सबै कर्मचारी खराब छैनन्, खराव जति नेताका नजिकका छन: शारदा प्रसाद त्रिताल

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्मचारीतन्त्रका कारण मुलुकमा संघीयता धरापमा परेको र कर्मचारीले नेताहरुको दिमाख खराब गरेको आरोप लगाएको भोलिपल्ट नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालले उनलाई कडा जवाफ दिएका छन् । बालुवाटारस्थित ललिता निवासको जग्गा अतिक्रमण प्रकरणको तथ्य बाहिर ल्याउन आँट गर्ने पूर्वसचिव त्रितालले सामाजिक सञ्जालमार्फत प्रचण्डको आरोपको कडा आलोचना गर्दै सबै कर्मचारी खराब नरहेको र जति पनि खराब छन्, उनीहरुको संगत नेताहरुसँग रहेको जवाफ दिएका छन् । त्रितालको प्रतिक्रिया जस्ताको तस्तैः राजनीतिकर्मीले कर्मचारीलाई किन खराब देख्छन् ?

अहिले नेपालमा राजनीतिककर्मी (राजनीतिक दलका नेता र कार्यकर्ता तथा मन्त्रिमण्डलका सदस्यसमेत)ले प्रशासकहरु प्रति शायद इतिहास मै सबैभन्दा बढी आलोचना गर्ने गरेको र प्रशासनयन्त्र विरुद्ध खुलेर लागेको देखिएको छ । मेरो विचारमा देहायका कारणले यस्तो भएको हुन सक्छः १. अधिकांश नेता तथा कार्यकर्ताको संगत त्यस्ता कर्मचारीसँग हुन्छ, जो कामचोर, भ्रष्ट र कम ज्ञान सीप भएको हुन्छ । किन कि यस्ता कर्मचारी मात्र नेता तथा कार्यकर्ताकोमा धाएर उनीहरुलाई जसरी पनि आफूप्रति आकर्षण गराउन प्रयास गरिरहेका हुन्छन् । अधिकांश नेताहरुले यिनकै मात्र कुरा सुन्ने गरेको पाइन्छ । २. प्रायः सबै भ्रष्ट कर्मचारीले मन्त्री, नेता तथा कार्यकर्तालाई चुनाव खर्चलगायत अन्य दैनिक खर्चमा सहयोग गरेका हुन्छन् । र, ती राजनीतिककर्मीले सबै कर्मचारी यस्तै भ्रष्ट र हुने खाने हुन्छन् भन्ने धारणा बनाएका हुन्छन् । ३. नेपालका राजनीतिक दलहरुले लोकतन्त्रमा प्रशासनयन्त्रको मर्म र भूमिका बारेमा स्पस्ट दृष्टिकोण बनाउन सकेका छैनन् । जसले गर्दा हरेक राजनीतिक व्यक्तिले राजनीतिक सोचभन्दा पनि व्यक्तिगत सोचका आधारमा कर्मचारीका सम्बन्धमा आफ्नो धारणा राख्ने गर्छन् । ४. इमान्दार र योग्य कर्मचारी नेताहरुकोमा धाउँदैनन् । कानून विपरीत कुनै पनि किसिमको सहयोग गर्दैनन् । त्यसैले ती कर्मचारीप्रति नेताहरुको धारणा नकारात्मक हुन्छ । ५. इमानदार र योग्य कर्मचारीले कानून र पद्दती नाघेर काम गर्दैनन् । कानून र पद्दती मिचेर काम गराउन चाहने नेताहरु ती कर्मचारीप्रति नकारात्मक हुन्छन् । ६. भ्रष्ट र कामचोरहरुले इमान्दार कर्मचारीको बारेमा गलत सूचना नेताहरुलाई दिन्छन् । त्यसैले ती कर्मचारीप्रति नेताहरुको धारणा नकारात्मक हुन्छ । ७. यदि स्थायी कर्मचारीले काम नगरेको वा सहयोग नगरेको मान्ने हो भने नेताहरुको सिफारिसमा राजनीतिक नियुक्ति गरिएका पदाधिकारीहरुको कार्यसम्पादन कर्मचारीको भन्दा कुनै राम्रो देखिएको छ आजसम्म ? ८. संविधान बनेपछिको शासकीय व्यवस्थाअनुरुप प्रशासनमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गर्ने विज्ञसहितको कार्यदल वा समिति वा आयोग बनाउन नेताहरुले किन आवश्यक ठानेनन् ?

Advertisements

Leave a Reply