबाट उठाइएको सहयोग दूतावास, चेक वा अनलाइनमार्फत भुक्तानी गर्ने व्यवस्था गरेको उनले बताए। ‘यसका लागि हामीले प्रोत्साहन गर्ने हो,’ उनले भने, ‘धेरै गर्न सक्ने ठाउँ छैन।’
इन्डिगोगो नामक अर्को क्राउड फन्डिङ वेबसाइटमा पनि दर्जनाैं क्याम्पेन नेपालका लागि चलेका छन्। बिहीबार साँझसम्म यो वेबसाइट अन्तर्गत ‘नेपाल अर्थक्वेक रिलिफ फन्ड’ नामक क्याम्पेनले सबैभन्दा धेरै रकम उठाएको छ। विजय आचार्यले चलाएको यो क्याम्पेनले अमेरिका नेपाल मेडिकल फाउन्डेनका लागि रकम उठाएको बताइन्छ।
जसमा ४ लाख १३ हजार अमेरिकी डलरभन्दा बढी रकम उठिसकेको यो क्याम्पेन अन्तर्गत बिभिन्न डाक्टरले भूकम्प प्रभावित स्थानमा सेवा दिइरहेको उल्लेख छ। ४६ सयभन्दा बढी व्यक्तिले यसमा सहयोग गरिसकेका छन्। त्यही नामको अर्को क्याम्पेनमा १ लाख डलर बढी रकम उठेको छ। यही वेबसाइटमा ३० भन्दा बढी नेपालको भूकम्पसम्बन्धी क्याम्पेन चलेका छन्।
टिसप्रिङ नामक अर्को क्राउड फन्डिङ गर्ने वेबसाइटमा पनि नेपालको भूकम्पपीडितलाई राहत दिने भन्दै टिर्सट बिक्री गर्न थालिएको छ। ‘सेभ नेपाल’ सहित विभिन्न आकृति बनाइएका टिर्सट २५ डलरसम्म बिक्री गर्न राखिएका छन्। वेबसाइटको तथ्याकं हेर्दा करिब २ हजार टिसर्ट बिक्री भइसकेका छन्।
टिर्सट बिक्रीबाट आउने निश्चित रकम नेपालमा भूकम्पपीडितलाई सहयोग गर्ने वाचा गरिएको छ। युकेयर नामक वेबसाइटमा ३ सय ५६ वटा क्याम्पेन चलिरहेका छन्। जसमा रहेका अधिकांशले २० हजार डलरको हाराहारी रकम उठाइसकेका छन्। यसमा अमेरिकासहित युरोपका विभिन्न मुलुकबाट रकम उठाउने क्रम जारी छ। ब्रसेल्सबाट भूकम्पपीडितको उद्धारका लागि चलाइएको एक क्याम्पेनले ४४ हजार युरोभन्दा बढी रकम संकलन गरिसकेको छ।
क्राउड राइज नामक अर्को वेबसाइटमा पनि नेपालका लागि ५ सय १२ क्याम्पेन चलेका छन्। अस्ट्रेलिया लगायतका मुलुकबाट पनि यो वेबसाइटमा रकम उठाइएको छ। ‘हेल्प नेपाल अर्थक्वेक रिलिफ इर्फोट’ नामक क्याम्पेनमा १७ लाख डलरभन्दा बढी रकम उठिसकेको छ। गिभ फरवार्ड नामक क्राउड फन्डिङमा २८ वटा क्याम्पेन नेपालका लागि चलेका छन्। जसमा ससाना रकम उठ्न सुरु भइसकेको छ। किकस्टाटर नामक क्राउड फन्डिङ वेबसाइटमा पनि रकम माग्दै विभिन्न क्याम्पेन चलेका छन्। तर रकम भने उठ्न सकेको छैन।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस