ताजा खवरहरु:

स्कटल्याण्डबिरुद्द नेपालको लगातार दोस्रो हार

२ अगष्ट २०१५, काठमाडौं- विश्व क्रिकेट लिग च्याम्पियनसिपमा स्कटल्यान्डले दुई दिन लगाएर नेपालमाथि लगातार दोस्रो विजय नतिजा निकालेको छ। वर्षाले थुप्रै पटक बिथोलेको खेलमा घरेलु टोली स्कटल्यान्डले नेपालमाथि शनिबार ९ विकेटको रवाफिलो जित हासिल गर्यो।

अघिल्लो दिन नेपालको इनिङ सकिएपछि स्कटल्यान्डको ऐरस्थित

क्याम्बुसडनमा लामो समयसम्म दोस्रो इनिङ सुरु हुन सकेन। वर्षाले धेरै समय बिथोलेपछि नेपालले बनाएको १ सय ६७ रनको जवाफमा डकवर्थ लुइस पद्धतिअनुसार स्कटल्यान्डलाई २२ ओभरमा १ सय १० रनको लक्ष्य दिइएको थियो। तर, वर्षाले पुनः खेल अवरुद्ध पार्दा स्कटल्यान्डले १० बलभन्दा बढी खेल्न पाएन। १० बलमा टोलीले बिनाक्षति १५ रन जोडेको थियो।
१५–० को स्थितिबाट शनिबार खेल सुरु गर्दा स्कटल्यान्डलाई २०.२ ओभरमा ओभरमा जितका लागि ९० रन आवश्यक थियो। जसलाई टोलीले १३.५ ओभरमै १ विकेट गुमाएर पूरा गर्योा। ४९ बल बाँकी रहँदै स्कटल्यान्डलाई नेपालमाथि एकदिवसीय क्रिकेटमा लगातार तेस्रो जित दिलाउने क्रममा म्याथ्यु क्रसले अर्धशतकीय इनिङ खेले भने ओपनर जर्ज मुन्सेले ४० रनको योगदान गरे।
क्रसले अविजित ५१ रन बनाउँदा ३७ बल सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरेका थिए। मुन्सेले ४१ बलमा ५ चौका र २ छक्का प्रहार गरे। स्कटल्यान्डका अर्का ओपनर काइल कोइट्जर ७ रन बनाएका बेला सोमपाल कामीको बलमा बोल्ड भए।
स्कटल्यान्डसँग नेपालले खेलेको यो तेस्रो ५० ओभरको खेल हो। बुधबार सोही मैदानमा स्कटल्यान्डसँग खेल्दै विश्व क्रिकेट लिग च्याम्पियनसिपमा डेब्यु गर्दा नेपाल ३ रनले पराजित भएको थियो। त्यसअघि एकपल्टमात्र दुई टोली आमने–सामने भएका थिए। गत वर्ष न्युजिल्यान्डमा एकदिवसीय विश्वकप छनोटमा भेट हुँदा स्कटल्यान्डले नेपालमाथि ९० रनको प्रभावशाली जित दर्ता गराएको थियो।
ट्वान्टी–२० विश्वकपमा लगातार दोस्रोपल्ट छनोट भई भूकम्पको पीडामा मलम लगाउने लक्ष्य आयरल्यान्डमा चकनाचुर भइसकेपछि नेपाल विश्व क्रिकेट लिग खेल्न स्कटल्यान्ड पुगेको थियो।

अघिल्लो वर्ष नामिबियामा सम्पन्न डिभिजन २ मा गरेको उच्च प्रदर्शनपछि नेपालले विश्व क्रिकेट लिग खेल्ने मौका पाएको हो।
आठ टोलीबीच दुई वर्ष चल्ने प्रतियोगितामा लगातार दोस्रो हार भोगेपछि नेपाल अंकतालिकाको सातौं स्थानमा थन्किएको छ। दुई खेल समाप्तिमा एउटै अंक जोड्न नसक्ने नेपाल र पपुवा न्युगिनीमात्र छन्। नेट रनरेटमा पछि रहेको पपुवा न्युगिनी पुछारमा छ। दुवै खेल जितेका नेदरल्यान्ड्स र स्कटल्यान्ड पहिलो दुई स्थानमा छन्। हङकङ, केन्या, संयुक्त अरब इमिरेट्स (युएई) र नामिबियाले समान २ अंक जोडेका छन्।

शुक्रबार टस हारेपछि ब्याटिङलाई निम्त्याइँदा नेपालले ४९.१ ओभर खेल्दै १ सय ६७ रन जोडेको थियो। ब्याटसँगको पुरानो समस्या अझै नसुल्भि्कँदा नेपाली टोलीका लागि शरद भेषावकरले बनाएको ३० रन नै उच्च व्यक्तिगत स्कोर थियो। २० रन बनाउँदा इनिङ सुरु गर्ने जोडीलाई नै गुमाइसकेको नेपालबाट ओपनरद्वय महेशकुमार क्षेत्रीले ३ र अनिल मण्डलले ९ रन बनाए।

शरदले ६६ बल खेल्दै २ चौका प्रहार गरेका थिए। नेपालका लागि वसन्त रेग्मीले १९ रन जोडे भने अविनाश कर्णले १७ तथा उपकप्तान ज्ञानेन्द्र मल्ल, प्रदीप ऐरी र पृथु बाँस्कोटाले समान १६ रनको योगदान गरे। बाँकी ब्याट्सम्यानमध्ये दोहोरो स्कोर गर्न सफल हुनेमा कप्तान पारस खड्का थिए। उनले १० रन बनाए।
नेपालले च्याम्पियनसिपअन्तर्गत आगामी खेलका लागि पुछारको पपुवा न्युगिनीलाई अगस्टदेखि नोभेम्बरको बीचमा काठमाडौं निम्त्याउने छ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading