पाँचौ अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन पर्थमा हुने
८ जुन २०१७, पर्थ- प्रत्येक दुई वर्षमा आयोजना हुने अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन अष्ट्रेलियाको पर्थ शहरमा सेप्टेम्बरको ९ र १० तारीकमा आयोजना हुने भएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा हुन लागेको पाँचौ साहित्यिक सम्मेलन अस्ट्रेलियामा भने पहिलो पटक हुन लागेको हो । पर्थमा हुन लागेको उक्त सम्मेलन पर्थको नेपाली समुदायस्तरबाट हुनलागेको पहिलो अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम हुने आयोजकको दाबी छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वेस्टर्न अष्ट्रेलिया शाखाको आयोजनामा हुन लागेको यस कार्यक्रममा नेपालका साथै विश्वभरिबाट साहित्यकार तथा लेखकहरुको सहभागिता हुने आयोजकले जानकारी दिएका छन । कार्यक्रममा नेपाल लगायत संसारभरका नेपाली भाषा तथा साहित्यप्रेमी महानुभावहरुलाइ सुन्दर नगरी पर्थमा ल्याउने यस कार्यक्रमका संयोजक तथा च्याप्टरका अध्यक्ष गणेश घिमिरेले जानकारी दिए । अध्यक्ष घिमिरेका अनुसार डायस्पोरामा रहेको नेपाली साहित्यलाई कसरी विश्वस्तरीय बनाउन सकिन्छ भन्ने बारेमा छलफल हुनेछ ।
यस प्रकारका सम्मेलनबाट नेपाली साहित्यको परिचय र बिकास विश्वका अन्य भाषिक साहित्यको दाजोमा पुर्याउनमा थप बल पुग्ने आयोजकहरुले जानकारी गराए । अहिले कार्यक्रमको पुर्व तयारीका लागि विभिन्न समितिहरुको निर्माण गरि आवस्यक पूर्वाधार तयार गर्न काम भइरहेको जानकारी कार्यक्रम संयोजक घिमिरेले जानकारी गराए । कार्यक्रमलाई सभ्य र भब्य रुपमा संचालन गर्न कुनै कसी बाँकि नराख्ने मूल आयोजक समितिका सह-संयोजक निरज क्षेत्रीले बताए । संस्थाका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले यस साहित्यिक सम्मेलन मार्फत नेपाली साहित्यको वर्तमान आयाम, नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण वारेमा छलफल हुने बताए । उनले यस सम्मेलन मार्फत विश्वभरि छरिएर रहेका नेपाली साहित्यकारहरुलाई एकै ठाउँमा जोड्ने दाबी समेत गरे । कार्यक्रम तयारी र आवस्यक व्यबस्थापनका लागि केन्द्रीय अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा संस्थाका बरिष्ट उपाध्यक्ष राधेश्याम लेकाली, ओसियाना उपाध्यक्ष भीमसेन सापकोटा र सचिव गणेश घिमिरे सहितको उच्चस्तरीय निर्देशन समिति निर्माण भएर काम भइरहेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक दुई बर्षमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आयोजना गर्दै आएको छ । यस अघि २०१५ मा पाँचौ सम्मेलन जापानको टोकियोमा आयोजना गरिएको थियो । संसारभरका ४० वटा भन्दा बढी देशमा झन्डै ९० को हाराहारीमा च्याप्टरहरु खोलेर नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्ष्ण र प्रबर्द्दन गर्ने यो सस्था सबै भन्दा ठुलो सस्थाको रुपमा रहेको संस्थाको दाबी रहेको छ |
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.


प्रतिकृया दिनुहोस