भु-कम्पपिडीतलाइ घर बनाउन २% ब्याजमा ऋण
२४ बैसाख- भूकम्पबाट
घर ध्वस्त–क्षतिग्रस्त भएकालाई नयाँ निर्माण गर्न २ प्रतिशत ब्याजमै बैंक–वित्तीय संस्थाबाट ऋण दिइने भएको छ । राष्ट्र बैंकको बुधबारको निर्णयअनुसार काठमाडौंभित्र २५ लाख रुपैयाँ र बाहिर १५ लाख रुपैयाँसम्म प्रति ध्वस्त–क्षतिग्रस्त घरलाई यस्तो ऋण दिइने भएको हो ।
‘भूकम्पका कारण घर ध्वस्त–क्षतिग्रस्त हुनेले २ प्रतिशत ब्याजमै ऋण पाउने भएका छन्,’ राष्ट्र बैंकका प्रवक्ता मीनबहादुर श्रेष्ठले भने ।
वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबाट यस्तो ऋण लिन सकिनेछ । यो रकमबाट जग्गा भए काठमाडौंभित्र पक्की एकतले घर ठड्याउन पुग्छ । ऋणको प्रक्रिया केहि दिनभित्रै टुंगो लगाइने भएको छ ।
राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई शून्य प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराउने भएपछि भूकम्पपीडितलाई यस्तो सहुलियत मिल्ने भएको हो । ‘पहिलोपटक शून्य ब्याजदरमै पुनरकर्जा उपलब्ध गराउन लागेका हौं,’ श्रेष्ठले भने ।
बैंकले ग्राहकलाई दिएको ऋणलाई धितो मानेर राष्ट्र बैंकले पुनरकर्जा उपलब्ध गराउँछ । सामान्यतया पुनरकर्जाको ब्याजभन्दा तीन प्रतिशत विन्दु बढी ब्याज लिएर बैंकले लगानी गर्छन् । तर महाभूकम्पको क्षतिपछि बैंकले सामान्य अवस्थाभन्दा एक प्रतिशत बिन्दु कमब्याजमै ऋण दिन मानेका हुन् । यही दुई प्रतिशत ब्याजबाटै बैंक वित्तीय संस्थाले नाफा, प्रशासनिक खर्चलगायत व्यवस्थापन गर्नेछन् । सामान्य अवस्थामा पछिल्लो समय घरकर्जा ब्याज साढे ७ प्रतिशत हाराहारी थियो ।
–रातोपाटीले लेखेको छ
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस