ताजा खवरहरु:

कुन ‘गुण्डा’ कुन नेताको संरक्षणमा?

don२९ अगष्ट २०१५, काठमाण्डौ- प्रहरी आक्रामक भएपछि अधिकांश गुन्डाका नाइके दलको छहारीमा छन् । केही डन मारिएपछि ठूला नेताको संरक्षणमा रहेका डनहरूले असुरक्षित महसुस गर्न थालेका छन् । प्रहरी कारबाहीबाट जोगिन पछिल्लो समय सबैजसो गुन्डाका नाइके र तिनका सहयोगी विभिन्न पार्टीभित्र छिरेका थिए ।

ठूला नेताकै संरक्षणमा गुन्डागर्दी गर्दै आएका दिनेश अधिकारी चरी र कुमार घैँटे भनिने कुमार श्रेष्ठ प्रहरी इन्काउन्टरमा मारिएपछि गुन्डागर्दीका नाइकेहरू तर्सिएका हुन् । गुन्डागर्दीमा संलग्न केही विदेशसमेत भाग्न थालेका छन् । कांग्रेसका नेताहरूसँग निकट रहेका घैँटे ३ भदौमा मारिएका थिए । कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, कांग्रेस सभासद् जगदीश्वरनरसिंह केसी, नेताहरू भीमसेनदास प्रधान, धनराज गुरुङलगायतसँग उनको राम्रो सम्बन्ध थियो ।

आफूलाई प्रहरीले पछ्याएको सूचना पाएपछि घैँटेले राष्ट्रिय मानवअधिकार आयोगमा आफ्नो सुरक्षाका लागि भन्दै उजुरी हालेका थिए । तर पनि प्रहरी मुठभेडमा उनी मारिएपछि अरू गुन्डाका नाइके तर्सिएका हुन् ।

घैँटेपछि अरू गुन्डाका नाइकेमाथि प्रहरीले निगरानी थालेको छ । प्रहरीले निगरानी बढाएकाले सबैजसोले राजधानी छाडिसकेका छन् । घैँटेका सहयोगी सबै भागिसकेका छन् । उनको समूहमा रहेका समीरमानसिंह बस्नेत भारत जाने भन्दै नेपालगन्जस्थित आफन्तको घरमा लुक्न गएका छन् ।

घैँटेका एक व्यावसायिक साझेदार राजेश कार्कीलाई प्रहरीको अपराध महाशाखाले पक्राउ गरिसकेको छ । अर्का पार्टनर अभिमानसिंह बस्नेत, शान्ता महर्जन, सानुभाइ भन्ने युवराज गुरुङ र प्रतीक हवल्दार भन्ने प्रतीक श्रेष्ठ घरमा बस्न छाडेका छन् ।

घैँटेको समूहका मात्र नभई अन्य समूहको पनि भागाभाग सुरु भएको छ । फोरम लोकतान्त्रिकका गणेश लामाले भाडामा चलाउँदै आएको माउन्टेन होटेल छाडेका छन् । दीपक मनाङे मनाङतिर छन् भने चक्रे मिलनले पनि राजधानी छाडेका छन् । चक्रेका भाइ तेजेन्द्र गुरुङ पनि बाहिर हिँड्न छाडेका छन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका ललितपुरका डन मीनकृष्ण महर्जन पनि भूमिगत छन् ।

काभ्रेली समूहका विष्णु लामालगायतको समूह भारतको गोवा पुगिसकेको छ । काभ्रेली समूहका दावा लामा भने जेलमा छन् । काभ्रेली समूहका सदस्यहरू विभिन्न पार्टीको संरक्षणमा रहे पनि एकजुट छन् ।

काभ्रेली समूहले गत शुक्रबार दरबारमार्गको एक बारमा ‘ग्याङफाइट’को तयारी गरेको प्रहरीले जनाएको छ । ‘प्रतिशोध लिन आक्रमण गर्ने योजना भए पनि र घैँटे इन्काउन्टरपछि उनीहरू भागेका छन्,’ महानगरीय अपराध महाशाखाका एक अधिकारीले भने ।

बालाजुका माइला लामा, स्वयम्भूका बाघे लामा, कलंकीका विश्वक्रान्ति सिंह, नयाँबजारका साजन महर्जन पनि घैँटे इन्काउन्टरपछि तर्सिएका छन् । पहिले डनको छवि भएका काशी शेर्पा, रोज राणालगायत भने पहिलेजस्तो समूह बनाएर हिँड्न छाडेका छन् ।

घैँटे इन्काउन्टरपछि राजधानीको गुन्डागर्दी हालका लागि ‘क्लियर’ भएको अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालको दाबी छ । ‘धेरैजना भागिसकेका छन् भन्ने सुनिएको छ,’ एसएसपी खनाल भन्छन्, ‘सबैको गतिविधि नियालिरहेका छौँ, सर्वसाधारणलाई निर्धक्क भएर उजुरी गर्न भनेका छौँ, उजुरीका आधारमा हाम्रा थप कारबाही हुन्छन् ।’ महाशाखाले पछिल्लो समय सक्रिय गुन्डाहरूको नयाँ सूची बनाएर उनीहरूको गतिविधि हेर्दै आएको छ ।

कसलाई कुन नेताको संरक्षण ?

पहिला राप्रपामा आबद्ध गणेश लामा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य छन् । ठूलो पार्टीले राम्रो पद नदिएपछि उनी लोकतान्त्रिक फोरमको नेता भएका हुन् ।

लामाले आफ्ना सहयोगीलाई फोरम लोकतान्त्रिकमा प्रवेश गराएका छन् । गृहजिल्ला काभ्रेमा उनको कमिटी नै छ । उनी गच्छदारकै संरक्षणमा छन् । जेल परेर पनि नसुध्रिएका भन्दै प्रहरीले निगरानीमा राखेका चक्रे मिलन (मिलन गुरुङ)को एमाले नेताहरूसँग राम्रो सम्बन्ध छ । एमाले नेता प्रदीप नेपालसँग उनको पारिवारिक सम्बन्धसमेत छ । नेपालकी श्रीमतीसँग चक्रेले भाइटीका लगाउँदै आएका छन् ।

ललितपुरका मीनकृष्ण महर्जन पनि राजनीतिक रूपमा बलिया छन् । उनको कांग्रेस नेता शंकर भण्डारीसँग निकट सम्बन्ध छ भने अर्का नेता रामचन्द्र पौडेलले पनि उनलाई संरक्षण गर्दै आएका छन् । ललितपुरमा महर्जनका विरोधी समीर केसीको सभासद् उदयशमशेर राणासँग राम्रो सम्बन्ध छ । सुन्धाराका पूर्ण गुरुङ र सामाखुसीका महेश श्रेष्ठ खुमबहादुर खड्काका निकट छन् ।

काभ्रेका सञ्जीव लामा, अजयमान श्रेष्ठलाई कांग्रेस नेताहरूले संरक्षण दिँदै आएका छन् । काठमाडौंका पुराना डन राजु गोर्खाली कांग्रेस पृष्ठभूमिका भए पनि उनको सम्बन्ध एमाले नेताहरूसँग समेत छ ।

नयाँबजार क्षेत्रका डन भनिने साजन महर्जनको एमाले नेताहरूसँगै राम्रो सम्बन्ध छ । उनी एमाले सचिव योगेश भट्टराई तथा अनेरास्ववियुका नेताहरूसँग निकट छन् । उनी तीन वर्षअघि मात्र एमाले प्रवेश गरेका थिए ।

हाल जेलमा रहेका भक्तपुरका ठूलो सगुन भनिने सगुन श्रेष्ठको कांग्रेस सभासद् मोहन बस्नेतसँग निकटता छ । पहिला गणेश लामाकै निकट रहेका मनोज आचार्य तराई मधेस लोकतान्त्रिक पार्टीका नेता महेन्द्र यादवको निकट छन् ।

प्रहरीको गुन्डागर्दीको सूचीमा फिल्म निर्माता मधु श्रेष्ठसमेत छन् । उनको कांग्रेस नेता मीनेन्द्र रिजालसँग राम्रो सम्बन्ध छ । धादिङका राधे भण्डारीको समूहलाई पनि कांग्रेस नेताहरूको संरक्षण छ ।

सम्पत्ति छानबिन सुस्त

गुन्डागर्दी नियन्त्रणका लागि प्रहरीले चार वर्षअघि सम्पत्ति छानबिन गर्न थालेको थियो । गुन्डाहरू रातारात करोडपति बन्दै गएपछि प्रहरीले उनीहरूको सम्पत्ति छानबिन गरेर गुन्डागर्दी नियन्त्रण गर्न खोजेको थियो । तर, राजनीतिक दबाबकै कारण गुन्डाहरूको सम्पत्ति छानबिन प्रभावकारी हुन सकेको छैन ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पाँचजनाविरुद्ध साढे दुई वर्षअघि मुद्दासमेत दायर गरेको थियो । तर, त्यसयता गुन्डागर्दीमा संलग्नको आरोपमा एकजनाविरुद्ध पनि मुद्दा दायर हुन सकेको छैन ।

सम्पत्ति शुद्धीकरण विभागमा राजनीतिक दबाबका कारण छानबिन प्रभावकारी हुन नसकेको हो । विभागले बलराम सापकोटा बले, अजयमान श्रेष्ठलगायत केहीको सम्पत्ति अनुसन्धान अधिकृत नै तोकेर तीन वर्षदेखि छानबिन गर्दै आएको छ । तर, राजनीतिक दबाब र चलखेलकै कारण अनुसन्धान नसकिएको भन्दै मुद्दा प्रक्रिया अघि बढाइएको छैन ।

विभागका महानिर्देशक केवल भण्डारी भने मनराज गुरुङको सम्पत्तिबारे पछिल्लो समय छानबिन भइरहेको र अरूको पनि अनुसन्धान हुने बताउँछन् । गुरुङको सम्पत्ति छानबिन पनि प्रहरीको सक्रियतामा हुन लागेको हो । उनी गत चैतमा रानीबारी हत्याकाण्डको आरोपमा पक्राउ परेका थिए । सोही मुद्दामा पुर्पक्षका लागि उनी थुनामा छन् । अनुसन्धानको क्रममा उनले धेरै सम्पत्ति आर्जन गरेको देखेपछि सिआइबीले विभागसँग समन्वय गरेर छानबिन अघि बढाएको हो ।

पहिला मुद्दा दायर गरिएकाहरूको लामो समय बित्दा पनि फैसला भएको छैन । गणेश लामा, दीपक मनाङे, चक्रे मिलन, अभिषेक गिरी र पर्शुराम बस्नेतविरुद्धको मुद्दा विशेष अदालतमा विचाराधीन छ । उनीहरूमध्ये गिरी अपहरण तथा शरीर बन्धक मुद्दामा जेलमै छन् ।

– नयाँ पत्रिका दैनिकबाट


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading