ताजा खवरहरु:

भूकम्प पीडितको नाममा ठगी

Image result for earthquake cheatersकाठमाडौं- राहत सामग्री र जापानी डाक्टरहरुको टोलीसँग मेलम्ची पुगेका विद्यार्थी नेता अशेष घिमिरे राहत वितरणपछिको दृश्यले आश्चर्यमा परे । चामल, चाउचाउ र त्रिपाल वितरण गरेर सिन्धुपाल्चोकको मेलम्चीस्थित हेल्थ पोस्ट निरीक्षण गरेर फर्कंदा भूकम्प पीडित भनिएका मानिसले प्राप्त खाद्यान्य नजिकैको पसलमा लगेर बिक्री गरिरहेका थिए ।

‘राहत वितरणमा प्रदान गरिएको सामग्री पीडितहरुले नजिकैको पसलमा लगेर बिक्री गर्दा रहेछन् । केहीले हामीबाट पाएको राहत वास्तविक पीडितलाई समेत बिक्री गरेको दृश्य देखेपछि आश्र्चयमा परें । बुझ्दै जाँदा थाहा भयो, उनीहरुले सबै राहत वितरणमा आएकाबाट राहत संकलन गरेर पसलमा लगेर बेच्दा रहेछन्,’ उनले भने ।

भूकम्पपछि सिन्धुपाल्चोकको स्थिति नाजुक भए पनि अधिकांश विदेशी दाताले सहयोग प्रदान गरिरहँदा पीडितलाई मागीखाने भाँडो बनेको छ । ‘व्यक्तिगत, संस्थागत र विदेशी दाताको सहयोग हरेक दिन पुगेपछि पीडितहरु दुःखी अनुहार लगाउँदै पुग्छन् । कहिलेकाहीँ वास्तविक पीडित भने मर्कामै परिरहेका हुन्छन् । पीडितहरुमा ठग्ने प्रवृत्तिको विकास भइरहेको देखियो,’ उनले भने ।

केही दिनअघि राहत लिएर भक्तपुर पुगेका विश्वदिप लामिछानेले स्थानीय निकायको उपस्थिति नहुँदा सम्बन्धित पीडितले राहत नपाइरहेको अनुभव सुनाए । ‘भक्तपुर पुग्दा एक सय ६७ जना पीडित भेटिए । हामी पुगेपछि पानी, खाना र राहत छैन भनेर दुखेसो पोखे । निरीक्षणमा निस्कँदा पसलहरु खुल्ला थिए,’ उनले सुनाए, ‘केही पीडित भन्दै थिए- कुन चामल होला ? बास्मती हो ? खान नपाएको कति भयो । पारा तातेर त्यहीँ गाडेर हिड्दिऊँजस्तो भएको थियो ।’ देशी र विदेशी दाताले गर्दा पीडितमा पनि ठगी खाने प्रवृति बढेको उनले बताए ।

राहत र उपचारका लागि शुक्रबार ललितपुरको झम्पी पुगेका पाटन एकेडेमी अफ हेल्थ साइन्सका एक दर्जन डाक्टरको टोलीको अनुभव लामिछानेसँग केही मेल खायो । ‘अस्पतालमा उपचार गर्न आएका बिरामीले झम्पीमा राहत नपुगेको गुनासो गरेपछि एक दर्जन डाक्टरको टोली राहत सामग्री र औषधी लिएर झम्पी पुगेका थियौं । ध्वस्त बस्तीभन्दा केही तल मानिस बसिरहेका थिए । सहयोग गर्न आग्रह गरेपछि हामीसँग भएको राहत वितरण गर्यौं । तत्काल केहीको उपचारमा हामी व्यस्त भएपछि थाहा भयो वास्तविक पीडितले हाम्रो राहत सामग्री पाएनछन् । हामीले वितरण गरेको राहत पाएका मानिसले पीडितलाई राहत बिक्री गर्ने रहेछन्,’ टोलीमा सहभागी भएका डा. अखण्ड उपाध्यायले भने । वास्तविक पीडित छुट्याइदिने निकार्यको अभावमा पीडित भनेर ठग्ने मानिसहरुको संख्या बढेको उनले बताए ।

एसोसिएसन अफ युवा संगठनका बर्बिनकुमारका अनुसार अधिंकाश राहत राजमार्ग वरपरमात्र वितरण हुँदा यस्तो समस्या बढेको बताउँछन् । ‘राजमार्ग वरपर बस्ने स्थानीय मानिसको आवश्यकता नबुझी राहत वितरण गर्दा यस्ता घटना दोहिरिएका हुन् । धेरै हिँड्नुपर्ने स्थानमा राहत पुग्नै सकेको छैन । सबैलाई दुर्गम स्थानमा राहत पुर्याउन आग्रह गर्न चाहन्छु।’

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव लक्ष्मीप्रसाद ढकालका अनुसार व्यक्तिगत राहत वितरण कार्यलाई ग्रामीण भेगमा पुर्याउन नसक्दा पीडितले समेत दुःख पाएका छन् । ‘राजमार्ग आसपासको क्षेत्रमा यस्तो घटना भइरहेको हो । सबैलाई ग्रामीण भेगमा समेत केन्द्रित गर्न आग्रह गर्न चाहन्छौं ।’


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading