ताजा खवरहरु:

रसुवामा राहत, झगडाको बीऊ

relief_Rasuwa२० वैशाख, रसुवा  - धैबुङ ७ की बुधमाया मोक्तानले महाभूकम्पको आठौं दिनमा राहत त पाइन् । तर खुसी हुनुपर्नेमा उनी त उल्टै रिसाइन् ।

‘यति थोरै राहतले के गर्नु ?’ २ सय ११ घरलाई १३ बोरा चामल आएकामा उनको आक्रोश थियो, ‘अब यो राहत कसले पाउने, कसले नपाउने भन्नेमा झगडा

मच्चिन्छ ।’

ढिलो गरी सरकारले पठाएको सीमित राहत स्थानीय जनताका लागि झगडाको बीऊ बन्न पुगेको छ । रसुवास्थित जिल्ला दैवीप्रकोप उद्धार समितिले औधी पीडितलाई पहिलो प्राथमिकतामा राखी राहत वितरण गर्ने बताए पनि त्यस्तो पीडितमा को को पर्छन् भन्ने विवाद यो झगडाको जड हो ।

धैबुङ ७ का वीरबहादुर तामाङलाई परिवारका सदस्य जिम्मा लगाउदै सबै थोक लग्यो । १५ सदस्य परिवारलाई घामपानीबाट बचाउने र खुवाउने जिम्मेवारी वीरबहादुरको काधमा आइपरेको छ । मुलुकको राजधानीबाट करिब ९० किलो मिटर टाढा बसेका वीरबहादुरले सोचेका थिए भूकम्पले पिडा दिए पनि मल्हम लगाउन सरकार त आइहाल्छ । उनले सोचेको भन्दा ठिक उल्टो भइदियो, अघिल्लो शनिबारको महाभूकम्प गए, गाउमा राहत आउनै ६ दिन लाग्यो र वितरण गर्न सातौ दिन ।

गाविस भवनमा शनिबार वीरबहादुर पिडा पोखिरहेका थिए, ‘राहत आउनै ६ दिन लाग्यो । त्यसमाथि पनि एक पित्को अचारभन्दा पनि कम राहत ।’

धैबुङ ७ मा २ सय घर धुरी छन् । तर ३५ ओटामात्र पाल आएको छ, १४ बोरा चामल छ र केही विस्कुट । चामल बाड्दा एक परिवारको भागमा एक किलो ८ सय ग्राम पर्छ ।

वीरबहादुरको घरमा १५ जना सदस्य छन् । एक किलो ८०० ग्रामम चालम उनको परिवारलाई एक छाक खोले खान पनि पुग्दैन । उनी भन्छन्, ‘एक छाक नपुग्ने राहत । कमसेकम दुई छाक पुग्ने त हुनु पथ्र्यो ।’

कम राहत आपूर्ति, त्यसमा दलीय भाग बन्डा र दल भित्रका पनि साना टुक्राका खिचातानीका कारण रसुवा जिल्ला पनि अछुतो रहन सकेन ।

दैवी प्रकोप उद्धार समिति र राजनीतिक संयन्त्र मिलेर विगत ३ दिन यता जिल्लामा गाविसमा राहत पठाएको छ । जिल्लाका ६१ गाविस मध्ये ८ गाविसलाई कालिकास्थानस्थित कालिकास्थान उच्चमाविबाट राहत वितरण भइरहेको छ । कालिकास्थानबाट माथि भने सडकमा पहिरो गएका कारण हेलिकप्टरबाटै उद्धार र राहत वितरण भइरहेको छ ।

 ‘आएका राहत सामाग्रीलाई जिल्लाका राजनीतिक संयन्त्रसग छलफल गरेर हामीले यहाबाट छुट्याएर पठाउछौं,’  कालिकास्थान उच्चमावीमा राहत वितरण कार्यमा भेटिएका दैवि प्रकोप उद्धार उपसमितिका संयोजक डिल्लीराम सेढाईले कान्तिपुरसग भने, ‘हामीले गाविसमा पठाउछौं र त्यसपछि हरेक वडाको नागरिक वडा मन्चले राहत वितरण गर्छ ।’

जिल्लाबाट गाविस र गाविसबाट वडामा राहत पठाए पनि समस्या अन्त्यमा गएर हुन्छ । वीरबहादर आक्रोसित हुदै थिए, ‘एक छाक पनि नपुग्ने राहत लानु भन्दा भोकै मर्नु थियो । अरुलाई यो राहत दिन हुन्छ, म लान्न ।’

चन्द्रबहादुर नगकोटी राहत राखेकै छेउमा चर्किएबाट निस्किएको पसिना बगाउदै भनिरहेका थिए, ‘ यो राहत कसरी बाड्ने ? राहत नआउदा त टोल छिमेकमा मिलेर बसिरहेका हुन्थें । अब यो राहतले न एकबाट दुई छाक खान पुग्छ, न त छिमेकीहरु मिलेर बस्न सक्छन् ।’ उनले राहतको कारण वडामा झगडा हुने पक्का रहेको बताए । ‘राहत कम छ, उनले भने, ‘ आवश्यकता त्यो भन्दा बढी, झगडा त हुने नै भयो । हुन्छ पनि ।’

बाटो आइतबारबाट खुल्ने

रसुवाको सदरमुकाम धुन्चे जोड्ने सडक खण्ड आइतबारबाट सुचारु हुने भएको छ । गत शनिबार महाभूकम्प गएपछि रोकिएको सो सडक खण्डलाई सूचारु गर्न काम भइरहेको जिल्लाका दैविक प्रकोप उद्धार उपसमितिका संयोजक डिल्लीराम सेढाईले जानकारी दिए । उनले भने, ेआइतबारबाट धुन्चेसम्म सवारी पुग्ने छन्, त्यसपछि राहत कार्यमा थप सहज हुन्छ ।’

सडक अवरुद्ध भएपछि धुन्चेलगायत रसुवाका माथिल्लो भागमा हेलिकप्टरबाट मात्र राहत लान र उद्धार गर्न सकिएको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading