छोरी नपढाउने तर धेरै पढेकी बुहारी खोज्ने?: मोदी
भारतमा व्याप्त छोरीको भ्रूणहत्या र शिक्षालगायतका धेरै क्षेत्रमा छोरीमाथि गरिने विभेद अन्त्यका लागि सरकारले यो नयाँ अभियानको थालनी गरेको हो।
भारतका कतिपय राज्यमा अहिले पनि छोरा र छोरीमा निकै ठूलो विभेद हुने गरेको छ । शिक्षा दिने क्रममा छोरा र छोरीमा अन्तर हुने गरेको छ भने त्यो भन्दा अर्को अकल्पनीय कार्य भइरहेको छ भ्रूणहत्याको । आमाको गर्भभित्रै भू्रणको लिङ्ग पहिचान गर्ने र छोरी भएमा गर्भमै हत्या गर्ने जस्ता जघन्य अपराधले यतिखेर थाहा नपाउनेगरि वैधानिकता प्राप्त गरिरहेको छ ।
यसरी भारतीय समाजमा अहिले पनि छोराको बढ्दो चाहनाले दिनप्रतिदिन छोरीहरू गर्भमै मारिइरहेका छन् । खुलारूपमा यो कार्यले मान्यता नपाए पनि भारतका जस्तोसुकै अस्पताल क्लिनिकमा गर्भमै लिङ्ग पहिचान गर्ने प्रविधि सहजै उपलब्ध हुनु र त्यसका लागि बुबा मात्र नभई आमा झन् बढी तयार हुनुले छोरीहरू कम जन्मिन थालेपछि भारत सरकारले यो नयाँ कार्यक्रम थालनी गरेको छ । सरकारले यस अभियानका लागि भारतीय चलचित्र क्षेत्रकी एक बहुचर्चित नायिका माधुरी दीक्षितलाई सद्भावना दूतका रूपमा मनोनयन गरेको छ ।
प्रधानमन्त्री मोदीले त्यस कार्यक्रममा यसरी बालिकाको भ्रूणहत्या गर्न तयार भइरहेका चिकित्सकलाई व्यङ्ग्य गर्दै भने- यसरी भ्रूणहत्या गरेर पैसा कमाउने गरेका चिकित्सकले सोचुन् यसरी कमाएको पैसाले उनीहरूलाई सन्तुष्टि र धन दिएको छ कि छैन ? उनको थप भनाई थियो– चिकित्सकले पढ्ने त नागरिकको ज्यान बचाउनका लागि पो हो त, मानिस मार्नलाई हो र ?
यस अवस्थाका कारण अहिले नै भारतमा लैङ्गिक असन्तुलन देखिइसकेको छ । सन् २०११ मा लिइएको पछिल्लो जनगणनाअनुसार भारतका ६ वर्ष मुनिका बालबालिकाको सङ्ख्यामध्ये प्रति एक हजार बालकमा ९१४ मात्र बालिकाको सङ्ख्या पुगेको छ । अझ त्यसयताका वर्षमा बालिकाको सङ्ख्या झनै घट्दो अवस्थामा पुगेको बताइन्छ । यो सङ्ख्या यसअघिका वर्षका तुलनामा झनै घट्दो अवस्थामा देखिएको छ ।
सन् २००१ मा प्रति हजार बालकको औषतमा ९२७ जना बालिका जन्मिन्थे । तर अब त झनै कम जन्मिन थाले भन्छन् भारतका जनसङ्ख्याविद्हरू । तथ्याङ्कअनुसार यसअघि अर्थात् सन् २००१ मा यो सङ्ख्यामा यति धेरै फरक देखिएको थिएन । भारतका योजनाविद्हरू यस अवस्थालाई भारतको स्वतन्त्रतापछि सबैभन्दा विस्फोटक लैङ्गिक असन्तुलन हो भन्छन् । उनीहरू यदि यही अवस्था कायम रहेमा अवका बढीमा दुई दशकपछि नै भारतमा केटीका लागि केटाहरूको ठूलो झगडा पर्ने निश्चित् छ भन्छन् । सन् २०११ को जनगणनाअनुसार भारतमा पुरुषभन्दा महिलाको जनसङ्ख्या करिब ६ करोड कम रहेको थियो । त्यो अनुपात घट्दै जाने देखिन्छ ।
भारतका निवर्तमान प्रधानमन्त्री डा. मनमोहन सिंह गत वर्ष संसद्लाई सम्बोधन गर्ने क्रममा रुनु भएको थियो । उनले भने– २१ औँ शताब्दीका हामी आधुनिक भारतीयहरू अहिले पनि विज्ञानको विकासको दुरूपयोग गरेर गर्भभित्रै जानाजान छोरीको हत्या गरिरहेका छौँ, योभन्दा दुःखद घटना हाम्रा लागि अरु केही पनि छैन । उनले त्यसबखत भने– पशुले त आफ्ना सन्तानलाई बराबर देख्छ, तर हामी विवेकशील प्राणी भएर छोरा र छोरीमै विभेद गरिरहेका छौँ।
भारतमा बर्सेनि कति भ्रूणहत्या भइरहेको छ भन्ने कुराको यकिन तथ्याङ्क छैन । तर यस क्षेत्रका जानकारहरूको पछिल्लो तथ्याङ्कअनुसार बर्सेनि कम्तीमा ५ देखि ७ लाख बालिकाको भ्रूणहत्या भइरहेको छ । यो कार्य खुला छैन अथवा खुलमखुला अस्पतालले बोर्ड राखेका छैनन् । तर पनि अधिकांश अस्पतालमा भ्रूणहत्याको काम सहज र सस्तो रहेको बताइन्छ।
मोदी सरकारले यो कार्यक्रम भारतका १२ जिल्लामा केन्द्रित गरी सुरु गरेको छ । यस कार्यक्रमअन्तर्गत सद्भावना दूतका रूपमा नियुक्त माधुरी विभेद नगर्न चेतना जागृत गर्ने काम गर्नेछिन् । त्यस्तै सरकारले ती जिल्लाका गरिब परिवारलाई आर्थिक सहयोगको घोषणा गरेको छ । पहिलो चरणमा छनोट गरिएको १२ जिल्लामा हरियाणा राज्यका बढी छन् । ती जिल्ला रेवारी, महेन्द्रनगर, भिवानी, झाजर, अम्बला, कुरुक्षेत्र, सानेपातलगायतका छन् ।
ती जिल्लाका अति गरिब परिवारमा जन्मिने बालिकाका साथै १० वर्षमुनिका बालिकाका नाममा ‘सुकन्या समृद्धि एकाउन्ट’ नामको खाता बैङ्कमा खोली त्यसमा सरकारले बढीमा डेढ लाख रूपैयाँसम्म रकम राखिदिने छ । यस्तो खातामा रहेको रकमका लागि कम्तीमा पनि नौ प्रतिशत ब्याज दिने र त्यस ब्याजमा कुनै पनि आयकर तिर्नु नपर्ने सुविधा सरकारले दिएको छ । यस्तो खाता कुनै पनि वाणिज्य बैङ्कका शाखामा खोल्न पाइनेछ ।
यस्तो खाता २१ वर्षसम्म बन्दगर्न नपाइने र ती बालिकाले १८ वर्षपघि उच्च शिक्षाका लागि आफ्नो खर्च स्वरूप रकम झिक्नुपर्ने भएमा ५० प्रतिशतसम्म मात्र रकम झिक्न पाउने व्यवस्था गरिएको छ । सरकारी आधिकारीहरूले बालिकाका लागि ल्याइएको यस्तो योजनाले भारतमा बालिका शिक्षामा सहयोग पुग्नुका साथै परिवारमा छोराप्रतिको दृष्टिकोणमा परिवर्तन हुने अपेक्षा गरेका छन् ।
पछिल्लो समयमा भारतमा बढ्दो जनसाङ्ख्यिक असन्तुलनका कारण जनसङ्ख्या एवम् योजनाविद्बीच यसको निराकरणका लागि चर्चा सुरु भएका छन् । सानो अथवा सामान्य मेसिनले केही मिनेटभित्रै भू्रणको लिङ्ग पहिचान गर्ने र ५०० देखि एक हजार रूपैयाँसम्ममा नै भ्रूणहत्या गर्न सकिने सहजताका कारण भारतमा प्रतिदिन छोरीहरू गर्भमै मारिने गरेका छन् । यो अवस्थालाई नरोक्ने हो भने भोलि भारतमा विवाहका लागि नै युवती पाउन निकै गाह्रो पर्ने देखिन्छ । रासस/विभिन्न समाचार समितिहरूको सहयोगमा
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस