ताजा खवरहरु:

एनसेलले भुकम्प पिडितलाई १ अर्ब १० करोड दिने

ncellभूकम्पमा राहत र पुन:स्थापनाका लागि एनसेलमार्फत १ अर्ब १० करोड रुपैयाँ आउने भएको छ । कम्पनीका तर्फबाट सरकारलाई एक साताअघि सहयोगको प्रस्ताव गए पनि प्रक्रिया मिलाउन समय लागेकाले घोषणा हुन सकेको छैन ।

एनसेलको माउ कम्पनी टेलियासोनेराले राहतका लागि तत्काल १० करोड रुपैयाँ दिन लागेको हो । एनसेलले भने भूकम्पबाट अति प्रभावित स्थानमा पुनर्निर्माणका लागि १ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । सूचना तथा

सञ्चारमन्त्री मीनेन्द्र रिजालले भने, ‘मानवीय राहतका लागि माउ कम्पनी टेलियासोनेराबाट १० लाख डलर (१० करोड) र तीन वर्षभित्र पुनर्निर्माणका लागि १ करोड डलर (एक अर्ब) एनसेलले दिने प्रस्ताव आएको छ ।’ १० करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तत्काल उपलब्ध गराउने र बाँकी १ अर्ब समन्वय गरेर आवश्यक ठाउँमा खर्चिने कम्पनीको प्रस्ताव छ । एनसेलका तर्फबाट भने आधिकारिक धारणा आएको छैन । विदेशबाट सहयोग रकम आउने भएकाले प्रक्रिया पुर्‍याउन केही समय लागेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए । ‘भूकम्प गएको भोलिपल्टै उक्त कम्पनीले प्रतिबद्धता गरेको रहेछ, त्यसपछि छलफल अघि बढेको छ । छिट्टै भित्रिन्छ,’ ती अधिकारीले भने ।

राष्ट्र बैंकका प्रवक्ता मीनबहादुर श्रेष्ठका अनुसार विदेशबाट सहयोगका रूपमा आएका चेक जम्मा हुन लामो समय लाग्दैन । ‘विदेशबाट आएको सहयोग सिधै राष्ट्र बैंकको खातामा आउने हो,’ उनले भने, ‘आएपछि हामीले स्विफ्टमार्फत चेक खिच्ने बैंकको खातामा रकम काटेर यहाँ जम्मा गर्छौं ।’ यसअघि २०७१ भदौमा पनि बाढी र पहिरो पीडितका लागि एनसेलले २० करोड रुपैयाँ प्रधानमन्त्री प्राकृतिक विपत्ति राहत कोषमा रकम उपलब्ध गराएको थियो । स्विडेनमा मुख्य कार्यालय रहेको टेलियासोनेराको एनसेलमा ८० प्रतिशत लगानी छ । नेपालसँगै टेलियासोनेराले १८ मुलुकमा दूरसञ्चार सेवा उपलब्ध गराइरहेको छ । नेपाल टेलिकमसँगै एनसेलले पनि भूकम्प गएको दिनदेखि मुलुकभरका मोबाइल सेवा प्रयोगकर्तालाई विभिन्न सुविधा उपलब्ध गराएका थिए ।

यसअघि बेलायती अभिनेतृ जोहना लुम्लेको पहलमा करिब ३ अर्ब रुपैयाँ उठेको जनाइएको छ । यसबाहेक फेसबुकले पनि एक अर्बभन्दा बढी संकलन गरेको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading