ताजा खवरहरु:

मानवीय संवेदनाको ख्याल राख्नुस्: मुख्य सचिव

mainphotoकाठमाडौँ : मुख्य सचिव लीलामणि पौड्यालले शनिबार पत्रकार सम्मेलन नै गरेर पत्रकारहरुलाई मानवीय संवेदनाको ख्याल गरी समाचार लेख्न र रिपोर्टिङ गर्न आग्रह गरे। विवादका कारण जिम्मेवारी छाडेको, राजीनामा दिएको जस्ता हल्लाहरु चलिरहँदा सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर पौड्यालले वास्तविकता बुझेर मात्र समाचार लेख्न भने।

पत्रकार सम्मेलनमा उनले उठाएका मुख्य छ विषय

१) जुट्नुपर्ने बेला भ्रामक समाचार

मुलुक विपत्तिमा भएको बेला भ्रामक समाचार दिनुहुन्छ। बिहान बाग्मती सफाईका लागि पुगेको थिएँ। मैले राजीनामा दिएको अफवाह फैलिएको रहेछ। मान्छे यहाँ अहोरात्र खटेको छ। मेरो घरमा काम गर्ने सुरक्षा अधिकारीको घर भत्केको रहेछ। तीन दिनपछि थाहा पाएँ, ऊ पनि अहोरात्र खटेर काम गरिराखेको छ। उसले पनि त्रिपाल पाएको छैन। भ्रामक समाचार दिनुहुन्छ? तपाँइहरुलाई काम गरिराखेको मान्छेको मानवीय संवेदना ख्याल गर्न आउँदैन?

२) कर्मचारीले काम गरेका छैनन् भन्ने समाचारबारे

कर्मचारीले अहोरात्र काम गरेका छन्। सेना, प्रहरीले गरे अरुले गरेनन् भन्ने छ। बिजुली कसले बनायो? भत्केको बाटो कसले बनायो? निजामती कर्मचारीको दक्षता खोज र उद्दार होइन। त्यतिकै गाउँमा खटाउँदा कुटाई खाने अवस्था हुन्थ्यो। अहिले राहत आयो। हामीले सहसचिवलाई गाउँ पठाएका छौँ। १२ घण्टामा कर्मचारी फिल्डमा पुगेका छन्। सबै मोबिलाइज भएका छन्।

३) न्यूज बायस छ

गत शनिबार भूकम्प आएदेखि नै हामी गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखामा बसेर काम गरिराखेका छौँ। मन्त्रिपरिषद् बैठक पनि त्यहीँ बस्यो। यहाँ हाम्रो अफिस (प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय) पनि भत्केको छ। दुई दिनपछि चेक जाँच गरे इन्जिनियरहरुले। बिहीबार रिपोर्ट लेखेर दिए- मन्त्रिपरिषद् र मेरो कार्यकक्ष बस्न हुन्छ भने। त्यसपछि म यहाँ बसेर काम गरिराखेको छु। क्याबिनेट मिटिङ त्यहाँ बस्यो भनेर समाचार नदिने, म यहाँ कार्यालयमा सरेको समाचार दिने? न्यूज बायस छ।

४) पत्रकारले सामान्य कुरा बुझ्नुस्

पत्रिकामा आएको समाचारमा दुई सचिवबीच कार्यक्षेत्र विवाद भनेको छ। दुई मन्त्रालय भए पो कार्यक्षेत्र विवाद हुन्छ। दुई लेयर (मुख्य सचिव र सचिव)मा कसरी विवाद हुन्छ? पत्रकारले सामान्य कुरा बुझे हुने।

५) पत्रकार राष्ट्रवादी भएनन्

राष्ट्रिय प्रणाली कमजोर बनाउने न्यूज कुनै राष्ट्रवादीले दिन सक्दैनन्। हामीले हाम्रो फूल क्षमतामा काम गरेका छौँ। संकटको घडीमा कसले पूर्ण क्षमतामा काम गर्‍यो कि गरेन भन्ने पो हो त। व्यक्तिको विषयमा समाचार दिने? १७/१८ घण्टा काम गरेका छन्। होला, म पनि ओभर स्ट्रेस भएँ होला। मेरो रुखो मिजास हुदाँ कतिपयलाई हप्काए पनि हुँला। आजै मिटिङमा एकजनालाई लामो नबोल्नुस् भनेर हप्काएँ। त्यसो भए दैनिक न्यूज हुन्छ। तर यो सबै मैले कार्यसम्पादनका लागि गरेको हो।

६) पत्रकार आफैँले काम गरे हुन्न

सरकारको संयन्त्रले काम गर्न सकेन भन्नुहुन्छ। त्यसो भए सहयोग गर्नुस् न त। चाउचाउको प्याकेटको ५० रुपैँया लियो भनेर लेख्नुहुन्छ। अनि १५ जना सुरक्षामा खटिएका त्यता पठाउनु पर्‍यो। मिडियामा काम गर्नेले समातेर प्रहरी केन्द्रमा बुझाउन सकिन्न? गाडीमा बढी भाडा लियो भन्ने आउँछ – यस्तो संकटको बेला के गरेको भनेर यातायात व्यवसायी आफैँले कारवाही गर्न सकिन्न? यस्तो बेला सरकारलाई गाली गर्ने बेला होइन। सरकार निकम्मा कि कम्मा भनेर प्रचार गर्ने बेला होइन।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading