भाषण गर्दागर्दै नेता बेहोस, उपचारका क्रममा निधन
नेपा
ली कांग्रेस पार्टीभित्रको आन्तरिक किचलो, भागबन्डा र संविधान निर्माण प्रक्रियामा देखिएको अल्झनप्रति गाउँस्तरका नेताहरु कतिसम्म चिन्तित रहेछन् भन्ने ज्वलन्त उदाहरण प्यूठानमा भएको एउटा दुःखत घटनाले स्पष्ट पारेको छ ।
नेविसंघको स्थापना दिवसका अवसरमा प्यूठानमा आयोजित एक अन्तरक्रिया कार्यक्रममापार्टी र देशप्रति चिन्तित भएर भाषण गर्दागर्दै स्थानीय नेता धनवहादुर शाही बेहोस भएर ढले ।
अचेत भएका उनलाई जिल्ला अस्पताल लगियो । अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई बुटबल पुर्याइयो । बुटबलमा पनि सम्भव नभएपछि काठमाडौंमा उपचारका क्रममा अन्ततः उनको निधन भयो ।
कार्यक्रमलाई सम्बोधन गर्न कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र शर्मा, नेविसंघका केन्द्रीय सदस्य लाओस राई, किसान संघका केन्द्रीय सदस्य अम्बर भण्डारी साथै जिल्लाका पूर्वसभापति तथा अन्य नेताहरुको मन्तव्य पूर्व उनले पार्टीमा आफूले गरेको संघर्ष र हालका नेताहरुको व्यवहारप्रति गम्भीर मन्तव्य दिइरहँदा उनी बेहोस भएर ढलेको प्रत्यक्षदर्शी नेविसंघका केन्द्रीय सदस्य लाओस राईले इमेजखबरलाई जानकारी दिए ।
शाही धुवाङ गाविसका इकाइ सभापति थिए । पार्टीप्रति निष्ठावान र समाजसेवामा लागेका उनी देशको बिग्रँदो अवस्थाप्रति चिन्ता व्यक्त गर्दागर्दै अचेत भएको किसान संघका केन्द्रीय सदस्य अम्बर भण्डारीले दाहसंस्कार स्थलबाट जानकारी दिए । नेविसंघका प्यूठान सभापति एनपी मगरको सभापतित्वमा भएको कार्यक्रममा उनलाई पनि मन्तव्य राख्ने अवसर दिइएको थियो ।
५६ वर्षीय शाहीका तीन छोरा, तीन छोरी र श्रीमती छन् । उनको स्थानीय हर्नघाटमा दाहसंस्कार गरिएको छ । मन्तव्यका क्रममा एक्कासि प्रेसर बढेर उनी अचेत भएका थिए । समाइरहेको माइक्रोफोन विस्तारै हातबाट खसेको र उनी ढलेको प्रत्यक्षदर्शीले देखेका थिए ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस