यसपाला पनि जोगियो कीर्तिपुरडाँडो
कीर्तिपुर-कीर्तिपुर, सतकोकी सरु कपाली वैशाख १२ गते महाभूकम्प जाँदा बसमा यात्रा गरिरहेकी थिइन्। ललितपुरको चापागाउँ सडकमा रहेकी उनी हत्त न पत्त बसबाट उत्रिइन्, र लामो सास फेरिन्। केही बेरपछि पुनः जमिन थर्किएपछि उनको चिन्ता बढ्यो– कतै आफ्नो घर त ढलेन!ललितपुर हुँदै कीर्तिपुर आउँदै गर्दा उनलाई लागिसकेको थियो— आफ्नो कच्ची घर पनि अब बाँकी रहेन! ‘नयाँ, पुराना घरहरू भत्केका–ढलेका थिए,’ उनले भनिन्, ‘त्यस बेला सबैभन्दा धेरै परिवार र घरको याद आयो।’

जब उनी नयाँबजार गेट छिचोलेर अघि बढिन्, तब खङ्रङ्गै भइन्। उनको जस्तै काकाको कच्ची घर भूकम्पले अघि नै भत्काइसकेको रहेछ। उदास मन लिँदै उनी घरतर्फ बढिन्। ‘माथि उक्लँदै गर्दा बिस्तारै डर हराउँदै गयो,’ उनले सम्भि्कइन्, ‘मेराजस्तै यहाँका थुप्रै कच्ची र पुराना घर नभत्केको देखेपछि खुसी लागेको थियो।’ नभन्दै उनको घर जस्ताको तस्तै थियो। परिवारलाई सकुशल पाइन्, अनि ढुक्कले लामो सास तानिन्।

बाबुबाजेले भन्दै आएको उनले पनि सुनेकी थिइन्, ‘कीर्तिपुरले सानोतिनो भूकम्प थेग्न सक्छ। किनकि कीर्तिपुर ठूलो चट्टानमाथि बसेको छ।’ त्यति विश्वस्त बन्न नसकेकी उनलाई शनिबारको भूकम्पपछि होझैं लाग्न थालेको छ। ‘त्यत्रो बेर हल्लिँदा पनि हाम्रोजस्तै यहाँका धेरै कच्ची घरहरू भत्किएनन्,’ उनले भनिन्।
सरुले भनेजस्तै कीर्तिपुर डाँडाका थुप्रै घर ७.६ म्याग्निच्युड स्केलको भूकम्पमा पनि सुरक्षित रहे। नगरपालिकाको १ देखि ६ नम्बर र १७ नम्बर वडा रहेको डाँडामा सात हजार घर छन्। तीमध्ये करिबकरिब १० घर मात्रै पूर्ण रूपमा ध्वस्त भएको कीर्तिपुर नगरपालिकाले जनाएको छ। चिलन्चो टुझोल, बाघभैरव नजिकको ह्वाकंचा, क्वाचो सरस्वती स्थान, चिठु बिहारका केही घरमात्रै भत्किएका छन्। पुराना घरको बाहुल्य रहेको यहाँ झन्डै चार हजार घरमा आंशिक क्षति पुगेको नगरपालिकाको आँकलन छ।

समग्र कीर्तिपुर नगरपालिकामा ३९ व्यक्तिको मृत्यु हुने गरी ५ हजार घर पूर्ण रूपमा क्षति हुँदा डाँडामा भने आंशिक क्षति मात्र भयो। कसैले ज्यान गुमाएनन्। पाँगा, खत्रीछाप, पाण्डेछाप, चारघरे, थापागाउँलगायत ठाउँमा भने बढी क्षति पुगेको प्रहरीले जनाएको छ।
इन्जिनियरहरूका भनाइमा कीर्तिपुरका घर पुराना भए पनि बलियो भूबनोटका कारण तुलनात्मक रूपमा अन्य ठाउँभन्दा सुरक्षित छन्। भूकम्पले क्षति पुर्यािएका घरको अवलोकन गर्दै हिँडेका कीर्तिपुर इन्जिनियर एसोसिएसनका स्वयंसेवक सञ्जीव शाक्य भन्छन्, ‘यहाँको फाउन्डेसनमा पहेँलो खालको चट्टान भएकाले भूकम्पको खासै असर नदेखिएको हो।’ घरको जग खन्ने क्रममा दुईदेखि चार फिटभित्रै चट्टान फेला पर्ने गरेको उनी बताउँछन्।

कीर्तिपुरको डाँडो कडा चट्टानको रहेकाले भूकम्पको तरंग यहाँबाट चाँडै पास भएर अन्यत्र सर्ने भूगर्भविद् प्राडा विशालनाथ उप्रेती बताउँछन्। ‘पहिलेका भूकम्पको इतिहास हेर्दा पनि यहाँ धेरै क्षति पुगेन,’ उनले भने।
त्यसो त यहाँका पुराना र कच्ची घरको भित्रपट्टि चर्किएका छन्। ‘मज्जाले हल्लाउँदा डर लागेको थियो,’ ९० वर्षीय टरीबाबु टन्डुकारले भने, ‘९० सालमा पनि बाँचियो, यसपाला पनि बाँचियो।’ उसबेलाको भूकम्पले भन्दा यसपालि बढी डर लागेको सुनाउँछन्, उनी।

कीर्तिपुर पाँगामा करिब दुई वर्षअघि निर्माण गरिएको पाँचतले पक्की घर जगैदेखि भत्किएको छ। त्यहीँमाथिको डाँडामा रहेको ९० सालको भूकम्पले पनि नभत्केको घर सग्लै देखिन्छ। त्यही घरमा अढेस लागेर बसिरहेकी ८८ वर्षीया हिरामाया महर्जन भन्छिन्, ‘भूकम्पले हल्लाउँदा घरको माथिल्लो तलामा थिएँ। निक्कै बेर हल्लायो तर भत्काएन।’ उनीसहित परिवार नै केही दिन घरबाहिर पाटीमा बसेका थिए। ‘कच्ची घर भएकाले बस्न त डर लाग्छ, तर कहाँ जाने,’ उनका ५३ वर्षीय छोरा रमेश महर्जनले भने, ‘यही घरमा फर्केका छौं।’
ठूलो भूकम्पले पुरानो घरमा धेरै असर नपुगेकाले यहाँको जमिन बलियो रहेको ठानेका छन् उनले। ‘पुर्खाले भन्थे, हाम्रो बस्ती एउटै ढुंगोमा अडेको छ रे,’ उनले भने, ‘अहिले अन्तको अवस्था हेर्दा हो रहेछ जस्तो लाग्छ।’ अहिले उनको परिवार लगभग सामान्य दैनिकीमा फर्किसकेको छ। उनी अत्तालिएका छैनन्, किनकि आफ्नो मात्रै होइन, छरछिमेकको घर पनि सग्लै रहे। कीर्तिपुरमा आएको धक्काले भन्दा पनि अन्यत्र पुर्यानएको क्षति सुन्दा र टिभीमा हेर्दा उनी दुःखी बनेका छन्। ‘हामीलाई यति ठूलो भूकम्प आएको जस्तो लागेको थिएन,’ उनले भने, ‘टिभीमा घरले मान्छे पुरिएका, मठमन्दिर भत्किएका दृश्य देख्दा भने डर लागेको छ।’ यही त्रासले उनले केही दिनयता टिभी हेर्न छाडेको सुनाए।
यहाँका कतिपय वृद्धवृद्धा भने बाघभैरवको ‘शक्ति’ले ठूलो क्षतिबाट जोगिएको बताउँछन्। ‘हामीलाई भैरव बाजेले जोगाए,’ बाघ भैरवको मन्दिरअगाडि घर भएकी ६५ वर्षीया मिश्री कपाली भन्छिन्, ‘हाम्रो कीर्तिपुरलाई कहिल्यै केही हुँदैन।’
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस