डा. केसीद्वारा वार्ता अस्वीकार
काठमाडौं-छ दिनदेखि अनशनरत डा. गोविन्द केसीले कारबाही माग गरेका शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई नै सदस्य नियुक्त गरेर शुक्रबार मन्त्रिपरिषद बैठकले वार्ता टोली गठन गरेको छ। डा. केसीले यस्तो टोली गठन गर्नुलाई ‘आन्दोलनकै अपमान’ बताउँदै वार्ता अस्वीकार गरेका छन्।
सम्बन्धन दिलाउन लागिपरेका र हामीले कारबाही माग गरेका मन्त्रीलाई नै वार्ताटोलीमा राख्नु आन्दोलनकै अपमान हो,’ डा. केसीले शुक्रबार नागरिकसँग भने, ‘यो तीन करोड नेपाली जनताको पनि अपमान हो।’
अनशनको छैठौं दिन सरकारले डा. केसीसँग वार्ता गरी समस्या समाधान गर्न शिक्षामन्त्री चित्रलेखा यादवको संयोजकत्वमा स्वास्थ्यमन्त्री खगराज अधिकारी र मुख्यसचिव लीलामणि पौडेल सदस्य रहेको समिति गठन गरेको थियो।
वार्ता टोलीका तीनै जना सदस्य शुक्रबार राति साढे १० बजेतिर डा. केसीलाई भेट्न अनशनस्थल टिचिङ अस्पताल पुगेका थिए।
डा. केसीले मन्त्रीद्वयसँग औपचारिक कुराकानी गर्नै मानेनन्। सम्बन्धन दिने प्रक्रियामा प्रत्यक्ष संलग्न शिक्षामन्त्री यादव र अप्रत्यक्ष संलग्न स्वास्थ्यमन्त्री अधिकारीसँग उनले औपचारिक कुराकानी गर्न अस्वीकार गरे।
‘मैले व्यक्तिगत रूपमा तपाईंहरूलाई अनादर गर्न खोजेको होइन, तर म तपाईंहरूसँग वार्ता गर्न सक्दिनँ,’ डा. केसीले मन्त्रीद्वयलाई भनेका थिए, ‘हाम्रो आन्दोलनमा ऐक्यबद्धता जनाउन आउनुभएको हो भने ठिक छ, नभए वार्ता हुन सक्दैन।’
उनले आफ्ना माग राम्ररी पढ्नसमेत मन्त्रीद्वयलाई आग्रह गरे। ‘तपाईंहरूलाई कारबाही हुनुपर्छ भन्ने पनि मेरो एउटा माग छ, कसरी वार्ता गर्ने?’ उनले भने।
लगत्तै स्वास्थ्यमन्त्री अधिकारीले ‘हामी आइसकेका छौं, हाम्रो कुरा पनि सुन्नुस्’ भन्दै डा. केसीप्रति उच्च सम्मान रहेको बताएका थिए। उनीहरूले सरकार चिकित्सा शिक्षा नीति नबन्दासम्म सम्बन्धन दिने पक्षमा नरहेको बताए। ‘तपाईंको असन्तुष्टि सम्बोधन गर्दै हामी समितिमा सुधार गर्न आग्रह गर्नेछौं,’ उनले भने।
डा. केसी भने दोहोरो कुरा नगर्ने भन्दै मौन बसेका थिए। मन्त्रीद्वय अनशनस्थलबाट बाहिरिएपछि मुख्यसचिव पौडेलसँग उनले एक्लै छलफल गरेका थिए। त्यतिबेला अनशनस्थलबाट अरूलाई पनि बाहिर पठाइएको थियो।
डा. केसीको चौथो अनशन क्रममा सरकारले ‘चिकित्सा शिक्षा नीति नबन्दासम्म सम्बन्धन बन्द गर्ने’ निर्णय गरे पनि शिक्षामन्त्री यादवले गत साउनमा त्रिवि पदाधिकारीलाई चिठी लेखेर मनमोहन मेमोरियललाई सम्बन्धन दिन निर्देशन दिएकी थिइन्। विराट र देवदह मेडिकल कलेजको सम्बन्धन प्रक्रिया पनि उनकै निर्देशनमा अघि बढेको थियो।
स्वास्थ्यमन्त्री अधिकारीले पनि सरकारले चिकित्सा शिक्षा नीति बनाइरहँदा पोखरामा स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने निर्णय गरिसकेका छन्। आफ्नो अभियानको मर्म नबुझ्नेहरूसँग वार्ता नगर्ने डा. केसीको अडान छ।
