एक हजार घर बनाइदिने लन्डनका धनाढ्यको प्रस्ताव
लन्डन, वैशाख १९ - भारतीय मुलका एक बेलायती धनाढ्यले भूकम्प प्रभावित गाउँमा गएर एक हजार नयाँ घर बनाइदिने इच्छा व्यक्त गरेका छन् ।
बिल्डिङ टेक्नोलोजी सम्वन्धि मल्टी नेशनल कम्पनी सिस्मोका प्रवन्ध निर्देशक मुकेशकुमार सेगालले कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीलाई शुक्रबार
लन्डनस्थित नेपाली दूतावासमा भेटी उक्त प्रस्ताव गरेका हुन् । सेगालले आफ्नो कम्पनी नयाँ प्रविधिमार्फत निर्माणकै क्षेत्रमा दुई दशक यता समर्पित भएको जनाउँदै नेपाल सरकारबाट आफ्नो प्रस्ताव स्वीकृत भए यो काम छिट्टै सुरु गरिदिने बताएको कार्यवहाक राजदूत क्षेत्रीले कान्तिपुरलाई बताए ।
‘हामी सुरुमा भूकम्प पीडितहरुलाई अस्थायी घर बनाएर आश्रय दिन्छौं र भग्नावशेषको उचित व्यवस्थापन गरि तत्काल नयाँ बस्ती बसालिदिन तयार छौं,’ सेगालको भनाइ उद्धृत गर्दै कार्यवहाक राजदूत क्षेत्रीले भने, ‘हाम्रो कुनै व्यापारिक उद्देश्यभन्दा पनि नेपाललाई परेको विपत्तिमा आत्मादेखि सहयोग गर्ने अभिलाषा हो ।’ सेगालले आफ्नो कम्पनीका बारेमा अझ बुझ्न पनि भनेका छन् । क्षेत्रीले बेलायतबाट प्रकाशित हुने माया टुडे पत्रिकामा आवद्ध पत्रकार दीपक डोग्रामार्फत सेगालसँग भेटको प्रबन्ध मिलाएका थिए ।
यसअघि इजरायल सरकार र धनाढ्य श्री प्रकाश लोहियाले कुनै एक गाउँको पुनर्निमाण गरिदिने इच्छा व्यक्त गरेको खवर सार्वजनिक भएको थियो ।
नेपाल सरकारले यस्ता प्रस्ताव सहर्ष स्वीकार्नु पर्ने बेलायतवासी नेपालीको सुझाव छ । ‘हामी केही गरिदिन्छौं भनेर आउँदा पछाडि परियो भने यो अवसर उम्किन सक्छ’, व्यवसायी सूर्य गुरुङले भने, ‘नेपाल सरकारले उनीहरुको भावनालाई पनि कदर गर्न सक्नुपर्छ ।’ भन्सार छुट वा अरु काममा सहज वातावरण मिलाइदिनु पर्ने धेरैको धारणा छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस