एक डलरको शक्ति

Mi१५ जनावरी २०१५, एडेलेड (मिलन दाहाल)-  एक डलर । अजको नेपाल राष्ट्र बैंकको बिनिमयदरअनुसार नेपाली रुपया ७४.५६ हुन आउने रहेछ । अष्ट्रेलियामा एक लिटर तेल आउछ, जसले बढीमा १०-१२ किलोमिटरको यात्रा गर्न सकिन्छ । नेपालमा एकजनाको एक दिनको खाजा । यस नाकाबन्दी र मधेस आन्दोलनले आक्रान्त पारेको समयमा त मुद्रास्फ्रितीका कारण त्योपनि संभव नहोला । अष्ट्रेलियामा बस्ने नेपालीका लागी यो कुनै ठुलो रकम होईन । नेपालबाट आउनासाथ जस्तोसुकै काम गर्दापनि १५ डलर त कम्तिमा कमाईन्छ । यस हिसाबलेपनि ४ मिनेटको कमाई हुन आउछ एक डलर । के गर्न सक्नुहुन्छ एक डलरले? केही पनि गर्न सकिन्न । अह! हुदै होईन । जब एक डलरमा समाजसेवाको भाव र एेक्यवद्दता हुन्छ, समाज परीवर्तन गर्न सकिन्छ । देश बनाउन सकिन्छ ।

एक डलरले देश बनाउने ? ” तिमी पागल भयौ कि मजाक गरिरहेका छौ ? ” सोध्नुहोला । अह! दुबै होईन । न म पागल भएको न मजाक नै गरिरहेको छु । एक डलरले भुकम्प गएको ताका केवल १२-१,५०० नेपालीहरु भएको अष्ट्रेलियाको एक शहरबाटमात्र २० देखी ३० घर भएको एउटा सानो गाँउ  नै बनाईदिने योजना बनाएको थिए मैले । त्यही शहरको  नामको । जसको कारणले शहरबासी नेपाली हरेकपटक नेपाल जादा गर्वले छती फुलाउन सक्ने थियो । जो जो त्यो गाऊमा पुग्थे, एकपटक त्यस शहरबासी नेपालीलाई सम्झिने थिए र भन्ने थिए, कत्ति सानसँग बसेका होला ती महान हृदय भएका महान नेपालीहरु त्यो शहरमा  । हामीलेपनि अष्ट्रेलियामा कुन ठाँउमा बस्ने भन्दा सानसँग भन्न सक्ने थियौ- “थाहा छैन?, भु-कम्पपीडितका लागी ‘फलानो बस्ती’ बनाईदिने अष्ट्रेलियाको शहरमा ।”
खैर, यो मौका हाम्रो हातबाट गयो । मैले शहरबासीलाई कन्भिन्स गर्न सकिन । उनिहरुले दिनको एक डलरको यात्रालाई घटाएर महान बन्नसकिने अवशरलाई आवलम्बन गर्न सकेनन् । उनिहरुलाई महान बनाउन मैले पनि किन गरू ?  मेरो मगजमा आएको योजना उनिहरुसमक्ष राखे, उनीहरुलाई नै महान बनाउन । कत्तिले ठानेहोला, मिलन हिरो बन्न खोज्यो । कत्तिले ठानेहोला महिनाको ३० डलरको १२ बोटल बियर किनेर एक दिन मज्जाले झुमिन्छ पो बरु । कत्तिले सोचे होला, २० डलरले र ईन्डियन रेष्टुरेन्टमा २ बटा मेन कोर्स आउछ । म के गरौ, कसैले सबैलाई महान बनाउन खोज्ने मलाई हिरो हुन खोजेको देख्छ भने ? मानवसेवाभन्दा बियर पिएर ३ पटक पिसाब फेर्नुलाई ठुलो ठान्छ भने अनि खुला ठाउमा जाडामा थर्थर काप्दै मरिरहेको समाचार फेसबुकमा सेयर गर्दै मसला मसला भएको ईन्डियन करीले आफ्नो स्वास्थ्य बिगार्नुलाई महान ठान्छ भने ? उनीहरको स्वतन्त्रता हो यो । लाखमा दुईचार हजारको फाईदा हुने लालचामा हुन्डीबाट पैसा पठाई देशलाई राजस्व ठग्दै देश बिकास भएन भनेर फतपताउनेहरुको कमी छैन यहां । न त आफु दिनको ४ मिनेटको कमाई दान गर्न नसकेर ‘थुक्क सरकार’मा आफ्नो सरम लुकाउनेहरुको नै कमी छ । जे होस्, म उनीहरुलाई केही भन्न चाहन्न, किनकी यो उनीहरुको स्वतन्त्रता हो । छोडिदिउ उनीहरुलाई । अव म मेरो कुराको स्पष्टिकरण दिन जादै छु । भन्न गईरहेछु, एक डलरले कसरी परीवर्तन गर्न सकिन्छ देशलाई ।

 कसरी बनाउन सकिन्थ्यो नेपालमा बस्ती ?

 करीब १,५०० नेपालीहरु बसोबास गर्ने अष्ट्रेलियाको एक शहरमा  करीव ५ सय देखी ६ सय पुराना छ, अर्थात राम्रैसग बसोबास गर्नेमध्येमा पर्छन । उनीहरुलाई दिनको एक डलर सहयोग गरेर कुनै फरक पर्दैन । ल यसमध्ये पनि आधा अर्थात दुई सयदेखी तीन सयलाई मिलेन छ रे, बाकी तीन सयले मज्जाले सहयोग गर्न सक्थे । तीन सयले दिनको १ डलर सहायता गर्दा बर्षभरमा (३००*३६५) १०९,५०० डलर संकलन हुनजान्थ्यो । अष्ट्रेलियन डलरको भाउ निक्कै घटेको हालको बिनिमयदरमापनि यसको नेपाली रुपया ८१,६४,३२० (एकासी लाख चौसठ्ठी हजार तीनसय बीस ) हुन आउछ । नेपालको ग्रामिण बस्तीमा तीन देखी साढे तीनलाख सम्ममा भुकम्प प्रतिरोधी घरहरु बनिरहेका छ । यसहिसाबले एक वर्षमा २३ बटाभन्दा बढी घरहरु बनाउन सकिने थियो, यो भनेको एउटा सानो बस्ती नै हो ।

एक डलरले कसरी बनाउन सकिन्छ देश ?

करीब ६० लाख नेपालीहरु हाल प्रवासमा रहेको अनुमान रहेको छ । यो साठ्ठी लाख नेपालीले लगानीको सुनिश्चितता हुने  हो भने हरेक दिन साठ्ठी लाख डलरको सहयोग गर्न सक्छन । प्रवासी नेपालीहरुले चाहने हो भने हरेक दिन करीब ५० करोड नेपाली रुपया त आफुलाई असर नपर्ने गरी निकाल्न सक्ने रहेछन जुन बर्षमा करिब १ खरब ८२ लाख नेपाली रुपया बराबर हो । एक खरब ८२ अरबले नेपालमा के के गर्न सकिन्छ आफै अनुमान गर्नुहोस् ।

प्रबासमा रहेका नेपालीहरुमा मध्ये  मात्र विश्वासनीय योजना लिएर जाने हो र एक तिहाईको मात्र साथ पाउने हो भने बर्षमा ७३   करोडको संकलन गर्न सकिने रहेछ जुन करीब ६५ अरब हुन आउछ ।  नेपालको २०७१-७२ को बजेटलाई हेर्ने हो भने बिकासतर्फको कुल बजेटभन्दा २ अरबले बढी हो । एक तिहाई प्रवासी नेपालीले दिनको १ डलरले रकम जम्मा गर्दा नेपाल सरकारको बर्षभरिको बिकास खर्चभन्दाबढीको रकम जम्मा गर्न सकिने रहेछ अब भन्नुहोस्, १ डलरले देश बनाउन सकिने रहेछ कि रहेनछ ?

जलबिधुत र प्रवासी नेपालीको लगानीको संभाब्यता

नेपालमा हरेक बर्ष १२ घण्टामाथीको लोडसेढिङको समाचार पढ्दा पढ्दा नेपाल स्रोतका हिसाबले जलस्रोतको विश्वकै धनी देश हो भनेको सुन्दापनि हामीलाई ब्यांग्यजस्तो लाग्न थालिसकेको छ । यसमा धेरै दोष हाम्रै छ । हाम्रो दोष कसरी भन्नुहोला भने पढेका हामी सबै प्रवासतिर पलायन भएपछी अनपढहरुको हालिमुहाली त देशमा हुने नै भयो । यो त भन्ने कुरा हो । यदी हामी देशमै भएको भएपनि अनपढ- मुर्खहरुसँग लड्न जानेथिएनौ नै । बरु, बिरक्तिएर घरमै बस्थ्यौ होला र आफ्नो रचनात्मकतालाई यसै जान दिने थियौ होला । आज कमसेकम प्रवासमा छौ, दुख गरेका छौ, केही सिकेका छौ र शान्तिपुर्बक बाच्न सकेका छौ । देशभित्रका केही मुठ्ठिभरकाले हामीलाई जसरी बुझुन । हामीले प्रतिस्पर्धाबाट आफुलाई भगाएर उनिहरुको संभावनालाई बढाईदिएका छौ भने आफु शानसँग वाचेकै छौ, र पर्दा देशलाई छाती फुकाएर सहयोग गरेकै छौ, कत्ति पिडीतसम्म पुगेको होला कति बाटामै हरायो त्यो आफ्नै ठाउमा छ । दिएको त हामीले पिडीतलाई नै हो ।

नेपालको जलविधुतसम्बन्धी केही वास्तविकतालाई हेर्ने हो भने निकै अचम्म लाग्न सक्छ । जलविधुत लगानी तथा विकाश कम्पनी लिमिटेडको तथ्याकं हेर्ने हो भने नेपालको कुल जलबिधुत उत्पादन क्षमता करीब ४०,००० मेघावाट रहेको छ र देशको सबैभन्दा बढी खपत हुने समयको कुल आवश्यकता ९४६.१० (२०११ को तथ्याकंअनुसार) मेघावाट रहेको छ । यसमा दुख लाग्ने कुरा के छ भने हामीले ४०,००० मेघावाट उत्पादन क्षमताको १.१२ प्रतिशत अर्थात ४५० मेघावाट बिजुलीमात्र उत्पादन गर्न सकेका रहेछौ  र करीब ४० प्रतिशतले मात्र जलबिधुतको उज्यालामा बस्न पाएका छन ।

नेपाल सरकारको योजना अनुसार करीब ५ मिलियन अमेरीकि डलरको लागतमा २०१५ सम्ममा थप २,५०० मेघावाट उत्पादन गर्ने । नाकाबन्दी, आन्दोलन लगायतका विविध कारणहरुले यो उत्पादन लक्ष हासिल गर्न सकिएको छैन ।  करीब साठ्ठी हजार नेपाली वसोबास गर्ने अष्ट्रेलियाबाट करीब १ तीहाई को दश प्रतिशत अर्थात २ हजार जनाले मात्र लगानी गर्न सहमत हुने हो भने एकजनाले २,५००  अष्ट्रेलियन डलर लगानी गर्नुपर्ने हुन्छ, जुन अौसत नेपालीहरुको दुईहप्तामात्रको कमाई हो । २,५०० मेघावाट बिजुली उत्पादन गर्नसक्ने हो भने नेपाल बिजुलीमा आत्मनिर्भर भई निर्यात गरेर बिदेशी मुद्रा आर्जन गर्नसमेत सफल हुनेथियो ।

म नेपाली अभियान

i m Nepali“म नेपाली”- जहा भएपनि १ डलर परीयोजना दीर्घकालिन लक्षका साथ वर्तमानमा आफ्ना वाचाहरु पुरा गर्दै  देशको दिगो विकाशमा प्रवासी नेपालीहरुलाई संलग्न गराई जीवनभर प्रवासमा पसिना चुहाएरपनि देशलाई विकाशको दिशामा धकेल्दै जीवनको उत्तरार्द गर्वका साथ बाच्न सकियोस भन्ने उदेश्यपनि कता कता रहेको आभाष हुन्छ मलाई ।  हामीले हालका दिनमा सहयोग स्वरुप शिक्षामा गरेको लगानीले देशमा सक्षम जनशक्तिको उत्पादन हुनगई शुसासनको शुनिश्चितताको परिकल्पना एकातिर गरिएको छ भने सबैको बिश्वास जितेर यसको कार्यकारी समितीले भविश्यमा यस्ता (जलविधुतमा प्रवासी लगानी) खाले संभावनाहरुको समेत अध्यायन गरिरहेको अवगत गराउन चाहान्छु । यो अभियानको कुनै निश्चित क्षेत्र छैन । न्युननतम र एकमात्र आधार भनेको निश्वार्थ समाजसेवाको भावना हो । एक डलर र निश्वार्थ भावना लिएर प्रवेस गर्नुहोस, प्रवाशमा बसिकन देशका लागि केही गर्ने अवशरको सदुपयोग गरेर छाती गर्वले फुलाउनुहोस। आउनुहोस हातमा हात मिलाएर एक डलरको शक्तिले देशलाई सेवा गर्ने अवशरको सदुपयोग गरौं । जय देश !!

Advertisements

Leave a Reply