एनआरएनएमा राजनीतिकरण स्यालको हुँइया

१९ जुलाई २०१७, एडिलेड- गैर आवाशिय नेपाली संघमा राजनिति हावि छ । राजनितिले संस्था बिग्रिसक्यो । संस्थामा भएको राजनितिका कारण धेरैको संस्थाप्रति आस्था र विश्वास हराइसक्यो । फलानो इन राजनिति आउट । राजनितिका कारण गैर आवाशिय नेपाली संघ अवको २५ वर्षपछी रहदैन । यी हाल अन्तराष्ट्रिय बजारमा नेपाली समुदायहरुमाझ विद्यमान हल्लाहरु हुन ।

गैर आवाशीय नेपाली संघ राजनीतिका कारण बनेको हो, राजनीतिकै कारण यो संस्था जिवित रहेको हो अथवा अन्य कुनै शक्तिले यसलाई जन्मायो र राजनीतिले सखाप पार्दैछ भन्ने चर्चा जरुरी छ । ‘राजनीति’ भनेको आफैमा निकै गहन विषय हो । कुनैपनि संस्थामा राजनीति हावि भयो भन्ने कुराको वास्तवमा कुनै अर्थ नै रहदैन । गुट हावी भयो अथवा गलत सिदान्त अवलम्बन गरिदैछ जसले संस्थालाई दुरगामी नकारात्मक प्रभाव पार्नेछ भन्नु तर्कसंगत हो ।

राती जंगलमा एउटा स्याल ‘हुइया’ गर्दै करायो भने अन्य स्यालहरु त्यो स्याल किन करायो भन्ने कुरा बुझ्दै गरौंला तर कराउने मौकाको उपयोग भने गरिहालौं भन्दै पालैपालो  कराउन थाल्छन र जंगल नै स्यालहरुका निरर्थक आवाजहरुले केहिबेर अशान्त बन्छ । यस्तै एनआरएनमा पनि एउटाले राजनीति भयो भन्नु र अरु पनि राजनीति भयो भन्दै उसैको पछि लाग्नु कि त जंगलमा त्यहि स्यालहरुको परिपाटिको उपज हो नत्रभने जानेर वा नजानिकनै राजनीति भयो भन्ने विचारधाराको रणनीतिमार्फत सर्वसाधारणलाई वेबकुफ बनाई आफुले पद प्राप्तिको सपना बुन्ने कुनै राजनीतिकर्मीको कार्यकर्ता बन्नु हो । गएको चुनावमा पनि राम्ररी हेर्ने हो भने अस्ट्रेलियन नेपाली समाजको राम्रो अनुभव नभएका, खास एजेण्डा नभएका केही मानिसहरुले एनआरएनमा राजनीति छ, हामी गएर राजनीति समाप्त पार्छौ भन्ने एजेण्डा लिएर आए । केही मतदाताले भोटपनि दिए । तर राजनीतिमा केहिबेर सबैलाई बेवकुफ बनाउन सम्भव छ । केहीलाई संधैभरी बेवकुफ बनाउनपनि संभव होला । तर सबैलाई सधैभरी बेवकुफ बनाइराक्छु भन्ने सोच कसैले नराखे हुन्छ । यदि राख्छ भने उ नै ठुलो बेवकुफ हो ।

राजनीतिको आधारभुत परिभाषा हुन्छ- नागरीक या व्याक्तिगत स्तरबाट आवलम्बन गरिने विशेष प्रकारको सिद्वान्त । अर्थात समुदाय वा राज्यको पद प्राप्तिको प्रयास वा उपयोग गर्नु नै राजनीति हो । राजनीतिमा धेरै रणनीतिहरु बनाइन्छन र पदको प्राप्ति वा उपयोगका लागी यसरी बनाइएका रणनीतिहरुलाई लागु गरिन्छन । जस्तै विचारधाराहरु बनाउनु र तिनलाई अगाडि बढाइनु, कानुन बनाउनु, प्रतिस्पर्धिलाई परास्त गर्न युद्दसम्म गर्ने आदि । प्रेम र युद्दमा हरेक कुरा जायज हुन्छन भन्ने प्रसिद्द उखान नै छ ।  राजनीतिका आ-आफ्ना स्तर हुन्छन । गाँउ वा समुदायस्तर, स्थानिय सरकार स्तर, राज्यस्तर र अन्तराष्ट्रियस्तर ।  (क्रिएटिभ कमन्स एट्रिब्युसनबाट साभार)

माथिको परिभाषाबाट हामीले दिनहु गर्ने गर्ने कामहरुको सैदान्तिक नाम नै राजनीति रहेको प्रष्ट हुन्छ । पुर्बी परम्पराअनुसार  हाम्रो घरमापनि राजनीति हुन्छ । घरको वातावरणलाई राम्रो बनाइराख्न घरभित्रपनि राजनीति जरुरी हुन्छ, त्यसको मुख्य व्याक्तिको भुमिका बाबुआमाले निभाइराखेका हुन्छन, जसरी राज्य प्रमुखको भुमिका परापुर्वकालमा राजामहाराजले निभाउने गर्दथे र बर्तमान युगमा राज्यको नियमअनुसार  प्रधानमन्त्री/राष्ट्रपतिहरुले निभाइराखेका हुन्छन । घरभित्र सानाले ठुलालाई आदर गर्ने र ठुलाले सानालाई माया गर्ने अलिखित नियम हुन्छ । एकअर्काको आवश्यकता एकअर्काबाट पुरा हुन्जेल यहि नियमनले घरपरीवार संचालन भइरहेको हुन्छ । अवश्यकता बढ्दै गएपछि र नियमको परीधिबिच बस्नसक्ने वातावरण समाप्त भएपछि एउटा परीवार विघटन हुन्छ र नया स-साना परीवारहरु बन्छन । त्यहि हाम्रा घरहरुको समुह बढ्दै गएर समाज, गाँउ, नगर हुदै राज्य बन्छ र संचालनका लागी नियमहरु परिस्कृत बन्दै कानुनहरु बन्छन । राजनीति त समुहमा परापुर्वकालदेखी रहदै आएको छ र समुह रहुञ्जेसम्म रहिरहनेछ । समुहको मार्गप्रसस्त गर्ने काम भने नियमकानुन र हामीले प्रयोग गर्ने सिदान्तहरुले गर्ने हो । तसर्थ गैर आवाशिय नेपाली संघमा राजनीति भयो भन्ने कुरा ध्रुव सत्य हो । किन भने समुह निर्माण हुने पद्दति नै राजनीति हो । राजनीतिबिना कुनैपनि समुहको निर्माण असम्भव छ । एक धार्मिक समुह निर्माण गर्न प्रयोग गरिने नियम र सिदान्तहरुपनि राजनीति हो । एक गैरनाफामुलक संस्थाको गठन गर्ने प्रक्रियापनि  राजनीति नै हो । दुइ व्याक्तिविच हुने कुराकानीहरुपनि राजनीति नै हुन । ब्याक्ति बिचमात्र नभएर जनावरको समुहमापनि राजनीति कायम रहेको हुन्छ । अत: समाज राजनीतिबाट अछुतो रहनै सक्दैन ।

के चाही गर्न सकिन्छ भने, बाहिर रहिञ्जेल जे गरेपनि संस्थामा पसिसकेपछि नेपालबाट लिएर आएको राजनीतिक कुसंस्कारलाई आबलम्बन गर्दिन भनेर ब्याक्तिको स्तरबाट प्रण र संघको स्तरबाट राजनीतिक कुंसस्कारहरुलाई सस्थाभित्र लागु गर्न कठिन हुने नियमहरु बनाई कडाइका साथ लागु गर्ने काम ।

संस्थाले समुदायलाई फाइदा र घाटा गराउने भनेको संस्थाले अवलम्बन गर्ने राजनीतिक संस्कार र नियमहरुले हो । संस्कार भनेको छिनमा परीवर्तन हुने कुरा होइन । यसका लागी युग लाग्छ । अत: हाम्रा पालामा हाम्रो संस्कार पुर्णरुपमा छोडेर हामीले अष्ट्रेलियन अथवा अमेरीकन पद्दति पुर्ण रुपमा आबलम्बन गर्न सक्छौं भन्ने पटक्कै संभव छैन । हामीले गर्न सक्ने भने सकारात्मक सोच राखेर नया पिढिका लागी पथ निर्माण गरिदिने हो र हामीभित्र भएको राजनीतिक संस्कारले सकेसम्म कमभन्दा कम क्षति प्रवासमा हुर्कदै गरेको हाम्रो सभ्यतालाई पुर्याउने हो  । हाम्रो सामुहिक भेटघाटमा लडाई झगडाहरु हुन्छन, किनभने हाम्रो संस्कार नै त्यहि हो । हामीसँग लडाइझगडालाई नियन्त्रण गर्नसक्ने शक्तिशाली नियम हामीले कहिल्यै हुनदिएनौं । यति भइकनपनि नेपाली जातिकै बेइज्ज हुनेगरी विदेसी पाउनाहरु बोलाएर ताण्डब कसैले नदेखाउ । किनभने हामी हाम्रो देशमा बाच्न नसक्ने अवस्था भएर नै बिदेशिएका हौं । हाम्रा केही पिंढीहरु हामीजसरी नै देशबाट पलायन हुनुपर्ने छ । हाम्रो जातीलाई खराब जातिको उपमा दिएर भावी पिंढीको बिदेश आउने बाटोलाई बन्द गर्न सहयोग गर्ने काम भने कसैले झुक्किएर पनि नगरौं । समुदायको लागी राम्रो हुने काम गर्नुपर्छ भन्ने छैन । तर अन्य समुदायमा हाम्रो समुदायप्रति नकारात्मक सन्देस जाने काम कसैले कुनै हालतमा पनि नगरौं ।

हामी ५ हजार बर्षको इतिहास बोकेका देशका मानिसहरु ३१९ बर्षअधि शुरु भएको मरुभुमीमा आज जीवन खोज्न आउनुपरेको छ । यसबाट के प्रस्ट हुन्छ भने हामीले बोकेको राजनीतिक संस्कार भौतिक संसारमा प्रगती गर्नका लागी उत्तम थिएनन । हामीले भौतिक प्रगति गरेर आफ्नै देशलाई उन्नत गराउने हो भने हामीले अबलम्वन गर्दैगरेको संकारलाई पुर्णरुपमा त्यागेर नंया सस्कार आबलम्बन गर्न सक्नुपर्दछ । मैले अगाडिपनि भनिसके त्यो एकछिनको कुरा होइन, युग लाग्ने कुरा हो ।  नेपालभित्रवाट आवलम्बन गरिरहेको सिदान्तहरुलाई पुर्णरुपमा फालेर नया संस्कार आबलम्बन गर्ने कुरा असम्भवजस्तै हो । तर करीव आधाजसो जनसंख्या बिदेशमा रहेका हामी नेपालीहरुले आफुलाई ‘रोल मोडल’ बनाएर नेपालमा नंया सस्कारलाई भित्र्याउन सक्छौं, इच्छाशक्ति हुने हो भने ।

राजनीतिले आफैमा कुनै पनि संस्थालाई विगार्ने काम गर्दैन । राजनीतिले केवल संस्थाको निर्माण गर्ने हो ।  बिगार्ने आवलम्वन गरिने सिदान्त र नियमकानुनको पालना गर्ने पद्दतिले हो । हामी विदेशमा रहने हरेक नेपालीले रोजगारीको निमित्त यहाको संस्थामा काम गर्दा आवलम्वन गर्ने नियमकानुन र यहांका मानिसहरुसँग काम गर्दा अपनाउने तौरतरीकाहरु नेपाली समुदायमा आबलम्बन गर्ने प्रण गर्ने हो भने विदेशको हाम्रो समुदाय सुध्रन समय लाग्ने छैन । अागामी दसबर्षमात्र हामीले तिनै संस्कार नियमहरु नेपालका नेपालीहरुसँग प्रयोग गर्ने हो भने नेपालकै राजनीतिक संस्कृति भौतिक आकाश चुम्ने भएर जान्छ, भोलीको पिढींले जिवन खोज्न विदेश भौतारिहरु पर्ने वातावरणको अन्त्य हुन्छ । विदेशको हाम्रो जीवन जतिनै सुखी भएपनि अस्थाइ हो । शताब्दिपछिपनि मेघालयबाट नेपालीहरु धपाईएका इतिहासहरु छन । भुटाबाट धपाईएका धेरै नेपालीहरु नेपालमै डेढदशक लामो शरणार्थीको कष्टकर जीवन बिताएर केही भर्खरै पुनस्थापित भएका छन, केही अझै क्याम्पमै छन ।  हाम्रो देश नेपाल नै हो, र हामीले नेपाल नै बनाउनुपर्छ ।

अत: स्यालको जमातजस्तो एउटाले बोल्नासाथ त्यसैको सिको गर्दै सुगा रटान मार्नुभन्दापनि विषयवस्तुको सुक्ष्म अध्यायन गर्ने बानी बसाल्ने हो भने समुदाय आफै बन्दै जान्छ । र विदेशमा बस्ने नेपालीहरुको सबैभन्दा ठुलो प्रतिनिधि संस्था गैर आवाशिय नेपाली संघपनि ।

Advertisements

Leave a Reply