ताजा खवरहरु:

नेपाल हिन्दु राष्ट्र हुन किन जरुरी छ ?

३१ मे २०१६, काठमाण्डौ (मोहन लामा रुम्वा) - hindu२०४७ सालको संविधान विस्थापित गरेर नयाँ नेपालका नयाँ नायकहरूले अन्तरिम संविधानमा ‘विविध धर्म' शब्दावली थपेर नेपाललाई एकाएक धर्म निरपेक्ष घोषणा गरियो । धर्मकै सन्दर्भमा संसारको कुनै पनि देशमा कति प्रतिशतको संख्या भएको अवस्थामा ‘विविधता' हुन्छ ?  तर विद्वान् महोदय कुटिल मुस्कान छर्केर मौन बस्छन्, किन ?
धर्म निरपेक्षका धुरन्धर विद्वान्हरूबाट मुख्य रूपमा हिन्दु र बौद्ध धर्मको संख्यात्मक उपस्थिति देखाएरै नेपाल एक अन्य देशजस्तै विविधता भएको नजिर र आधार प्रस्तुत गर्ने गरिन्छ ।

भूगर्भविद्हरूले तिब्बतियन प्लेट र भारतीय महाद्वीपको प्लेटको टकरावले उठेको हिमाल पहाडको भौगोलिक चुचुरोजस्तै यो भूखण्डमा उत्तर र दक्षिणको धर्म र संस्कृतिको प्लेट पनि ठोकेर कैलाश पर्वत देखिन स्वयम्भुको डाँडासम्म बनेको नदेख्नुलाई अनौठो मान्ने कुरा भएन, किनभने पश्चिमी ज्ञान मीमांसाबाट दीक्षित, पोषित, पालित पण्डित जवाहरलाल नेहरू र उनकै नामबाट स्थापित दिल्लीको जेएनयू र त्यसैको छाउरो टीयूका प्रमाणपत्रधारी विद्यार्थीले बुझ्ने कुरा त हुँदै होइन, झन् साठी र सत्तरीको दसकमा बोराको बोरा पेकिङ प्रकाशन र मास्को प्रकाशनबाट प्रकाशित हुने ठेलीका ठेली मुड्की बटार्ने ग्रन्थका घोकन्तेहरूले त झनै बुझ्ने कुरै भएन ।
नेपाल एउटा सनातन धर्मको आदि थलो हो । ‘हिन्दु’ शब्दको व्युत्पत्ति हुनुअघि ‘मार्गी’ शब्दले विविधता बोध गरेको ठाउँमा हिन्दु शब्दको उच्चारणसँगै समष्टिगत रूपमा चिनाउन थालियो, त्यसभन्दा अगाडि बौद्ध मार्गी, बोन मार्गी, सैब मार्गी वैष्णो मार्गी, शाक्त मार्गी भनेर अनेकौँ समूहको रूपमा समाजमा प्रचलित थियो ।
नेपालमा बौद्ध धर्म प्रवेश गर्नुअगाडि बोन धर्म थियो, जुन बोन धर्मलाई दक्षिणमा आर्य समुदायमा ‘सैब मार्गी’ उत्तर हिमालय क्षेत्रमा बोन–बोन्पो–भोन्बो भनेर परिचित थियो यद्यपि अहिले पनि छ, त्रिदेवको रूपमा बोन धर्मावलम्बीले लानी छङ्वै रेञ्जेन, लानी वङ्वै ग्यप्जेन, लानी महादेओ (ब्रह्मा, विष्णु र महादेव) को पुजक बोन धर्मावलम्बीले सातौँ शताब्दीमा गुरु पद्म सम्भव (गुरु रेम्पुर्छे) ले विधिवत् रूपमा बौद्ध धर्मको प्रचारप्रसार गरेपछि मात्रै बौद्ध धर्मको जग बस्यो, तर बोन धर्मलाई निशेध गरेर होइन, सनातन बोन धर्मको मेरुदण्डलाई निधिको रूपमा समेटेर एउटा अलग्गै हिमाली हावापानीअनुरूपको बौद्ध धर्मको विकास ग‍र्‌यो, ब्रह्मा, विष्णु र महेश्वरलाई हिमाली बौद्ध धर्मभित्र पनि धर्म रक्षक (सुङमा) को रूपमा ग्रहण गरेर सनातन परम्पराको निरन्तरता दियो ।
तर भारतभित्र यस्तो सुखद् अवस्था हुन सकेन हिनयानको रूपमा अगाडि बढेको भारतीय बुद्धिजमले शाक्यमुनि बुद्धअगाडिका सबै सनातन निधिहरू निषेध गरेर अगाडि बढेपछि पुरानो र नयाँ (बौद्ध र हिन्दु) बीचमा मनोमालिन्य र अन्तद्र्वन्द्व र टकराव हुन पुग्यो, जुन अन्तद्र्वन्द्व र टकराव लामो समयसम्म चल्यो, यो टकरावले राज्य–राज्यका बीचमा, समुदाय–समुदायका बीचमा भएको यो द्वन्द्वले पूरै भारत वर्ष छिन्नभिन्न कमजोर अवस्थामा पुग्न गयो, दाजुभाइको लडाइँले घर कमजोर हुन्छ, अन्ततः भयो पनि ।
त्यस्तै पश्चिमबाट तरबार बोकेर बाह्रौँ शताब्दीतिर आएको हावाहुरीले दुवै समुदायलाई जरैदेखि उडाइदियो, अहिले देखिएको हिन्दु, बौद्ध त त्यसको अवशेष मात्रै हो, कुनै बेला पूर्वमा अफगानिस्तानसम्म बौद्ध धर्म फैलाएर बामियानको डाँडामा बादल छुने मूर्ति बनाउने बौद्ध धर्मावलम्बीहरू र कुनै बेला पश्चिम कम्बोडियासम्म विष्णु भगवान्को पहाडजत्रो मन्दिर बनाउने हिन्दु धर्मावलम्बीहरू दुवै आज न रहे बाँस न बजे बाँसुरी !
इतिहासको यो सात–आठ सय वर्षको भीषण आँधी तुफानलाई यो पावन भूमि नेपालले झेल्नुपरेन, त्यसको एक मात्र कारण थियो यहाँ दुवै ‘सनातन’ हुनु ।
अठारौँ शताब्दीको उत्तरार्धमा पूरै भारतीय महाद्वीप इस्ट–इन्डियाको अधीनस्थ भएपछि पश्चिमी युरोपेलीहरू नेपालमा धर्म प्रचारक, व्यापारी, कम्पनी प्रतिनिधि, अनुसन्धानकर्ता, क्रमशः नेपाल आउन थाले ।
भारतको बाटो हुँदै नेपाल आउने युरोपेलीहरूले हिन्दु र बौद्ध धर्मको बारेमा भारतमै अध्ययन–अनुसन्धान गर्ने भएकाले उनीहरूलाई नेपालमा पनि हिन्दु र बौद्ध बीचमा भारतमा जस्तै अन्तद्र्वन्द्व होला, मनमुटाव होला, विभाजित होला भन्ने भ्रममा नेपाल आउँदो रहेछ, जब उनीहरू काठमाडौँ उपत्यकामा आएर यहाँको सहरभरि ठडिएका मठमन्दिर, चैत्य, गुम्बा, मूर्तिहरूमा हिन्दु र बौद्ध दुवै सम्प्रदायका मान्छेले एकै ठाउँ पूजा गर्ने दृश्य देखेर आश्चर्य मान्दै आपसमा चर्चा गर्थे— फ्रान्सेली नागरिक सिल्भाँ लेभी ।
कुनै बेला पूर्वमा अफगानिस्तानसम्म बौद्ध धर्म फैलाएर बामियानको डाँडामा बादल छुने मूर्ति बनाउने बौद्ध धर्मावलम्बीहरू र कुनै बेला पश्चिम कम्बोडियासम्म विष्णु भगवान्को पहाडजत्रो मन्दिर बनाउने हिन्दु धर्मावलम्बीहरू दुवै आज न रहे बाँस न बजे बाँसुरी !
सन् १८९८ मा उनले नेपाल आएर गहिरो अध्ययन गरेका थिए । उनले नेपालबारे फ्रान्सेली भाषामा लेखेको पुस्तकमा भनिएको छ— नेपालको यश खास विशेषतालाई युरोपेलीहरू बुझ्न सक्दैनन् । हामी युनानको तर्क र यहुदीहरूको एकेश्वरवादका अनुयायीहरू धार्मिक विश्वासका कुरा भयो कि परस्परविरोधी भन्ने ठान्छौँ । तथ्यांकविद्हरूले बौद्ध धर्म कन्फुसियाली र सिन्टो धर्म मान्ने यति छन्, उति छन् भनी गम्भीर भएर हिसाब गरेको देख्दा हामीलाई हाँसो उठ्छ ।
एक सय १८ वर्षअगाडिको हाम्रो धार्मिक, सामाजिक पक्षमा सूक्ष्मरूपमा अध्ययन गर्दै उनी अगाडि लेख्छन्, ‘मैले नेपाल महात्म्य (ग्रन्थ) बनारसका एकजना पण्डितलाई देखाउँदा उनले भने, हो, त्यहाँ बुद्ध प्रभावशाली छन्, महाराजको भत्ता खाएर नेपालमै बस्ने एकजना बंगाली पण्डितले पंक्तिकारलाई एउटा पाण्डुलिपी दिँदै भनेका थिए— बुद्धको कृपाले तपाईंले मसँग सोध्नुभयो, पशुपतिको कृपाले मैले यो पाएँ ।
सन् १८१४–१६ ताका नेपाल आएको बुखानन् ह्यामिल्टन भन्छन्— बौद्धमार्गी, शिवमार्गी, विष्णुमार्गी भनी साधारण किसिमले यहाँको समाजल विभाजन गर्नु मूर्खता हुनेछ । एउटै देवतालाई विभिन्न नाममा विभिन्न रूपमा दुवै धर्मावलम्बीले पूजा गरेका धेरै उदाहरण पाइन्छ । टुँडिखेलमा भएको मूर्तिलाई गोर्खा सिपाहीहरू महाकाल भनी पूजा गर्छन् भने बौद्धमार्गीहरू अमिताभलाई श्रीपेचमा राख्ने पद्मपाणी भनी पुजा गर्छन् ।
झन्डै डेढ दुई सय वर्षअगाडिको हाम्रो धार्मिक, साँस्कृतिक, सामाजिक अवस्थाको चित्रण हो यो, यसको तुलना विश्वको कुनै पनि मौजुदा देशसँग वा सैद्धान्तिक दर्शनको चस्मा लगाएर अहिले बुझ्न सकिन्न । त्यसैले यो हिमवत् खण्डमा आदि, अनादिकालदेखि सतत् रूपमा फैलिएको सनातन रसायनले सबै मार्गीहरूलाई समेटिएको छ, यसर्थ सनातन हिन्दुराष्ट्र कायम गरेर यहाँको देवीदेउराली सिमेभूमे प्राकृतिक पुजक बोन, ग्याबरिङ, हिन्दु, बौद्ध, किराँत, धामी, पण्डित, लामा, गुभाजु, सबै समेटिन्छ । ‘सनातन’ शब्दले बहुसंख्यक जनसंख्याको भावनात्मक आधारशिला कायम हुने हुँदा ‘सनातन हिन्दु राष्ट्र’ को पुनस्र्थापनाले मात्रै राष्ट्रिय एकता अखण्डता भ्रातृत्व भावको प्रस्फुटन हुन्छ । त्यसैले सनातन हिन्दु राष्ट्र संविधानमा अंकित गर्न ढिलाइ नगरौँ ।
अन्नपुर्ण पोष्टबाट

 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading