ताजा खवरहरु:

बोकोहरमप्रती सरकार निक्कै कडा हुने संकेत: नाइजेरियाका नवनियुक्त राष्ट्रपतिको पत्र

nizeriaगत वर्ष सन् २०१४ अप्रिल १४ को रातमा उत्तरपूर्वी नाइजेरियाको चिबोक नगरस्थित एउटा विद्यालयमा आक्रमण गरेर बोको हरामले दुई सय जनाभन्दा बढी बालिका र किशोरीलाई अपहरण गर्दा मेरो मुलुकका जनता भयाक्रान्त भएका थिए।

संसारभरका लाखौँ जनताले उनीहरूसँगै मिलेर सोधेका थिए — यो आतंकवादी समूहले यसरी निर्धक्कसँग यस्तो क्रियाकलाप गर्ने छुट कसरी पायो? त्यस अपराधका बारेमा टिप्पणीमात्रै गर्न पनि त्यति बेला सरकारले दुई साता लगाएको थियो।राष्ट्रपति गुडलक जोनाथनको यही अकर्मण्य संवेदनहीनता नै गत महिनाको निर्वाचनमा उनको हारको मुख्य कारण बन्यो। बहालवाला राष्ट्रपति चुनावमा मतदानबाट पराजित भएर हटेको हाम्रो मुलुकको इतिहासमा यही पहिलो उदाहरण हो।

लामो समयसम्म उनीहरू सत्तामा त थिए तर तिनले शासन चलाएनन्। निहित स्वार्थपूर्तिका बढी नै केन्द्रित र भ्रष्टाचारमा लिप्त भएकाले नै तिनीहरू देशवासीले पाएको सास्तीप्रति त्यसरी उदासीन हुनपुगेका थिए।

आगामी मे २९ मा पदभार ग्रहण गर्ने मेरो सरकारले भने यसभन्दा अलग्गै तरिकाले कार्य गर्नेछ। वास्तवमा हामीलाई जनताले निर्वाचित गरेको मुख्य कारण नै उनीहरूभन्दा अलग हुनैका लागि हो। यो चिबोकका किशोरी र बालिकाको उद्धार गर्ने इमानदार प्रयासबाट सुरु हुनुपर्छ। अहिलेसम्म उनीहरू कहाँ छन् भन्नेसम्म पनि थाहा छैन। उनीहरूको स्वास्थ्य वा अन्य अवस्था कस्तो छ भन्ने हामीलाई केही जानकारी छैन। उनीहरू सबै अझै सँगै छन् वा छैनन् वा जिउँदै पनि छन् कि छैनन् भन्नेसमेत थाहा पाइएको छैन। मैले जति नै चाहे पनि उनीहरू पक्कै भेटिने आश्वासन दिन सक्तिन। उनीहरूलाई फेला पार्ने र उद्धार गर्ने वाचा गर्र्नु निराधार आशा जगाउनुमात्र हुनेछ। यस्तो अपेक्षा पूरा भएन भने पछि त्यसले दुःख झन् बढाउन सक्छ। तर म ती सबै अपहरित किशोरी र बालिकाका आमाबाबु, परिवारका सदस्य र साथीहरूलाई मेरो सरकारले उनीहरूलाई घर फर्काउन आफ्नो शक्तिले भेटेसम्म हरसम्भव प्रयत्न गर्नेछ भन्ने वचन चाहिँ दिन चाहन्छु।

म दृढतापूर्वक के विश्वास दिलाउन चाहन्छु भने मेरो शासनको पहिलो दिनदेखि नै बोको हरामले हाम्रो सामूहिक संकल्पको शक्ति र यस मुलुकलाई आतंकबाट मुक्त गर्ने प्रतिबद्धताका बारेमा थाहा पाउनेछ र सबै प्रभावित क्षेत्रमा शान्ति स्थापना भएर स्थिति सामान्य हुन थाल्नेछ।

अहिलेसम्म नाइजेरियाले तिनीहरूको आतंकविरुद्ध हुने कारबाही पर्खेर बसेको छ। हाम्रा छिमेकीले आतंककारीलाई आआफ्नो मुलुकबाट दक्षिणतर्फ लखेट्न कडा संघर्ष गरिरहेका छन् तर हाम्रो सेनासँग भने तिनलाई उत्तरतिर खेद्नका लागि आवश्यक हातहतियार र समर्थन छैन। फलस्वरूप, निवर्तमान सरकारको निर्णयहीनता यस आतंककारी समूहको शक्ति बढाउने संयोग बन्न पुग्यो। उनीहरूले नाइजेरियाली भूमिमा ढुक्कसँग आफ्नो आतंककारी गतिविधि गर्ने छुट पाए।

अतः बोको हरामको पराजय र अन्त्य नाइजेरियाबाटै सुरु र अन्त्य हुनुपर्छ। यसको अर्थ मित्रहरूले हामीलाई सहयोग गर्न सत्तै्कनन् भन्ने चाहिँ होइन। मेरो सरकारले संयुक्त राज्य अमेरिकासँगको सैनिक तालिमसम्बन्धी सम्झौता पुनः आरम्भ भएमा त्यसको स्वागत गर्नेछ। अगिल्लो सरकारको कार्यकालमा यो सम्झौता स्थगित गरिएको थियो। निश्चय पनि हामीले सैनिक कारबाहीमा र बोको हरामविरुद्धको संघर्ष सशक्त बनाउन चाड र नाइजरजस्ता हाम्रा अफ्रिकी मित्रहरूसँग बढी समन्वय गर्नुपर्छ। तैपनि अन्ततः यस आतंकविरुद्धको समाधान भने नाइजेरिया भित्रैबाट खोजिनु र हासिल गर्नुपर्छ।

विगतमा सरकारहरूले नागरिक असन्तोषको दमन गर्न सेना तैनाथ गरेका मध्य तथा दक्षिणी नाइजेरियाका नागरिक बसोवासका क्षेत्रबाट झिेकेर युद्ध क्षेत्रमा बढी सैनिक तैनाथ गरेर हामीले यस संघर्षको आरम्भ गर्नुपर्छ। हामीले सैनिक कारबाहीका क्रममा हाम्रा छिमेकीहरूसँग अझ निकटरूपमा काम गर्नुपर्छ। एउटा मुलुकको सेनाले एक पटक चलाएको कारबाहीका भरमा बोको हरामबाट मुक्ति पाउन सकिँदैन। यस्तो शैलीको कारबाहीबाट त एउटा मुलुकमा कारबाही सुरु भएपछि आतंककारी समूह अर्को छिमेकी मुलुकको सीमाभित्र छिर्ने क्रममात्र दोहोरिन्छ। तर हाम्रो सेनाले बोको हरामलाई खेद्नेबित्तिकै आतङ्ककारीलाई नियन्त्रण गर्न गर्नुपर्ने अरू काममा ध्यान केन्द्रित गर्नुपर्छ। युवा जनसंख्या किन बोको हराममा सामेल हुन्छन् भन्ने कारण पहिचान गरेर त्यसलाई सम्बोधन गर्नुपर्ने हुन्छ।

कठिन अवस्थामा रहेका युवा लडाकु समूहमा संलग्न हुने अनेकौं कारण हुन्छसक्छन् तर अज्ञान र गरिबी प्रमुख कारण हुन्। वास्तवमा शिक्षाले उपलब्ध गराउने अवसर पाप हो भन्ने अन्धविश्वासका कारण युवा बोको हराम (जस्को मोटामोटी अनुवाद ‘पश्चिमी शिक्षा पाप हो’ भन्ने हुन्छ) को फन्दामा पर्छन्। आफ्नो जिन्दगी किन कष्टपूर्ण भयो भन्ने उत्तर खोज्दै गरेको भोको पेटको युवाका लागि कट्टरपन्थ आकर्षक गन्तव्य हुनपुग्छ। हामीले यो यथार्थ थाहा पाएका पनि छौँ। बोको हरामकै पूर्व सदस्यहरूले यसलाई सकारेका छन्। बोको हरामले तन्दुरुस्त तन्देरीहरूलाई पैसा दिन्छन् र खाना दिने वाचा गर्छन् भने समूहका अगुवाले तिनलाई मानसिकरूपमा कट्टरपन्थतर्फ सम्मोहित गर्छन्।

यसैले हामी यो आतंककारी समूह प्रभावित क्षेत्रमा विकल्प उपलब्ध गराउन पनि तत्पर हुनुपर्छ। शिक्षाको व्यापक विस्तार बोको हरामप्रतिको आकर्षणको प्रत्यक्ष प्रतिरोध गर्ने उपाय हुनेछ। खासगरी, हामीले बढी संख्यामा किशोरीहरूलाई शिक्षा दिनुपर्छ र शिक्षाकै माध्यमबाट उनीहरूको सशक्तीकरण हुने तथा उनीहरू नाइजेरियाका प्रभावशाली नागरिकका रूपमा हुर्कने एवं गरिबीको भासबाट उम्कने सुनिश्चित रहेको विश्वास दिलाउन सक्नुपर्छ। यथार्थमा ती चिबोकका छात्राहरूप्रति हामी ऋणी छौँ र तिनका दौँतरी नाइजेरियालीलाई उत्तम शिक्षा दिलाएरमात्र हामीले यो ऋण चुक्ता गर्न सक्नेछौँ।

बोको हरामले निराशाको खेती गरेको छ। यसले विद्यमान अवस्थामा सुधार हुनसक्ने कुनै आशा नभएको भ्रम पारेको छ। शिक्षाको स्थलमा आक्रमण गरेर र विद्यालयका दुई सय जनाभन्दा बढी छात्रालाई अपहरण गरेर यसले भविष्यको जगेर्ना गर्ने प्रयासमाथि प्रहार गरेको छ तथा नाइजेरियाको उन्नतिको अपेक्षामा अतिक्रमण गरेको छ। बोको हराम त्यसमा सफल हुनसक्ने छैन भन्ने स्पष्ट पार्ने हाम्रो मनसाय हो।

मेरो सरकारले पहिले यसलाई सैनिक शक्ति प्रयोग गरेर परास्त गर्ने कार्य गर्नेछ र त्यसपछि हाम्रा नागरिकलाई बोको हरामले वञ्चित गरेको आत्म निर्भर हुन सहयोग पुग्ने शिक्षा हासिल हुने सुनिश्चित गर्नेछौँ। नेल्सन मन्डेलाले भनेजस्तै ‘शिक्षा नै संसार परिवर्तन गर्न प्रयोग गर्न सकिने संसारको सबैभन्दा शक्तिशाली अश्त्र हो।’ भन्ने ज्ञान बोको हरामले चाँडै नै पाउनेछ।

नाइजेरियाका नवनिर्वाचित राष्ट्रपति
दी इन्टरनेसनल न्यु योर्क टाइम्समा अप्रिल १५, २०१५ मा प्रकाशित


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading