अस्ट्रेलियामा घरेलु हिंसा: के के छन पीडितलाई सुविधा?
मिलन दाहाल
२९ जनवरी २०२५, एडिलेड- हामीले अघिल्लो लेखमा अस्ट्रेलियाको कानुनले कस्ता कस्ता कुरालाई घरेलु हिंसाका रुपमा लिन्छ र घरेलु हिंसाका असरहरु कस्ता कस्ता हुन सक्दछन भनेर बताएका थियौं । त्यस लेखमा हामीले आगामी दिनमा घरेलु हिंसाका पीडितहरुलाई अस्ट्रेलियामा सरकारी र अन्य निकायहरुबाट कस्ता कस्ता खाले सहायताहरु उपलब्ध छन त भनेर बताउने जानकारी गराएका थियौं । त्यसै अनुसार आजको लेखमा हामी सरकारी र अन्य निकायहरुबाट अस्ट्रेलियामा घरेलु हिंसा पीडितहरुलाई उपलब्ध हुने सेवा सुबिधामा केन्द्रित हुनेछौं ।
घरेलु हिंसाबाट कोही सिकार भएको खण्डमा तत्काल ‘000’ नम्बरमा सम्पर्क गरि प्रहरीको सहायता लिन सकिन्छ । यदि, भौतिक हिंसा भएको खण्डमा प्रहरी तथा एम्बुलेन्सको सहायता एकैपटकमा लिन पनि सकिन्छ । नभए, प्रहरीले हिंसा गर्ने मान्छेलाई तत्काल पक्राउ गरि लैजान्छ अथवा तत्काल पक्राउ गर्ने सम्भावना नभएको खण्डमा प्रहरीले Apprehended Violence (AVO) जारी गर्न सक्दछ । AVO जारी भइसकेपछी घरेलु हिंसा गरेको आरोप लागेका मान्छेले पीडित रहेको ठेगानामा रहन निषेध गर्दछ र सम्पर्क गर्नैपर्ने भएको अवस्थामा वकिलको सहायताले मात्र पीडितलाई सम्पर्क गर्न सक्छन । शारिरिक आक्रमणको सम्भावना रहेको अवस्थामा पीडित वरिपरिको परिधी नै निश्चित गरि AVO जारि गरिन्छ ।
यदि तपाई पिडकसँगै अस्पतालमा जानुपर्ने भयो तर भयका कारण पीडकले तपाईलाई एक्लै छोड्न मान्दैनन भन्ने अस्पतालका नर्सहरुलाई तपाई हिंसा पीडित भएको शंका लागेमा तपाईलाई अस्पतालभित्रै कतै एकान्तमा लगेर आफ्ना कुरा राख्ने अवशर प्रदान गर्दछन । तपाईले नर्सहरुलाई कुनै तरिकाले संकेत भने दिनुपर्दछ । व्यस्त हुने भएका कारण उनीहरुले नै शंका गर्ने बेलासम्म भने नकुर्नुहोस । अस्पताल तपाईका लागी अस्ट्रेलियामा सबैभन्दा सुरक्षित ठाँउ हो । त्यपछी आवश्यकताका आधारमा अस्पतालका नर्स अथवा डाक्टरहरुले नै प्रहरीलाई सम्पर्क गरि उजुरी गर्ने व्यवस्था मिलाइदिन्छन । तपाई पीडकसँग एकै घरमा बस्नुहुन्छ र उजुरी गरेको अवस्थामा तपाईलाई बसस्थानको खाँचो पर्न जान्छ भने सामाजिक कार्यकर्ता (Social Worker) को सहायताले तपाईलाई आवासको समेत चाँजोपाजो मिलाईन्छ र तपाँईको आवासको टुङ्गो नलागेसम्म तपाईलाई अस्पतालमै बस्ने प्रवन्धसमेत मिलाईन्छ ।
- 1800 RESPECT
1800RESPECT सातै दिन २४ सै घण्टा उपलब्ध हुने टेलिफोन सेवा हो जहाँ गृहकलह तथा यौनहिंसा भोगेकाहरुले सम्पर्क गरि सल्लाह तथा सुझाब लिन सक्दछन । यो सेवा अत्यन्त गोप्य हुन्छ र उक्त नम्बरमा सम्पर्क गर्दा पैसा लाग्दैन । - 1800 ELDERHelp Line
बृद्द-बृद्दाहरु कुनैपनि खालका हिंसाको सिकार भएमा १८०० ३५३ ३७४ मा सम्पर्क गरि सल्लाह तथा सुझावहरु लिन सकिन्छ । राज्यअनुसार सेवा उपलब्घ हुने समय फरक फरक रहेको छ । - Family Relationship Advice
यस नम्बरमा सम्पर्क गरि पारिवारिक सम्बन्धहरुका वारेमा सल्लाह लिन सकिन्छ । पारिवारिक समस्या सुल्झाउन तथा अलग हुने बाटाहरुबारे सुझाव दिएर उनीहरुले मद्दत गर्न सक्छन । उनीहरूले थप मद्दतको लागि स्थानीय सेवाहरूमा पनि पठाउन सक्छन्।सम्पर्क नम्बर 1800 050 321 सोमबार देखि शुक्रवार, 8 बजे देखि 8 बजे सम्म, शनिबार, १० बजे देखि ४ बजे सम्म।
घरेलु हिंशा (Domestic Violence) का पीडितहरुलाई उपलब्ध हुनेमा माथिका केही उदाहरणहरु मात्र हुन । यसबाहेक अस्ट्रेलियामा पैसा व्यवस्थापन, ऋण व्यवस्थापन, बालबच्चाको हेरचाह, आपतकालिन सेवाहरु, अपाङ्गता भएकाहरुका लागी अलग्ग सेवा, बच्चाहरुका लागी छुट्टै सेवाहरु उपलब्ध उपलब्ध छन । अफ्नो स्थानमा के कस्ता सुविधाहरु छ भनेर यो लिङ्कमा क्लिक गरेर समेत पत्ता लगाउन सकिन्छ ।
अत: सन् २०२१-२२ को सर्वेक्षणले ३८ लाख अस्ट्रेलियनहरु घरेलु हिंसाको चपेटामा परेको देकाएको थियो जुन अस्ट्रेलियाको कुन जनसंख्याको करिब एक चौथाइ हो । त्यसैले यदि घरेलु हिंसा भोगिरहनुभएको छ भने, आफूलाई एक्लो तथा शक्तिबिहिन ठान्नुपर्ने अवस्था अस्ट्रेलियामा छैन । हिंसामुक्त समाजका लागी तपाईपनि त्यत्तिकै जिम्मेवर हुनुहुन्छ । तपाईले सहेको हिंसाका कारण तपाईलाई पर्ने असर त छदैछ, तपाईका सन्तानमा समेत निकै प्रतिकुल असर पर्न जान्छ । तसर्थ, आउनुहोस, हिंसाका बिरुद्द आजै आवाज उठाउनुहोस् ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस