ताजा खवरहरु:

एमाले दबाबमा सम्बन्धन खोलेँ : प्रधानमन्त्री

gkcकाठमाडौं-प्रधानमन्त्री सुशील कोइरालाले सत्तासाझेदार नेकपा एमालेको दबाबमा आफूले मेडिकल कलेज सम्बन्धन खोल्नुपरेको जनाउँदै त्यसबारे एक्लै निर्णय गर्नै नसक्ने बताएका छन्।
बालुवाटारमा बिहीबार आफूलाई भेट्न आएका मानवअधिकारकर्मी तथा चिकित्सकले डा. गोविन्द केसीका माग सम्बोधनको आग्रह गरेपछि प्रधानमन्त्री कोइरालाले जवाफमा ‘सत्तासाझेदार नेकपा एमालेको सहमतिबिना आफू कुनै निर्णय गर्न नसक्ने' निरीहता प्रकट गरेका हुन्।

‘बरु तपाईंहरूले एमाले अध्यक्ष केपी ओलीजीलाई पनि यस विषयमा सम्झाइदिनू,' प्रधानमन्त्री कोइरालाको भनाइ उद्धृत गर्दै भेटमा संलग्न चिकित्सक डा. केदारनरसिंह केसीले नागरिकसँग भने। पाँच दिनदेखि अस्पतालमै आमरण अनशन बसेका डा. केसीको माग पूरा गरी जीवनरक्षाका लागि ध्यानाकर्षण गराउन मानवअधिकारकर्मी चरण प्रसाईं, कपिल श्रेष्ठ, सुबोध प्याकुरेल, पत्रकार कनकमणि दीक्षित र चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीको टोली बिहीबार अपराह्न बालुवाटार पुगेको थियो। कोइरालाले चिकित्सा शिक्षा नीति नबन्दासम्म मेडिकल सम्बन्धन बन्द गर्न आफैंले दिएको निर्देशनविपरीत सत्तासाझेदार एमालेको दबाबमा सम्बन्धन खोल्नुपरेको बताएका थिए। भेटमा सहभागी डा. केदारनरसिंहका अनुसार प्रधानमन्त्री कोइरालाले डा. केसीका माग सम्बोधन गर्न छिट्टै एमालेसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘म एमालेसँग छलफल गर्छु, तपाईंहरू पनि डा. केसीसँग छलफल गर्नुस्,' कोइरालालाई उद्धृत गर्दै डा. केदारनरसिंहले भने, ‘तपाईंहरूले केपीजीलाई पनि भेटेर सम्झाइदिनुस्।' अधिकारकर्मीहरूले चिकित्सा शिक्षा नीति तर्जुमा गर्न त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. केदारभक्त माथेमाको संयोजकत्वमा टोली बनिसकेको अवस्थामा प्रतिवेदन नआउँदै सम्बन्धन खोल्नु प्रधानमन्त्रीको त्रुटि भएको औंल्याएका थिए। उनीहरूले डा. केसीको स्वास्थ्य जीर्ण भइसकेको र चिकित्सकहरू कडा आन्दोलनको तयारीमा रहेको जानकारी गराउँदै स्थिति सम्हाल्न नीति नबन्दासम्म सम्बन्धन रोक्ने प्रतिबद्धता जारी गर्न प्रधानमन्त्रीलाई सुझाएका थिए। भेटमा संलग्न एक अधिकारकर्मीका अनुसार सुरुमा केही आक्रोशित कोइरालाले आफूले यो विषय राम्ररी बुझेको दाबी गरेका थिए। ‘सत्तासाझेदारको दबाबमा सम्बन्धन खोलेको हुँ,' ती अधिकारकर्मीले प्रधानमन्त्रीलाई उद्धृत गर्दै भने, ‘पाण्डेजी (राजेन्द्र पाण्डे) ले निकै दबाब दिनुभएकोे छ, अर्बौं लगानी गरिसकेँ, करोडौं ब्याज तिरिरहेको छु भन्नुहुन्छ।' ‘मैले नयाँ कलेजलाई पो सम्बन्धन दिन्नँ भनेको हुँ त, सरकारबाटै मनसायपत्र पाएर लगानी गरिसकेकालाई रोक्न मिल्छ र?' प्रधानमन्त्रीले भनेका थिए। प्रधानमन्त्रीको यस्तो तर्कपछि भेटमा सहभागीहरूले मनसायपत्र लिएका सबैलाई सम्बन्धन दिने हो भने गाउँमा भएका सबै डाक्टर सरकारी जागिर छाडेर राजधानी थुप्रिने र त्यसले गाउँलाई झन् स्वास्थ्य सेवाविहीन बनाउने बताएका थिए। नीति नबन्दासम्म हचुवा भरमा सम्बन्धन दिन नहुने उनीहरूको भनाइ थियो। कोइरालाले आफूले डा. केसीलाई यसअघि नै अनशन नबस्न सम्झाए पनि नमानेको दाबी गरेका थिए। अधिकारकर्मीको टोली निस्किने बेला बालुवाटार पुगेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पनि उनीहरूले समस्याबारे अवगत गराएका थिए।

आजबाट ओपिडी सेवा बन्द

डा. केसी अनशनको पाँचौं दिन पनि सरकारबाट कुनै चासो व्यक्त नभएपछि शिक्षण अस्पताल, महाराजगन्जका रेजिडेन्ट डाक्टरले बृहत भेला बोलाएर आन्दोलन चर्काउन जुनसुकै कदम चाल्ने निर्णय गरेका छन्। भेलामा शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति, प्रसूति गृह, गंगालाललगायत प्रमुख अस्पतालमा कार्यरत रेजिडेन्ट, चिकित्सक संघका प्रतिनिधि, चिकित्सक प्राध्यापक संघ, फ्याकल्टी डक्टर्स लगायतका प्रतिनिधि सामेल थिए। उपस्थित चिकित्सकहरूले आन्दोलनको नेतृत्व लिन चिकित्सक संघलाई आग्रह गरेका थिए। ‘सबै अस्पतालको रेजिडेन्ट सेवा क्रमशः रोक्दै दबाब बढाउँदै लाने निर्णय भएको छ,' आइओएम रेजिडेन्टका महासचिव डा. नर्मल लामिछानेले नागरिकसँग भने। उनका अनुसार आइओएम रेजिडेन्टहरूले शुक्रबारैदेखि ओपिडी सेवामा सहभागी नहुने निर्णय गरिसकेका छन्। यसअघि आइओएमका विद्यार्थीले बुधबारदेखि नै पठनपाठन रोकेका छन्। यसअघि अन्डरग्राजुएट विद्यार्थीले बिहीबार बिहानै आँखामा कालोपट्टी बाँधेर सांकेतिक जुलुस र साँझ डा. केसीको समर्थनमा मैनबत्ती बालेका थिए। भेलामा आइओएमका फ्याकल्टी डक्टर्सले ‘रेजिडेन्टले छाडेपछि चाहेर पनि सेवा निरन्तरता दिन नसक्ने' बताए।

नागरिक समाजको तीव्र दबाब

राष्ट्रिय मानवअधिकार आयोगले डा. केसीको आमरण अनशनबाट उत्पन्न परिस्थितिलाई वार्ता र संवादबाट तार्किक निष्कर्षमा पुर्या उन सरकारको ध्यानाकर्षण गराएको छ। आयोगको टोली सदस्य सुदीप पाठकको नेतृत्वमा डा. केसीको अवस्था बुझ्न बिहीबारै अनशनस्थल पुगेको थियो। नेपाल बार एसोसिएसन, मानवअधिकार तथा जनसहयोग समितिले पजि विज्ञप्ति जारी गरी डा. केसीका माग तत्काल सम्बोधन गर्न र उनको जीवनरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको छ। त्यस्तै, चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले छुट्टै विज्ञप्तिमार्फत डा. केसीले उठाएका र संघसँग भएका सहमति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। वैद्य नेतृत्वको नेकपा–माओवादीले पनि विज्ञप्तिमार्फत केसी अनशनमा ऐक्यबद्धता जनाएको छ।

डा. केसीको स्वास्थ्य झन् गम्भीर

उपचारमा संलग्न चिकित्सकहरूले डा. केसीको पिसाबमा संक्रमण देखिएको बताएका छन्। उनमा छातीको दुखाइ, रिंगटा लाग्ने समस्या बढेको छ। मिर्गौला र फोक्सोको अवस्था सामान्य छ भने रक्तचाप ११०/७० छ। ‘जुनसुकै बेला जे पनि हुनसक्छ,' चिकित्सकहरूले बिहीबार जारी गरेको स्वास्थ्य बुलेटिनमा उल्लेख छ।

सम्बन्धनबाट ब्याक हुन्नौं : त्रिवि रेक्टर

त्रिभुवन विश्वविद्यालयका रेक्टर गुणनिधि न्यौपानेले पूर्वाधार र मापदण्ड पूरा गरेका मेडिकल कलेजहरूलाई सम्बन्धन दिने निर्णयबाट त्रिवि पछि नहट्ने बताएका छन्। सम्बन्धन दिनकै लागि सूचना जारी गरिएकाले त्रिवि त्यसमा कायम रहेको उनले बताए।
त्रिविले प्रधानमन्त्री र शिक्षामन्त्रीको निर्देशनअनुसारै सम्बन्धनका लागि सूचना जारी गरेको उनको दाबी छ। ‘आइओएम फ्याकल्टी बोर्डले ‘सम्बन्धन दिन नसक्ने’ भनी गरेको निर्णयबारे त्रिवि कार्यकारी परिषदले पुनः निर्णय लिनेछ,’ रेक्टर न्यौपानेले बिहीबार रिपोर्टर्स क्लबमा भने, ‘फ्याकल्टी बोर्डको निर्णय मिल्छ कि मिल्दैन हेर्छौं, नमिल्ने भए उल्टिन सक्छ।’ डा. केसीको आन्दोलनले आगोमा घिउ थप्ने काम गरेको उनको भनाइ थियो।
सम्बन्धन खोजिरहेको मनमोहन मेडिकल कलेजका सञ्चालक डा. वंशीधर मिश्रले डा. केसीको आन्दोलनलाई ‘हुनेवाला ससुरासँग छोरी दिन्छौ कि दिन्नौ भन्ने माग’ भनी टिप्पणी गरे। उनले यसलाई ‘बालहठ’ को संज्ञा पनि दिए। ‘केही मिडियाले डा. केसी ठिक, बाँकी सरकार, मन्त्री, संसद, प्रहरी सबै बेठिक भन्दै माफियाजस्तो बनाएर गलत प्रचार गरिरहेका छन्,’ उनले भने।
कार्यक्रममा चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले भने मेडिकल शिक्षा अनुगमन गर्ने संयन्त्र नभई सम्बन्धन दिँदा गुणस्तरीय शिक्षा सुनिश्चित नहुने बताएका थिए। मेडिकल विश्वविद्यालय बनाउने, राष्ट्रिय शिक्षा नीति लागू गर्ने र भौगोलिक एवं आवश्यकता निर्धारण गरेपछि मात्र सम्बन्धन दिनुपर्नेमा उनले जोड दिए।
नेसलन मेडिकल कलेज

 

gkc


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading