बिपत्ती पछी बढ्दै जातीय सद्भाव
विनाशकारी भूईंचालोका कारण सबैभन्दा धेरै धनजनको क्षति भएको सिन्धुपाल्चोक जिल्लाका कतिपय गाउँमा स्थानिय समुदाय सरकारको मुख नताकी आपसमा मिलेर आफ्ना लागि आँफै बन्दोबस्त गरिरहेका छन्। के ब्राम्हण, के दलित उनीहरु सँग सँगै
बस्छन्, सँग सँगै खान्छन् र मिलेर विपद्को सामना गरिरहेका छन्। आइतबारसम्म ३ हजार भन्दा बढीको ज्यान गएको सिन्धुपाल्चोकमा ६२ हजार भन्दा बढी घर क्षतिग्रस्त भएका छन्। त्यसमाथि कृषियोग्य जमीन ठाउँठाउँमा चिरा परेपछि स्थानिय समुदायमा चिन्ता छाएको छ।
सिन्धुपाल्चोकको किउल गाविसको चित्रेका अम्बर बहादुर विश्वकर्मा केही दिन यता गहुँ काट्न जुटेका छन्। भूकम्पले भत्काएको घरको भग्नावशेषबाट निकालेको टिनले छाएर अस्थायी टहरा बनाएका उनले आफ्नो परिवारलाई एक डेढ महिनाको लागि आवश्यक अन्नको जोहो गरिसकेका छन्। अरु बेला आ आफ्नै शुरमा हुने गाउँका विभिन्न समुदाय अहिले आपसमा मिलेर विपदको सामना गरिरहेको विश्वकर्माले बताए। उनले भने, “आपत परेका बेला हामीले एउटै चुलोमा पकाएर खायौँ, हाम्रोमा नआइज भनेर कसैले भनेनन्, यस्तो बेला राम्रो गरिरहेका छन्, पाकेको खोले पनि हामीले मिलेर बाँडेर खायौँ।”
बैशाख १२ गतेको भूकम्पमा विश्वकर्माका छिमेकी केदारनाथ भण्डारीले नाबालक छोरी गुमाए।

भूईंचालोका कारण ध्वस्त भएको घरमा पुरिएका उनका २ बालबच्चा र वस्तुभाउलाई भग्नावशेषबाट निकाल्न स्थानिय विश्वकर्मा समुदायले सहयोग गरेको उनले बताए।
उनी भन्छन्, “हामी एक अर्कालाई सहयोग गर्दै बसिरहेका छौँ, अहिले मिलेर खाएर बसेका छौँ।”
विस्थापन
मेलम्चीबाट झन्डै १५ किलोमिटर उत्तरमा रहेको पहाडी गाउँ किउलमा झन्डै ५० घरधुरी दलित छन्।
उनीहरु मध्ये अधिकांश त्यही नै खेतीपाती गर्ने र केही भारतमा श्रमिकका रुपमा काम गर्ने गर्छन्।

अरुको खेतमा काम गरेर धान, मकै र आलु फलाएर जीविका गुजार्दै आएका अम्बर विश्वकर्मा भूईंचालोका कारण आफुले खेती गर्ने जमीन ठाउँ ठाउँमा चिरा परेपछि चिन्तित छन्।
खेतमा ठूला ठूला चिरा परेकाले पहिरो जान सक्ने खतरा रहेको भन्दै उनले यो पाली बाली नलगाउने निर्णय गरेका छन्।
दश वर्ष अघि भारतको हिमाञ्चलमा मजदुरी गरेर गाउँ फर्किएयता गाउँमै परिश्रम गरेर ३ छोराछोरी र श्रीमती पालिरहेका अम्बरले मजदुरीको लागि पुन: भारत फर्कने सोचाइ बनाएका छन्।
उनले भने, “सरकारले घर बनाइदिने हो कि होइन थहा छैन्, कमाएर थोरै भएपनि पैसा ल्याउन सकियो भने आफैं छाप्रो बनाउन सकिन्छ कि भन्ने लागेको छ।”
तर उक्त गाउँका कतिपय दलित परिवार चिरा परेकै जमिनमा भएपनि रोपाईं गर्ने मनस्थितिमा छन्।
स्थानियबासी फूलमती विश्वकर्मा भन्छिन् “खेती लगाउने आँट गरेर बसिरहेका छौँ अहिलेसम्म तर पानी पर्न थालेपछि चिरा परेको खेतलाई बगाएर लैजान्छ कि भन्ने चिन्ता छ।”

भूईंचालोले भौतिक संरचनासँगै तत्कालका लागि आफ्ना सपना र लक्ष्य समेत ढालिदिएपछि छट्पटाइरहेका किउलका दलित समुदायले राज्यले मौका दिए गाउँको पूनर्निमाणमा आफ्नो पसिना खन्याउने बताएका छन्।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस