ताजा खवरहरु:

रसुवागढी नाका संचालनमा

Rasuwagadi_1.jpg१६ अक्टोबर २०१५, रसुवा-  नेपालको उत्तरी नाका रसुवागढी बिहीबारबाट पुनः औपचारिक रुपमै सञ्चालनमा आएको छ । बिहान ९ः३० बजे चीन सरकारका तर्फबाट डेपुटी डाइरेक्टर जनरल माक्विनसेङले नाका सुचारु भएको जानकारी दिएका थिए।

नेपाल सरकारका तर्फबाट वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइराला र परराष्ट्र मन्त्रालयका उपसचिव मणि भट्टराई नाका सञ्चालनको कार्यक्रममा उपस्थित भएका थिए। एक दिनअघि चिनियाँ पक्षसँग अनौपचारिक रुपमा द्विपक्षीय बैठक बसेपछि नाका खुलेको घोषणा गरिएको हो। चीन सरकारले औपचारिक रुपमा एक साताअघि जानकारी गराएपछि उक्त नाका खुल्ने निश्चित भएको रसुवागढी भन्सार कार्यालयका प्रमुख केदार पनेरुले बताए ।

बैशाख १२ को भूकम्पपछि यो नाका करिब ६ महिनादेखि बन्द रहँदै आएको थियो। उक्त नाका गत वर्षको मंसिर ७ बाट औपचारिक रुपमा खुलेको थियो। नाका सञ्चालन आएको ५ महिना नबित्दै भूकम्पसँगै बाटो अबरुद्ध हुनुका साथै पहिरोले बाटो क्षतबिक्षत बनाएपछि बन्द भएको थियो । नाका ठप्प हुदाँ ६ महिनादेखि आयातनिर्यात् ठप्प हुँदै आएको थियो । नाका सञ्चालनमा आएसँगै आपूर्ति गर्न लागिएको रसुवाका भन्सार विभाग प्रमुख केदार पनेरुले बताए ।

‘नाका सञ्चालनमा आएसँगै चीनबाट ६ ट्रक भूकम्प पीडितका नाममा राहत सामग्री आएको छ,’ प्रमुख पनेरुले भने, ‘अब दुई चार दिनमै यो नाकाबाट व्यापारिक गतिविधि बढ्ने अपेक्षा लिइएको छ ।’ सो सामान एक करोड ६० लाख रुपयाँ बराबरको भएको बताइएको छ ।

रसुवागढी नाका खुलाउन चार महिनाअघि नै नेपालतर्फको बाटोको अवरोध पूर्ण रुपमा हटिसकेको थियो । तर, चीनतर्फको खम्बाटारबाट केरुङसम्मको २६ किलोमिटर अबरुद्ध बाटो हटाउन सकिएको थिएन । नाका सञ्चालनका लागि नेपालतर्फ व्यक्तिको घर भाडामा लिएर भन्सार कार्यालयको स्थापना गरिएको, भन्सार प्रमुख पनेरुले जानकारी दिए । भूकम्पले भन्सार कार्यालय पुरिएपछि रसुवागढी नाकाबाट तीन किलोमिटर वर भन्सार कार्यालय स्थापना गरिएको छ। भन्सारलाई व्यवस्थित बनाउनका लागि नेपालतर्फ नेपाल प्रहरी, नेपाली सेना नारायण दल गणको पोष्ट स्थापना गरिएको छ । भन्सारमा एक प्रमुख, तीन भन्सार अधिकृत र १६ जाँचकीसहितको कर्मचारी टिमुरे अस्थायी भन्सार कार्यालय स्थापना गरिएको छ ।

नाका सञ्चालनका लागि दुई साताअघि नै नेपालतर्फको बाटो फराकिलो बनाउनुका साथै पहिरोको सबै अबरोध हटाइएको थियो । यो नाका परम्परागत भए पनि एक वर्षअघि नै पूर्ण रुपमा सञ्चालनमा आएको थियो । सन् २०१२ मा केरुङ भन्सारलाई अन्तर्राष्ट्रिय भन्सारको रुपमा विकास गर्दै यस नाकाबाट चीनले भारतसहित दक्षिण एशियाली देशमा जोड्न खोजेकाले पनि यो नाकालाई चीनले पहिलो प्राथमिकतामा राखेको हो । नाका सञ्चालनसँगै रसुवागढी भन्सारमा जनशक्तिलगायत आवश्यक पूर्वाधारको विकास गर्दै लगिने भन्सार कार्यालयले जानकारी दिएकाे छ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading