बर्षाका कारण मोरङमा ५५ परिवार बिस्थापित

केही दिनदेखी परिरहेको बर्षाको कारण मोरङमा सात सय ५५ परिवारका विस्थापित भएका छन् । शुक्रबारसाँझ सम्ममा सात सय ५५ परिवारका ३५ सय भन्दा बढी जनसंख्या डुबानको चपेटामा परेर विस्थापित बनेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए । विराटनगर महानगरपालिका, बूढीगंगा, कटहरी, धनपालथान र जहदा गाउँपालिकाका धेरै जसो घर डुबानमा परेका छन् । अन्य ठाउँमा पनि सामान्य डुबान र कटानको समस्या रहेको प्रजिअ केसीले बताए ।

धनपालथान र कटहरी गाउँपालिकाको सीमाना भएर बग्ने लोहन्द्रा खोलाको बाढी गाउँ पस्दा सबै भन्दा बढी कटहरीको ४ नम्बर वडा प्रभावित बनेको छ । त्यस्तै विराटनगर–१, ६ र ८ र १६ नम्बर वडा बाढीका कारण बढी प्रभावित बनेका छन् । प्रजिअ केसीले डुबानको चपेटामा परेकाहरु घरमा बस्न सक्ने अवस्था नभएको जनाए । उनीहरुलाई सार्वजनिक स्थल, स्कुल, मन्दिर लगायतका स्थानमा लगेर प्रारम्भिक चरणको राहत वितरण गर्दै सुरक्षित पारिएको उनको भनाइ छ ।

मोरङमा बाढी कारण मानविय क्षति भने भएको छैन । तर धेरै जसो घर डुबानमा परेका छन् । वर्षा रोकिएसँगै डुबान प्रभावितहरु घर फर्कन सक्ने वातावरण बन्ने प्रजिअ केसीको भनाइ छ । विशेष गरेर सुकुम्बासी बस्ती बढी प्रभावित बनेको र सबै जसो घरमा बाढी पसेर डुबान भएको केसीले बताए । कतिपय ठाउँमा स्थानीय तहको सक्रियतामा सामान्य किसिमको राहत बाँड्ने काम सुरु भइसकेको छ ।

विभिन्न जोखिमयुक्त ठाउँमा उद्धारका लागि नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । शुक्रबार दिउँसोबाट पानी पर्न केही कम भएकाले उद्धारमा थोरै सहज भएको प्रजिअ केसीले बताए । भने, ‘डुबानबाट मानविवय तथा भौतिक क्षति हुन नदिनका लागि ठाउँ ठाउँमा विशेष उद्धार टोली परिचालन गरिएको छ । सम्भावित जोखिमयुक्त ठाउँका सर्वसाधारणलाई पनि सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।’

कटहरीको १, २, ३, ४ नम्बर वडाका अधिकांश बस्ती डुबानमा परेको गाउँपालिका अध्यक्ष रामकुमार कामतले बताए । कटहरी र धनपालथानको सीमाना भएर बग्ने लोहन्द्रा खोलामा आएको बाढी बस्तीतिर पसेपछि धेरै घर डुबानमा परेको उनले बताए । कामतले वडा नम्बर ६ मा पनि पाँचवटा घर कटानमा परेको बताए । कटहरी– ४ स्थित गन्नु टोल चौतर्फी पानीले घेरिदाँ केहीमा मानिस घरभित्रै फसेको र उनीहरुको उद्धार गरिएको कामतको भनाइ छ ।

खोलाले बगाएर ल्याएको झ्यासले कटहरी र धनपालथन जोड्ने लोहन्द्र खोलाको पक्की पुल थुनिने सम्भावना बढेको छ । पुल मुनीको भाग सफाईका लागि एक्साभेटरसहितको प्रहरी टोली परिचालन गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । ‘यदि पुल थुनियो भने थप क्षति हुने छ,’ उनले भने, ‘त्यही भएर खोलाले बगाएर ल्याएको झ्यास नअड्कियोस भन्नका लागि एक्साभेटरसहितको सफाई टोली परिचालन गरेर धमाधम सफाईको काम भइरहेको छ ।’

कटहरी–३ का अशोक भगतले बिहान ७ बजे आफ्नो घरमा बाढीसहितको पानी पस्न थालेको बताए । साँझसम्ममा टाटीले बेरा लगाएर बनाएको उनको घरको आधा जति भाग डुबानमा परिसकेको थियो । रंगेली–विराटनगर सडक खण्डमा रहेको घरमा बाढी पसे पनि निकाल्न नसक्दा सामान भने घर भित्रै रहेको भगतले बताए ।

कटहरी–३ का उमेशकुमार साहले खोला जस्तै बनेर पसेको बाढीले घर नै बगाउन लागेको बताए । उनले घर नै बग्न लागेपछि परिवारका सदस्य खुला ठाउँमा बसिरहेको बताए । हानदेखि आएर विभिन्न व्यक्तिहरुले पीडितका रुपमा सोधिखोजी गरिरहे पनि पानीको उचित निकास नहुँदा बेलुका कहाँ बस्ने भन्ने चिन्ताले सताएको पीडितहरुको गुनासो छ । कटहरी–३ का वडा अध्यक्ष जदुलाल कामतले वर्षाले धेरै समस्या बनाएपछि पानीको निकासका लागि आफू बिहानैदेखि एक्सभेटरसहित निस्किएको बताए । ‘धेरै परिवारका प्रभावित छन्,’ उनले भने, ‘म बिहानैदेखि डुबान क्षेत्रमै खटिएको छु ।’ कामतले विभिन्न स्थानमा ब्लकेज भएका नालाहरु खुलाउने काम भइरहेको बताए ।

Leave a Reply