ताजा खवरहरु:

बदलिदै नेपाली समाज: दलित किशोरीसँग मागी विवाह

intercastबाँके,  क्षत्री परिवार बुहारी माग्न दलित समुदायको घरमा पुगेपछि स्थानीय आश्चर्यमा परेका छन् । छोरीका बुबाआमा पनि तीनछक परे । सुरुमा उनीहरूले विश्वास गरेनन् । बुहारी माग्न गएका केटा पक्षले सबै कुरा सुनाएपछि किशोरीका परिवार राजी भए । तर, भविष्यमा जातभातकै कारण छोरीलाई दुःख दिन नपाउने सर्त राखे । केटा पक्षले प्रतिबद्धता जनाएपछि धुमधामसित बिहे गरियो ।

फत्तेपुर ७ सैँयापुरका २१ वषर्ीय सुकलाल विष्ट र त्यही उमेरकी नरमती विकबीच परिवारकै सहमतिमा अन्तरजातीय विवाह भएको हो । ‘परिवारको सहमतिमा हामीले मागेरै धुमधाम बिहे गरेका हौं । बिहे भोज खान गाउँका सबै आउनुभयो । हामी एकअर्कालाई पाएर निकै खुसी छौं,’ अन्तरजातीय विवाह दर्ताका लागि बुधबार जिल्ला प्रशासन आएका सुकलालले पत्नीको मुख हेर्दै भने, ‘उसलाई घरमा माग्न जाँदा सुरुमा बुबाआमा डराउनुभयो । तर, सबै बताएपछि उहाँहरू राजी हुनुभयो । कहिल्यै दुःख नदिनु भन्नुभएको छ ।’

फत्तेपुर ७ सैँयापुरका सुकलाल र नरमतीबीच विद्यालय पढ्दै प्रेम बसेको थियो । दलित समुदायकी किशोरीसँगको मायाप्रेमबारे उनले सुरुमा आमाबुबालाई जानकारी दिने आँट गरेनन् । तर, जेसुकै होस् भन्दै आमालाई बताउने आँट गरे । आमा मीनकुमारी दुःखी भइनन् । खुसी हुँदै छोरालाई सँगै लिएर बुहारी माग्न पुगिन् । नरमतीका बुबाआमा सुरुमा हच्के । क्षत्रीले दलितको घरमा आएर एकाएक छोरी माग्दा आश्चर्यमा नपर्ने कुरै भएन । बुबा मतिलालले समुदायले उक्त विवाह नस्वीकारे समस्या हुने बताए । तर, मनिकुमारीले बुहारी स्विकार्ने प्रतिबद्धता जनाएपछि नरमती दिन राजी भए । उनीहरूको फागुन ७ गते परम्पराअनुसार बिहे गरियो ।

‘बुबाआमालाई दलित केटीसँग प्रेम भएको र विवाह गर्छु कसरी भन्ने समस्या थियो । एक दिन आमालाई सबै कुरा बताइदिएँ । उहाँले गाली गर्नुहोला भनेको त खुसी पो हुुनुभयो । नरमतीलाई माग्न मलाई लिएर जानुभयो,’ सुकलाल भन्छन्, ‘आमाले बुहारी स्विकारेपछि बुबाले पनि केही भन्नुभएन । राम्रो गरिस् भनेर आशीर्वाद दिनुभयो ।’

दलित समुदायसँग अन्तरजातीय विवाह गर्दा समुदायले बहिष्कारसम्म गरेको घटना सार्वजनिक भइरहेका बेला सुकलाल र नरमतीले भनेेेेे परिवारकै सहमतिमा मागी विवाह गरे । ‘स्कुलमा पढ्दै गर्दा हामीबीच प्रेम भयो । जात नमिलेकाले मैले पनि बुबाआमासँग भन्न सकेकी थिइएन । मलाई माग्न आउँदा बुबाआमा सुरुमा झस्किनुभयो । हुँदैन भन्नुभयो । तर, सासूले छोरीजस्तै राख्छु भनेपछि मान्नुभयो,’ नरमतीले खुसी हुँदै भनिन्, ‘सासूससुराले निकै माया गर्नुहुन्छ । जातलाई लिएर कुनै किसिमको विभेद छैन ।’

स्थानीय प्रशासनले उनीहरूलाई बुधबार अन्तरजातीय विवाह दर्ताको प्रमाणपत्र उपलब्ध गराएको छ । सरकारले यस्तोमा प्रोत्साहित गर्न एक लाख रुपैयाँ दिँदै आएको छ । अन्तरजातीय विवाह गर्दा समुदायले स्वीकार नगर्दा धेरै जोडी गाउँबाटै विस्थापित हुनुपरेका थुप्रै घटना छन् ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading