बेलायतमा आमनिर्वाचन हुदै
७ मे २०७१, एडेलेड- पाँच वर्षपछि बेलायतमा बिहीबार (७ मे) आमनिर्वाचन हुँदैछ ।
बिहान ७देखि राति १० बजेसम्म चल्ने चुनावले बेलायतमा अबको पाँच वर्षका लागि कसले सरकार चलाउने भन्ने निर्धारण गर्नेछ ।
बेलायती राजनीतिज्ञहरु बुधवार पनि आफ्नो चुनाव प्रचारप्रसारमा सामेल भए । प्रधानमन्त्री डेभिड क्यामरुनले आफ्नो नेतृत्वको सरकार गठनपछि देश पाँच वर्षअघि भन्दा अहिले धेरै बलियो भएको
दावी गर्दै अझै धेरै गर्न बाँकी रहेको बताएका छन् । निर्वाचन अभियानको अन्तिम दिन प्रधानमन्त्री क्यामरुनले आफ्नो दल कन्जर्भेटिभले निश्चित रुपमा चुनाव जित्ने जिकिर गरेका छन् भने प्रतिपक्ष लेबोर पार्टीका नेता इद मिलिब्यान्डले बेलायती जनताले स्वविवेकले मुल्यांकन गर्ने बताएका छन् ।
मत सर्वेक्षणहरुले भने यसपटक पनि कसैले स्पष्ट बहुमत नल्याउने नतिजा देखाएका छन् । बीबीसी मत सर्भेक्षणको बुधबार बिहानसम्मको तथ्यांकअनुसार सत्तारुढ कञ्जरभेटिभले ३४ प्रतिशत, प्रमुख प्रतिपक्षी लेबोरले ३३ प्रतिशत, यूके इण्डिपेण्डेन्ट पार्टी (युकिप) ले १५ प्रतिशत र लिबरल डेमोक्रयाटले ८ प्रतिशत मत पाउने सम्भावना छ । ६५० सिट रहेको यूके संसदमा बहुमतका लागि ३ सय २६ सिट आवश्यक छ । यसअघिको चुनावमा कञ्जरभेटिभले ३०७, लेबोरले २५८ र लिवरल डेमोक्रयाटले ५७ सिट जितेका थिए ।
यसपटक सिट संख्याका हिसाबले सरकार बनाउन चाहने जुनसुकै दलले स्कटल्याण्डको स्कटिस नेशनल पार्टी (एसएनपी)सित साझेदारी वा समर्थन लिनै पर्ने अवस्था आउन सक्ने विश्लेषण गरिएको छ । कुल ५९ सिट रहेको स्कटल्याण्डमा प्राय: सबै सिट सो पार्टीले जित्ने अनुमान छ ।
उता देशव्यापी मतमा तेस्रो स्थान ल्याउने अपेक्षा गरिएको यूकिपले भने १ देखि २ स्थान मात्र ल्याउने भविष्यवाणी गरिएको छ । बरु यूकिपभन्दा उत्तरी आयरल्याण्डका क्षेत्रीय दलहरु र ग्रीन पार्टीले बढी सिट ल्याउनसक्ने अपक्षा छ ।
राजनीतिक विश्लेषकहरुले बेलायतमा नयाँ राजनीतिक अभ्यास सुरु हुने आंकलन गर्दै वर्तमान दुई दलीय गठबन्धन होइन अब सरकार गठनका लागि त्रिदलीय गठजोड आवश्यक पर्ने उल्लेख गरेका छन् ।
मिडियामा पनि पक्ष विपक्षमा
विगत जस्तै यसपटकको निर्वाचनमा पनि मिडियाहरुले आ आफ्नै ढंगले दलहरुको समर्थन गरेका छन् ।
कञ्जरभेटिभलाई मिडियाको अत्यधिक समर्थन देखिएको छ । मिडिया टाइकुन रुपर्ट मुर्डोकको स्वामित्वका द सन्, टाइम्स् र स्काईले खुलेर कञ्जरभेटिभको पक्षपोषण गरेका छन् भने अर्को लोकप्रिय ट्याबलोइड डेली मेलले पनि कञ्जरभेटिभको पक्ष लिएको छ । द टेलिग्राफले सधैं कञ्जरभेटिभको पक्ष लिने गरेको छ भने गार्डियन लेबोरका पक्षमा लागेको छ ।
नेपालीसहित आप्रवासीहरुले यस चुनावमा लेबोरलाई मतदान गर्ने आंकलन गरिएको छ । कञ्जरभेटिभले विगत पाँच वर्षमा आप्रवासन सम्बन्धी कडा नीति ल्याएको र तुलानात्मक रुपमा लेबोर आप्रवासीमैत्री भएको धेरैको बुझाइ छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस