दस वर्षदेखि ओछ्यानमै

दस वर्षदेखि ओछ्यानमैझट्ट हेर्दा ठीकठाक देखिन्छन्, सिमपानी–३ का २८ वर्षीय शम्भु तामाङ। तर, काखीमा घुस्रिएका दुई वैशाखीले उनको शारीरिक अपांगताको प्रमाण दिइरहेछन् । कम्मरमुनिको भाग चल्दैन । दुवै खुट्टा सुकेर झिना भएका छन्।

२०६१ साल साउनदेखि छोराको कम्मरमुनिको भाग चल्न छाडेको आमा लक्ष्मी बताउँछिन् । उस बेला १८ वर्षका शम्भु कक्षा १० मा पढ्थे । बिहे गरेको एक वर्ष पनि बितेको थिएन । बेलुकीसम्म सकुशल रहेका पति बिहान उठ्दा अपांग बनेको पत्नी बबिता बताउँछिन् । ‘बेलुका सन्चै हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘बिहान उठ्दा कम्मरमुनिको भाग नचल्ने भएछ ।’

लक्ष्मी र शेरबहादुरका छोरा हुन् शम्भु । दस वर्षयता उनको धेरैजसो समय ओछ्यानमा पल्टिएरै बित्छ । दिसापिसाब गर्न पनि अरूको भर चाहिन्छ । पत्नी बबिता उनको स्याहारसुसार गर्छिन् । ‘अहिलेसम्म त बुबाआमा साथैमा हुनुहुन्छ, सबै घरधन्दा उहाँहरूले नै गर्नुहुन्छ,’ बबिता चिन्ता दर्साउँछिन्, ‘उहाँहरूको अन्त्यपछि म एक्लीले के गर्ने होला ?’ शम्भुका सात वर्षकी छोरी पनि छन् ।

छोरालाई उपचारका लागि राजधानीको शिक्षण अस्पताल, धरानको पुनःस्थापना केन्द्रलगायतमा लगिए पनि निको नभएको आमा लक्ष्मीले बताइन् । उपचारक्रममा लाखौं रुपैयाँ खर्च भएको उनले गुनासो गरिन् । ‘भएको सम्पत्ति सकियो तर निको भएन,’ लक्ष्मीले भनिन्, ‘पैसा सकिएकाले ओछ्यानमै बास भएको छ ।’ तीन छोरा र एक छोरी रहेको तामाङ परिवारमा आम्दानीको बलियो स्रोत केही छैन । ‘सरसम्पत्ति खर्च गरियो तर रोग बीसको उन्नाइस भएन,’ ओछ्यानबाटै शम्भुले भने, ‘अझै पनि उपचार पाए जाती हुन्थेँ कि !’

अपांग बन्नुपरे पनि शम्भुमा कलाक्षमता भने उर्वर हुँदै आएको छ । उनी बाँसको चोयाबाट सजावटका आकर्षक सामग्री बनाउन दक्ष छन् । ओछ्यानमै बसेर उनले चोयाबाट विभिन्न प्रकारका फूल, मन्दिर, घर, खेलौना तयार पारेका छन् । बबिताले चोया काटिदिन्छिन् । शम्भु त्यसलाई दुई हात र छातीको सहारामा विभिन्न आकार दिन्छन् । यही क्षमताका कारण शम्भुलाई केही समयअघि सिमपानीमा आयोजित खुलला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रममा सम्मान पनि गरिएको थियो । सम्मान थाप्न उनलाई स्ट्रेचरमा बोकेर कार्यक्रमस्थल ल्याइएको थियो । शम्भुको सीपलाई व्यवस्थापन गर्न सके गाउँमै बाँसबाट बन्ने सामग्रीको हस्तकला उद्योग विकास गर्न सकिने सम्भावना रहेको स्थानीय दिपबहादुर थापाले बताए ।

 

Advertisements

Leave a Reply