यसबीच अनशनको छैटौं दिन चिकित्सकहरूको आन्दोलनले अझ तीव्रता लिएको छ। दसबुँदे माग राखेर आइतबारबाट अनशन थालेका डा. केसीको बिग्रँदो स्वास्थ्य अवस्था र उनका माग सरकारी बेवास्तापछि देशभरका चिकित्सक आन्दोलित छन्।
टिचिङ अस्पतालका रेजिडेन्ट डाक्टर तथा विद्यार्थी शुक्रबारबाट ओपिडी सेवामा सहभागी भएनन्। २ सयभन्दा बढी रेजिडेन्टले ओपिडी छाडेपछि टिचिङको सेवा प्रभावित भएको छ। सरकारले माग पूरा गर्न तत्परता नदेखाए आइतबार अन्य सेवामा समेत सरिक नहुने उनीहरूको अडान छ।
नेपाल चिकित्सक संघले पनि शुक्रबार विज्ञप्ति जारी गरेर संघको सदासयलाई कमजोरी नठान्न चेतावनी दिएको छ। सरकारी चिकित्सक संघ (गोदान), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका रेजिडेन्टले समेत सेवा ठप्प पार्ने चेतावनी दिएका छन्।
ऐक्यबद्धता बढ्दै

विभिन्न राजनीतिक दल तथा संघ–संगठनले केसीका मागमा ऐक्यबद्धता जनाउने क्रम बढ्दो छ। शुक्रबार ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, नेपाल कम्युनिस्ट पार्टी माले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द), राप्रपा नेपाल, नागरिक समूहलगायत संघ–संगठनले ऐक्यबद्धता जनाएका छन्। अखिल क्रन्तिकारीले पनि डा. केसीको मागमा समर्थन जनाएको छ। नागरिक समाजले शुक्रबार अनशनस्थलमा धर्ना एवं ऐक्यबद्धता सभा आयोजना गरेको छ।
डा. केसीको स्वास्थ्य अवस्था बुझ्न राजनीतिक दलका नेता अनशनस्थल पुग्ने क्रम पनि बढेको छ। शुक्रबार कांग्रेस नेता अर्जुननरसिंह केसी, नवीन्द्रराज जोशी, एकीकृत माओवादीका राम कार्की, नेकपा संयुक्तका विष्णुबहादुर मानन्धर, राप्रपाका पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, नेकपा संयुक्तका सुनील मानन्धरलगायत नेता अनशनस्थल पुगेका थिए। चैतन्य मिश्र, जुगल भुर्तेल, मुमाराम खनाललगायत बुद्धिजीवी पनि डा. केसीलाई भेट्न अनशनस्थल पुगे।
स्वास्थ्य अवस्था झन् गम्भीर

अनशनको छैटौं दिन छातीको दुखाइ बढेर श्वासप्रश्वासमा समेत समस्या भएपछि डा. केसीलाई अक्सिजन दिन थालिएको छ। रगतमा अक्सिजनको मात्रा घट्न थालेपछि उनलाई अक्सिजन दिइएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
डा. दिव्यासिंह शाहका अनुसार महत्वपूर्ण अंगको निगरानी बढाउन आटरियल लाइनसमेत जोडिएको छ। स्वास्थ्य अवस्था एक्कासि खस्किए यसबाट महत्वपूर्ण औषधि दिन सकिन्छ। चिकित्सकहरूले जुनसुकै समयमा जेसुकै हुनसक्ने भन्दै जीवनदायी औषधिसमेत तयार राखेका छन्।
‘स्वास्थ्य अवस्था नाजुक भइसकेको छ, यही अवस्थामा शरीरले धेरै दिन धान्न सक्दैन,’ डा. शाहले भनिन्, ‘समस्या समाधानका लागि पहल गर्न हामीसँग धेरै समय छैन।’
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस