कलाकारको सिर्जना: ‘धुर्मुस-सुन्तली बस्ती’
काठमाडौं- झन्डै दुई महिनाको मेहनतपछि हास्य कलाकार जोडी सीताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली' नेतृत्वको टोलीले काभ्रेको पलाञ्चोक भगवती मन्दिर नजिक रहेको पहरी बस्तीमा बनाएको 'धुर्मुस सुन्तली एकीकृत नमुना बस्ती' स्थानीय पहरी समुदायलाई बुधबार हस्तान्तरण गरिएको छ।
गत वैशाख १२ गतेको भूकम्पपछि पहरी समुदायका अधिकांशको घर ध्वस्त भएको थियो। मन्त्री खड्काले सरकारले एकीकृत बस्ती विकासका लागि योजना बनाइरहँदा कलाकारहरुले निर्माण गरेको बस्तीको कामले फाइदा पुगेको बताए। ‘भूकम्प पीडितहरुका लागि सरकारले एकीकृत बस्ती बनाउन दीर्घकालीन आवासीय योजना बनाइरहँदा उहाँहरुको यो पुण्य कामले नीति निर्माणमा नयाँ सोच र आयाम थपिदिएको छ,’ मन्त्री खड्काले भने, ‘अब सरकारले अन्य क्षेत्रमा पनि यस्तै किसिमको बस्ती बसाउनका लागि यहाँको कामलाई उदाहरणका रुपमा लिएर अघि बढ्नु पर्नेछ।’
कलाकार हरिवंश आचार्यले कलाकारमा केवल कलाकारिता नभई मानवीय संवेदनाको एउटा रुपसमेत हुने उदाहरण धुर्मुस र सुन्तलीले प्रस्तुत गरेको बताए। ‘उहाँहरुको कामले देश खुसी भएको छ र कलाकारको इज्जत बढाइदिएको छ,’ उनले भने, ‘उमेरले हामी जेठो भए पनि कामको हिसाबले उहाँहरु जेठो हुनुभएको छ। मलाई लाग्छ सरकारले भूकम्पपछि पुनर्निर्माणका लागि बनाउन लागेको प्राधिकरणमा धुर्मुस सुन्तलीलाई नै प्रमुख बनाए मुलुकका अन्य स्थानमा यस्ता नमुना बस्ती बन्न सक्नेछन्।’
अर्का कलाकार मदनकृष्ण श्रेष्ठले आम मान्छेले सामाजिक काममा ध्यान नदिइरहँदा धुर्मुस सुन्तलीको कामले सबैलाई चेतना दिएको बताए। ‘सामाजिक काम गर्न निकै आनन्द आउँछ, मलाई लाग्छ अहिले धुर्मुस र सुन्तली त्यही आनन्दको अनुभुति गरिरहेका छन्,’ श्रेष्ठले भने, ‘उनीहरुले कलाकारको नाक राखिदिए, हामी पनि यसमा आफै आनन्दित भइरहेका छौं।’
कार्यक्रममा धुर्मुसले भूकम्पपछि अमेरिकाको कार्यक्रमलाई रद्द गरेर नेपाल फर्किएपछिको अवस्थाको स्मरण गर्दै विभिन्न ठाउँको खोजीपछि पहरी बस्तीमा आइपुगेको बताए। ‘भूकम्पपछि राहत बाँड्न गाउँगाउँ जाँदा राहतले मात्र केही नहुने भएपछि घर बनाउने सोच आएको थियो, धादिङ र गोरखामा गएर घर बनाउनका लागि स्थान खोज्दा उपयुक्त नभेटिएपछि यो ठाउँमा आयौं,’ केही भावुक मु›ामा देखिएका उनले भने, ‘लगातार झन्डै ७५ दिन बारीको पाटामा सुत्दै घर बनाएर अहिले समुदायलाई जिम्मा दिँदाको खुशीको म वर्णन गर्न सक्दिन, त्यो बेला काम गर्दाको झैं–झमेलादेखि अनेक समस्याबाट अहिले मुक्त भएको अनुभूत गरिरहेको छु।’
सुन्तलीले घर बनाउनका लागि स्थानीय समुदायको सहयोगदेखि अन्य विभिन्न क्षेत्रबाट प्राप्त सहयोग प्रति आफुहरु सदैव कृतज्ञ भइरहने बताइन्। सगुन डटकमका तर्फबाट माधव चम्लागाईले सुरुका दिनमा ठाउँ छनोटदेखि स्थानीयहरुलाई मनाउन, सरकारी तथा अन्य कतिपय प्रक्रिया मिलाउन गरेको मेहनत र अहिलेको अवस्थामा आएर एकीकृत बस्ती पूर्ण रुपमा गराउनु आफैमा ऐतिहासिक भएको बताए।
कार्यक्रममा बस्ती निर्माणमा जनश्रमदानदेखि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याहउने व्यक्तिहरुलाई कदरपत्र प्रदान गरिएको थियो। त्यहाँ बनेका प्रत्येक घरमा तीनवटा कोठा र एक ट्वाइलेट छ भने सबै घरमा डिस जोडिएको छ। प्रत्येक घरको अगाडि एक–एकवटा धारा जडान गरिएका छन्। ट्वाइलेटलाई सिधै बायोग्यासमा जोडेर ग्याँस उत्पादन गरिएको छ।
त्यहाँ घुम्न आउने पाहुनाका लागि पाहुनाघर समेत निर्माण गरिएको छ। नेपाल सरकारबाट सरसफाइ सद्भावना दूत घोषित भएका धुर्मुस र सुन्तलीले बस्तीभित्र कसैले पनि गाईवस्तु बाँध्न नपाउने बताए।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस